ऊर्जामन्त्री बस्नेत र श्रममन्त्री अर्याल आबद्ध सहकारीमा पनि बचत अपचलन…..

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं श्रममन्त्री डोलप्रसाद (डीपी) अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सहकारीको बचत अपचलनमा मुछिएका छन् । काठमाडौंमा कार्यालय रहेको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा डेढ वर्षअघिसम्म अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक थिए, त्यही अवधिदेखि नै सहकारीले रकम फिर्ता नदिएको भन्दै पीडितले सरकार गुहारेका छन् । सहकारीको रकम अपचलनमा रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले हरेक दिन संसद्मा माग गर्दै आएको छ । लामिछाने प्रबन्ध निर्देशक र जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहरा, वीरगन्जको सानोपाइला, बुटवलको सुप्रिम र नेपालगन्जको समानता सहकारीबाट रकम ल्याइएका पुष्टि हुने दस्ताबेज सार्वजनिक भइसकेका छन् । पछिल्लो पटक चर्चामा आएको ‘हाम्रो नयाँ कृषि सहकारी’ भने माओवादी उपमहासचिव एवं ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा स्थापना भएको थियो । ०७० साल जेठ १३ मा डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको थियो । सहकारीको कार्यक्षेत्र पनि देशैभर हुने गरी दर्ता गरिएको थियो । कुनै निश्चित समुदाय र क्षेत्रमा काम गर्न सहकारी स्थापना हुने भएपछि माओवादी नेता बस्नेत नेतृत्वको सहकारीले भने देशैभरि काम गर्ने अनुमति पाएको थियो । यो संस्थामा बस्नेतले पार्टीका कार्यकर्ता र परिवारका सदस्यलाई समेत विभिन्न भूमिकामा राखेका थिए । यो सहकारी संकटमा परेपछि उनीमाथि पनि प्रश्न उठेको छ । तर प्रतिक्रियाका लागि कान्तिपुरले पटक पटक फोन र एसएमएस गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । अनौठो के भने ‘हाम्रो नयाँ कृषि सहकारी’ मा पनि गितेन्द्रबाबु (जीबी) राई जोडिन्छन् । लामो समय सहकारीमा रहेका बस्नेतले छाडेपछि सूर्यबहादुर गुरुङ र जीबी राई अध्यक्ष भएका थिए । अर्याल र बुर्लाकोटी राजनीतिमा लाग्ने भएपछि योजनाबद्ध रूपमै संस्था जीबी राईलाई सुम्पिएको बचतकर्ताहरूको भनाइ छ । तर त्यसअघि संस्थामा गुरुङ अध्यक्ष, अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक भएको बेला रकम हिनामिना गरिएको साढे चार करोड नदिएको भन्दै उजुरी परेको छ । गत माघ ११ मा यो सहकारीलाई समस्याग्रस्त घोषणा गर्दा सरकारले दुई निर्णय गरेको थियो । एउटा संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने र अर्को प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धान गर्ने । ‘दाबी पेस गर्न ३५ दिने सूचना प्रकाशित भएको छ, यस अवधिमा साढे ४ करोडभन्दा बढीको दाबी परेको छ । अध्ययन गर्दा त्यो अवधिमा अध्यक्ष सूर्यबहादुर गुरुङ, उपाध्यक्षमा रास्वपाका डोलप्रसाद अर्याल र सञ्चालक सदस्य कवीन्द्र बुर्लाकोटी जिम्मेवारीमा देखिन्छन्,’ समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयका सदस्यसचिव केशवप्रसाद पौडेलले भने, ‘वर्तमान कार्यसमितिका अध्यक्षमा भने गितेन्द्र बाबु राई छन् । सहकारी विभागको पत्रका आधारमा सीआईबीले पनि अनुसन्धान अघि बढाएको छ । ‘हाम्रो नयाँ कृषि सहकारी संस्थाका बचतकर्ताले रकम फिर्ता नपाएको उजुरी परेको छ । सीआईबीले अनुसन्धान सुरु गरेपछि त्यहाँ पनि उजुरी आउने क्रम जारी छ । ‘उजुरी आउँदै छ, हाम्रो अनुसन्धान पनि जारी छ,’ सीआईबीका डीएसपी जीवन निरौलाले भने । देशैभरि सहकारी ठगी गर्ने जीबी राई समूहका अन्य सदस्य यो सहकारीमा पनि जोडिएको भेटिएको छ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाका पदाधिकारीहरू ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा सञ्चालक रहेको पुष्टि प्रहरीले गरेको छ । ओमप्रकाश गुरुङ र दुर्गा चापागार्इं दुवैतिर सञ्चालक थिए, उनीहरूलाई बुटवलको सहकारी ठगीमा प्रहरीले पक्राउ गरेको छ भने काठमाडौं झिकाएर अनुसन्धान भइरहेको निरौलाले बताए । ‘काठमाडौंमै पक्राउ गरेको एक जना र बुटवलबाट झिकाइएका दुई जना गरी तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘यो संस्थाको अनुसन्धान भर्खर सुरु भएकाले टुंगिन केही समय लाग्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्यालले आफू सहकारीको उपाध्यक्ष रहेको स्विकारे । संस्थामा सदस्य हुँदै क्रमशः उपाध्यक्ष भए पनि आफ्नो कार्यकालमा समस्या नभएको उनको दाबी छ । ‘कोभिडपछि देशभर कृषि क्षेत्रमा काम गर्ने गरी राष्ट्रियस्तरको सहकारीमा नेतृत्व गर्ने भनेर हाम्रो नयाँ कृषि सहकारी संस्थामा हामी गएका हौं, म सदस्य हुँदै उपाध्यक्ष पनि बनें । तर, मेरो अवधारणा अनुसार काम नभएपछि सहमतिमै उपाध्यक्षबाट १ महिनामै राजीनामा दिएँ,’ मन्त्री अर्यालले भने, ‘मैले राजीनामा दिँदा सहकारीमा समस्या थिएन । मेरो पनि २३ लाख रुपैयाँ लगानी छ, उजुरी दाबी गरेर पैसा चाहियो भन्ने अवस्था छ । तर म आफैं व्यस्त भएकाले पैसा भएपछि दिनु भनेर छाडेको हुँ । नयाँ सञ्चालक समितिको अध्यक्षमा जीबी राईको ग्रुप छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार