भारतबाट घर फर्किनेमा बढ्दै संक्रमण…..

कञ्चनपुर — भारतबाट घर फर्किनेमा कोरोना संक्रमण देखिने क्रम पनि बढेको छ । नयाँ वर्ष बिसु मनाउन घर फर्किनेको संख्या बढेसंगै नाकामा दिनहुँ संक्रमित देखिन थालेका छन् । गौरीफण्टा नाकामा हरेक दिन संक्रमित देखिन थालेका छन् । यहाँ चैत महिनामा मात्रै ५४ जनामा संक्रमण देखिएको छ । ‘हरेक दिन संक्रमण देखिइरहेको छ,’ गौरीफण्टा नाकामा रहेको हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले भने, ‘भारतबाट घर फर्किनेको चाप बढेसंगै नाकामा देखिने संक्रमण दर पनि बढेको छ । उनका अनुसार शुक्रबार किट अभावका कारण परीक्षण हुन सकेन । बिहीबार २ जनामा संक्रमण देखिएको थियो । त्यसको अघिल्लो दिन पनि दुई जनामा संक्रमण देखिएको छ । चैतमा सबैभन्दा बढी ४ गते ८ जनामा संक्रमण देखिएको छ । भारतको महाराष्ट्र क्षेत्रबाट आउनेमा बढी संक्तमण देखिने गरेको छ । एण्टिजेन किट अभावका कारण परीक्षण घटेको साउँदले बताए । उनका अनुसार शुक्रबार स्वास्थ्य कार्यालय कैलालीबाट १ हजार किट आएको छ । भारतबाट घर फर्किने सबैलाई परीक्षण गर्ने हो भने दुई/तीन दिनलाई पुग्छ । स्क्रिनिंग गरेर परीक्षण गर्दा ८/१० दिनलाई पुग्ने साउद बताउँछन् । गड्डाचौकी नाकामा संक्रमण दर कम देखिएको छ । तर यहाँ भारतबाट आउनेको स्क्रिनिंग नै हुन सकेको छैन । पैदल आउने यात्रुलाई लक्षण देखिए वा शंकास्पद लागेमा परीक्षण गरिन्छ । तर मैत्री बसमा आउने यात्रुको स्क्रिनिङ समेत हुदैन । हामीले भनेर कोही रोक्दैन, मैत्री बसवालाले अटेरी गर्छन्, सुरक्षाकर्मीले माथिबाट कुनै आदेश छैन भनेर रोक्न सहयोग गर्दैनन्,’ गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज प्रेमसिंह भण्डारीले भने, ‘बसमा आउने यात्रुमा पनि लक्षण देखिएको हुन सक्छ, कोभिड मात्रै होइन क्षयरोग, मलेरिया लगायतको परीक्षण पनि हुन सकेको छैन ।’ उनले एक जना संक्रमितले धेरैलाई संक्रमण सार्न सक्ने भएकाले कम्तीमा स्क्रिनिंग गरेर मात्रै पठाउन सके जोखिम कम हुने उनले बताए । गड्डाचौकी नाकामा दैनिक १५/२० जनाको परीक्षण गर्दा पनि फाटफुट मात्रामा सक्रमण देखिइरहेको छ । भण्डारीका अनुसार यहाँ चैत पहिलो साता १ जनामा संक्रमण देखिएको थियो । उनले महेन्द्रनगरबाट दिल्ली र देहरादुन चल्ने बसहरु रोकेर शंका लागेका वा लक्षण देखिएकालाई परीक्षण गर्न पाए संक्रमित अझैब ढन सक्ने बताए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार