रोष्ट्रममा जानबाट निषेध नगर्नुस्…..

काठमाडौँ — मुलुकका विभिन्न जिल्लामा गठित सहकारीमा जम्मा गरिएको रकम अनियमितता गरेको विषयमा कांग्रेसले प्रतिपक्षमा गएदेखि नै विषय उठाइरहेको छ । गत फागुन २१ मा प्रतिपक्षी बेन्चमा पुगेको कांग्रेसले सत्तारुढ गठबन्धनको तेस्रो ठूलो दल रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ । लामिछानेलाई सरकारका तर्फबाट विधेयक प्रस्तुत गर्न र सांसदका प्रश्नहरूको जवाफ दिन रोष्ट्रममा गए सदन अवरुद्ध गर्ने रणनीति कांग्रेसले लिएको छ । उसले प्रतिनिधिसभा बैठकको सुरुमा आकस्मिक समय मागेर सहकारी ठगीका विषय राख्ने र सदन चल्न दिँदै आएको छ । सभामुख देवराज घिमिरेले लामिछाने रोष्ट्रममा जाने कार्यसूचीमा प्रवेश गर्ने बितिक्कै चैत २ मा कांग्रेस वेल घेराउमा पुगेको थियो । त्यसपछिका बैठकमा सभामुखले लामिछाने रोष्ट्रममा जाने बिजनेसलाई दैनिक कार्यसूचीमै राखेका छैनन् । कांग्रेसले निरन्तर सदनमा सहकारी ठगीमा लामिछानेको संलग्नताका विषय राख्दै आएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आएका सभामुख घिमिरेले आइतबार सदनमा प्रतिनिधित्व गर्ने प्रमुख चार राजनीतिक दलका प्रमुख नेताहरूलाई छलफलमा बोलाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल र रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफ्ना दलका प्रमुख सचेतकहरूसहित सभामुखकहाँ पुगेका थिए । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा नेताहरू जम्मा भएपछि सदनमा प्रमुख प्रतिपक्षले उठाइरहेका विषयवस्तुबारे छलफलका लागि बोलाएको विषय सभामुख घिमिरेले राखेका थिए । प्रमुख प्रतिपक्षी दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवासँगै आएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कार्यसम्पादन समितिबाट संसदीय छानबिन समिति न्यूनतम माग हुने निर्णय भएको जानकारी गराएका थिए । ‘सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने हाम्रो न्यूनतम माग हो । कार्यसम्पादन समितिले पनि सोही माग गरेको छ,’ उनले भनेका थिए, ‘हाम्रो माग पूरा गर्न सरकार तत्पर नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवा बोलेनन् । कांग्रेसका तर्फबाट विषयवस्तु राखेका लेखकले उपप्रधान तथा गृहमन्त्रीमाथि भएका प्रमुख प्रतिपक्षका आशंका दूर गर्नका लागि भएपनि संसदीय छानबिन समिति बनाउनैपर्ने अडान राखेका थिए । सत्ता गठबन्धनको प्रमुख घटक एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले उठाइरहेको विषय संसदीय छानबिन गर्नुपर्ने खालको नभएको बताएका थिए । बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका तर्फबाट उपाध्यक्ष पौडेलले कांग्रेसले उठाइरहेका विषयमा संसदीय छानबिन समिति गठन गर्न नसकिने भएकाले प्रतिपक्षले आफ्नो मागमा पुनर्विचार गर्न आग्रह गरेका थिए । ‘यस्तो विषय उठाएर कांग्रेसले संसद्मा अवरोध नगरे हुन्थ्यो, यो विषयमा संसदीय छानबिन समिति आवश्यक होइन । तपाईंहरूले आफ्नो मागमा पुनर्विचार गर्नपर्छ,’ पौडेलले भनेका थिए । त्यसपछि रास्वपामा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बोलेका थिए । उनले सहकारी प्रकरणमा आफ्नो संलग्नताबारे यसअघि संसदीय समिति र सार्वजनिक रूपमा दिँदै आएका अभिव्यक्ति दोहोर्‍याएका थिए । आफू सांसद पनि भएकाले रोष्ट्रमसम्म जान नदिने कांग्रेसको कदमप्रति पनि उनले असन्तुष्टि जनाएका थिए । ‘सहकारीको रकम हिनामिनामा मेरो कुनै दोष छैन । तपाईंहरू सरकारमै हुँदा विषय आएको हो । म सांसद पनि भएको हुनाले रोष्ट्रममा गएर बोल्न पनि नपाउने,’ उनले भनेका थिए । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार आफूविरुद्ध कुनै अदालतमा मुद्दा पनि नरहेको र उजुरीसमेत नभएकाले संसद्मा आफूलाई निषेध गर्न नहुने तर्क उनले अघि सारेका थिए । ‘मलाई संसद्मा बोल्न पनि अवसर नदिने, छेक्ने कुरा राम्रो भएन । मविरुद्ध ठाडो उजुरीमा छानबिन समिति बन्ने हो भने आरोप लागेका सबैका बारेमा छानबिन गर्न तयार हुनुपर्‍यो । सांसद, नेता सबैको छानबिन गर्न तयार हुनुपर्‍यो,’ लामिछानेले भनेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति देउवालाई ‘तपाईंको बटमलाई यै हो ?’ भनेर प्रश्न गरेका थिए । प्रधानमन्त्रीले आग्रह गरेका थिए, ‘एकपटक आग्रह छ आफ्नो मागमा पुनर्विचार गर्नुस् र भोलि (मंगलबार) को हाउस चल्न दिनस् । त्यसपछि फेरि छलफल गरौंला । देउवाले दाहालको प्रश्नको जवाफ दिएनन् । कांग्रेसको तर्फबाट लेखक अगाडि सरेर भनेका थिए, ‘हाम्रो बटमलाईन संसदीय छानबिन समिति हो । तपाईंको आग्रहमा तयार छैनौं । कांग्रेस कार्यसम्पादन समितिको बैठकको निर्णयको बलसहित सभामुखको कार्यकक्षमा पुगेका लेखकले पार्टीले सदनमा बारम्बार उठाइरहेको माग पूरा नभए सदन अगाडि बढ्न नदिने चेतावनी नै दिएका थिए । ‘सरकारले चाहेजसरी सदन अगाडि बढ्दैन’ बैठक सकिनुअघि लेखकले भनेका थिए ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार