प्रतिपक्षको किचलोले संसद् बन्धक, र रोकिए जनताका आवाज…..

काठमाडौँ –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ताधारी दलहरूबिचको किचलोका कारण संसदीय गतिविधि प्रभावित भएको छ । मङ्गलबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठक दलहरूको किचलोका कारण स्थगित भयो । गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन तोडेर मन्त्रीपरिषद् फेरबदल गरे । फागुन २३ गते रवि लामिछानेलाई गृहमन्त्री बनाए लगत्तै कांग्रेसले संसद्को काम कारबाही प्रभावित गर्दै आएको छ । राजनीतिमा आउनुअघि लामिछानेले काम गरेको गोर्खा मिडिया नेटवर्क अन्तर्गतको ग्यालेक्सी टीभीले सहकारीको पैसा अपचलन गरेको र त्यसमा रवि लामिछाने पनि जोडिएको भन्दै त्यसबारेमा अनुसन्धान गर्नका लागि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संसदमा अवरोध गर्दै आइरहेको छ । लामिछाने गृहमन्त्री भएको दोस्रो दिनदेखि नै कांग्रेसले सहकारी प्रकरणमा उनी दोषी रहेको र छानबिन गर्नुपर्ने माग अघि सार्दै आएको छ । त्यस यता लगातार संसद् बैठकमा सरकारविरुद्ध कांग्रेस आक्रामक रूपमा प्रस्तुत हुँदै आएको छ । गत चैत २१ गते बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति नबनाउने हो भने संसद् बैठक चल्न नदिने अल्टिमेटम दिएको थियो । कांग्रेसको सो चेतावनीपछि मङ्गलबार प्रधानमन्त्री प्रचण्डले संसद् सुचारु गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षी दलका नेतालाई बालुवाटारमा बोलाएका थिए । सभामुख देवराज घिमिरे समेत सहभागी सो बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री रवि लामिछाने, कांग्रेस सांसद कृष्ण सिटौला, गगन थापा लगायतका नेताहरूबिच छलफल भए पनि संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुट्न सकेन । बालुवाटार बैठकमा सहमति नजुटेपछि सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग संसद् भवनमा छलफल अघि बढाए । तर उनीहरूसँगको छलफलबाट पनि समाधान निस्किएन ।

प्रधानमन्त्री र सभामुख दुवैले सहमति जुटाउन गरेको प्रयास सार्थक नभएपछि मङ्गलबार दिउँसो १ बजे बसेको प्रतिनिधि सभा बैठक अघिल्लो बैठकभन्दा फरक देखियो । अघिल्ला बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल कांग्रेस सदनमा उभिने र सभामुखले कांग्रेसका कुनै सांसदलाई बोल्न दिएपछि गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको दाबी गर्दै संसदीय छानबिन समिति गठनको माग गर्ने र बैठक अघि बढ्दै आइरहेको थियो । तर मङ्गलबारको बैठकमा भने कांग्रेस सांसदहरू आसनबाट उठेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि आसनबाट उठे । सभामुखले पालै पालो दुवै दललाई बोल्न समय दिने भन्दै सुरुमा कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न दिएपछि दुवै पक्षमा सांसद बसे तर थिङले बोलेपछि सभामुखले रास्वपा सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरूले उठेर होहल्ला गर्न थाले । त्यसपछि सत्ता पक्षका एमाले, माओवादी केन्द्र र रास्वपाका सांसदहरू पनि होहल्ला गर्दै उठे । बैठक सुचारु गर्न सभामुख घिमिरेले पटक–पटक आग्रह गर्दा पनि सांसदहरूले नसुनेपछि उनले १५ मिनेटका लागि बैठक स्थगित गरे । पुनः दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दा पनि सहमति नभएपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार