त्रिविका तत्कालीन उपकुलपति खनियामाथि कारबाही सिफारिस…..

काठमाडौँ –   चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राडा तीर्थ खनियामाथि कारबाही गर्न सिफारिस गरेको पाइएको छ । खनियासहित त्रिविका तत्कालीन कार्यकारी परिषद्का पदाधिकारीहरूमाथि समेत कारबाही गर्न सिफारिस गरेको पाइएको हो । कारबाही सिफारिसमा पर्नेहरूमा रेक्टर डा. सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती, विज्ञान संकाय डीन रामप्रसाद खतिवडा, कानुन संकाय डीन डा ताराप्रसाद सापकोटा, राजेन्द्र पौडेल र हरि पराजुलीमाथि कारबाही गर्न सिफारिस गरेको पाइएको हो । काठमाडौँ नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने सुरुदेखिका प्रक्रियामा त्रिविले विद्या परिषद्को अधिकारमाथि हस्तक्षेप गरेको, विद्यापरिषद्ले थप मेडिकल कलेजलाई सम्बन्धन दिन नसकिने पहिले नै निर्णय गरेको तर, सम्बन्धन दिने निर्णय गरेको पाइएको भन्दै कारबाही सिफारिस गरेको हो । मेडिकल कलेज सम्बन्धमा वर्तमान परिस्थितिमा नयाँ कार्यक्रमहरू र थप कलेजहरूलाई सम्बन्धन दिन नसकिने भनी विधिवत् गरेको निर्णयलाई उचित र प्रयाप्त कारणबिना उल्लंघन गरेको भन्दै आयोगले कारबाही सिफारिस गरेको देखिन्छ । त्यस्तै त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० मा उल्लेखित व्यवस्थाअनुसार नियम ३७९ (२) र ३७९ (३) बमोजिम विद्यापरिषद्को सहमति लिने प्रक्रिया पुर्‍याउनेतिर नलागी मेडिकल कलेजलाई सम्बन्धन दिलाएको पाएको प्रतिवेदनमा उल्लेख छ । विद्या परिषद्को बैठकमा तत्कालीन डीन प्राडा प्रकाश सायमीलाई तत्कालीन उपकुलपति, रेक्टर र रजिष्ट्रारहरूबाट सहमति दिलाउनको लागि दबाब दिएका कारण राजीनामा गर्न बाध्य पारेको प्रतिवेदनमा उल्लेख छ ।देशको जेठो र ठुलो विश्वविद्यालयको नेतृत्वका हैसियतले जिम्मेवारी एवम् उत्तरदायित्व बहन गर्नुपर्नेमा सो नगरी उपकुलपति, रेक्टर र रजिष्ट्रार जस्ता अति जिम्मेवार पदाधिकारीले पदअनुसारको काम, कर्तव्य पालना र आचरण नगरकाले पदमा राखिरहन उचित नभएकाले निजहरूलाई पदबाट अवकाश दिने र भविष्यमा सरकारी तथा अर्ध सरकारी लाभको पदमा नियुक्ति नगर्न आवश्यक निर्णय गर्न सरकारलाई सिफारिस गरेको थियो । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार