सुप्रिम सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी…..

भैरहवा — रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । बचतकर्ताले आफ्नो रकम हिनामिना भएको जनाउँदै उजुरी दर्ता गराएपछि प्रहरीले एक महिनाभन्दा लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले प्रहरीले रकम हिनामिनामा संलग्नको आरोपमा २८ जनालाई प्रतिवादी बनाएर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको जानकारी दिए । ‘लामो अनुसन्धानपछि २८ जनालाई प्रतिवादी कायम गर्न रायसहित सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएका छौं, राठौरले  भने । सरकारी वकिल कार्यालयले आफ्नो राय थपघट गर्न प्रतिवेदनमाथि अध्ययन गरिरहेको छ’ राठौर ले भने । बुटवलमा मुख्य कार्यालय रहेकाले बचत हिनामिनाको इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरेको थियो । उक्त सहकारीको बचत रकम हिनामिना आरोपमा ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन प्रहरीले सरकारी वकिललाई राय दिएको छ । एसपी राठौरले प्रतिवादीबाट १ अर्ब २ करोड बिगो मागदाबी भराउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको बताए । प्रहरीले अहिलेसम्म सुप्रिमको रकम हिनामिना प्रकरणमा उक्त सहकारी अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं उक्त सहकारीका पूर्वकोषाध्यक्ष दीपेश पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं, दीपक न्यौपाने र नीता थापा मगर पक्राउ परेका छन् । उनीहरूमाथि प्रहरीले विज्ञ टोलीको सहायतामा अनुसन्धान गरेको थियो । सहकारी हिनामिनामा जोडिएका संस्थाका अध्यक्ष गुरुङसहित पदाधिकारीमाथि अनुसन्धानका लागि प्रहरी सहकारी र कम्पनी रजिस्ट्रार कार्यालयबाट विज्ञ र सीआईबीका अनुसन्धान अधिकृतको सहायता लिएको जनाएको छ । बचतकर्ताको रकम हिनामिना भएको भन्दै उजुरी परेपछि प्रहरीले गत फागुन ३ गते सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक चापागाईंलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेका ५ जनाबाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको प्रहरीले जनाएको छ । पूर्वउपराष्ट्रपतिका छोरा पुन गत चैत २ मा काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना सार्वजनिक भएपछि प्रहरीले पीडितबाट जाहेरी माग गरेको थियो । अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर १ हजार ८ सय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन् । प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार