बचतकर्ता सडकमा, गैरकानुनी ऋण लिने लामिछाने सत्तामा…..

भैरहवा र कपिलवस्तु — बुटवलस्थित सुप्रिम सहकारीका बचतकर्ताहरूले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न र उनका व्यापारिक साझेदार तथा सहकारी ठगीका मुख्य नाइके गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले राई र लामिछानेसहितले ‘प्रक्रिया पूरा नगरी’ करिब १४ करोड गोर्खा मिडियामा सारेको किटान गरे पनि प्रतिवादीको सूचीबाट लामिछानेको नाम हटाएपछि बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् । इलाका प्रहरी कार्यालय बुटवलले गत शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड र उनी प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्कले १४ करोड लगेको उल्लेख छ । संस्थाका बचत सदस्य रवि लामिछानेका नाममा कुनै प्रक्रिया पूरा नगरी ऋण लगानी गरिएको छ’ प्रतिवेदनमा भनिएको छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा पनि यही व्यहोरा उल्लेख छ । तर, लामिछानेलाई अभियुक्त बनाइएको छैन । रूपन्देहीका प्रमुख सहर बुटवल र भैरहवाबाट भेला भएका पीडितहरूले आफूले दुःखजिलो गरेर बचत गरेको रकम करोड–करोडका चेक काटेर बिनाधितो निकालेर हिनामिना गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न र रकम फिर्ता गर्न माग गरेका छन् । गृहमन्त्रीको पदमा लामिछाने भएकाले उनलाई उन्मुक्ति दिइएको उनीहरूको आरोप छ । सुप्रिम सहकारीमा राखिएको आफ्नो बचत हिनामिना भएको भन्दै १८ सय बचतकर्ताले प्रहरीलाई उजुरी दिएका थिए । तर, मुद्दा कमजोर बनाइएको भन्दै उनीहरू चिन्तित छन् । सहकारी ठगहरूलाई राजनीतिक संरक्षण बन्द गर’, ‘जीबी राई कहाँ छ ? रवि दाइलाई थाहा छ’, ‘सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर’, ‘सहकारी अनुगमन टोलीलाई कारबाही गर’, ‘पीडित जनता के भन्छ ? जीबी राई ल्याऊ भन्छ’, ‘गृहमन्त्री जिम्मेवार बन, जीबी राईलाई पक्राउ गर’ भन्ने प्लेकार्डसहित भेला भएका पीडितहरूले बचत फिर्ता नपाएसम्म आन्दोलन चर्काउने घोषणा गरेका छन् । प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाम, रकम, मिति, कैफियत र तथ्यसहित उल्लेख भए पनि मुद्दाको प्रतिवादीको सूचीबाट उनको नाम हटाइएकाले राज्यमाथि नै शंका उत्पन्न भएको बचतकर्ता मुकुन्दप्रसाद पौडेलले बताए । ‘न्यायको आस गरेकै निकाय (प्रहरी) बाट निरीहता प्रदर्शन हुँदा हामी चिन्तित भएका छौं । अब कसबाट आस गर्ने ? पीडित अझ पीडित बन्ने भए । सहकारीपीडितले न्याय नपाउने भए । त्यसैले सडक प्रदर्शनमा आउन बाध्य भएका हौं ।’ उनीहरूले मंगलबारबाट बुटवलको राजमार्ग चौराहादेखि ट्राफिकचोकसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी बुटवलका कृष्णप्रसाद खरेलले जीबी र रविकै मिलेमतोमा सर्वसाधारणको बचत हिनामिना गरिएको बताए । यसअघि लामिछाने बुटवल आएका बेला पीडितहरूले भेटेर आफ्नो भनाइ राखेका थिए । ‘दोषीलाई कारबाही गरेर बचत रकम फिर्ता गर्ने वाचा गरेका गृहमन्त्री लामिछाने पदमा पुगेपछि आफ्नो बचाउमा मात्र लाग्नुको कारण के हो ? हामी कारबाही र छानबिन माग गर्दै आन्दोलित छौं,’ खरेलले भने, ‘कसले हिनामिना गर्‍यो भनेर छानबिनको माग गर्दा रविजी चुप हुनुहुन्छ ।सहकारीमा खरेलको करिब ३ करोड रुपैयाँ डुबेको छ । सुरुमा आकर्षक ब्याजदर, मिठासपूर्ण काउन्सिलिङ र सुनको सिक्का दिएर प्रलोभनमा पारी बचत गर्न आकर्षित गरिएको उनले बताए । बुटवलमा पूजा सामग्री बिक्री गर्ने उनले भारतमा ३५ वर्ष श्रम गरेका थिए । ‘भारतमा पसिना बगाएर जोगाएको केही पैसा र दुई वटा घर बिक्री गरेर आएको रकम पनि सुप्रिममा जम्मा गरेको थिएँ, अहिले बर्बाद भइयो । बुटवलका पीडित देवीलाल भट्टराईले घर बनाउन तिलोत्तमाको मणिग्राममा रहेको घडेरी बिक्री गरेर साढे ६२ लाख रुपैयाँ सुप्रिम सहकारीमा जम्मा गरेका थिए । त्यही रकमबाट नयाँ घर बनाउने र छोरीको विवाह गर्ने उनको योजना थियो । ‘जायजेथा बेचेर सहकारीमा पैसा जम्मा गर्ने हामी पीडित भयौं, ठूल्ठूला कुरा गर्नेले पैसा झ्वाम पारे । सरकारले चाहेमा तत्काल दोषीलाई पक्राउ गरेर पीडितलाई न्याय दिन सक्छ । तर, यो बेला कसको आस गर्ने ? किनकि जीबी राई मात्र होइन, रवि लामिछानेलगायतको नाममा पैसा गएको छ । संघर्ष समितिका संयोजक विजयकुमार नेपालले पीडितहरूले सडक प्रदर्शनबाट माग पूरा नभए काठमाडौं पुगेर संघीय सदन घेराउ गर्ने चेतावनी दिए । ‘सुप्रिम सहकारीमा १० हजार बचतकर्ताको १ अर्ब ३१ करोड बचत हिनामिना भएको छ, हामीले जाहेरी दिएको थियो । १ हजार ८ सय २८ जनाले जाहेरी दिएपछि इलाका प्रहरी बुटवलले अनुसन्धान सुरु गरेको थियो ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार