नेपालमा वामपन्थी सरकार स्थिर भएको हेर्न चाहन्छौँ…..

बेइजिङ –  चीनले नेपालमा वामपन्थीहरूबिचको एकतामा जोड दिएको छ । चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा चीनको इन्टरनेशन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले वामपन्थी एकीकरणमा जोड दिएका हुन् । आफ्नो कार्यकक्षमा बिहीबार भएको भेटका क्रममा चियानचाओले नेपालमा एमाले र माओवादी केन्द्रसहितको वामपन्थी पार्टीहरूको सरकार बन्दा चीन खुसी भएको धारणा राखे । ‘दुई पार्टी मिल्नु नेपाली जनताका लागि राम्रो छ’, उनले भने, ‘हामी वामपन्थी सरकार स्थिर भएको हेर्न चाहन्छौँ । वामपन्थी सरकार बन्नु भनेको नेपाल स्वर्णिम यात्रातिर अग्रसर बन्नु हो । वामपन्थी एकताबाट नै नेपालको विकास गर्न सकिन्छ । वामपन्थी एकीकरण गरेर जाँदा राम्रो हुन्छ । सो अवसरमा उनले सीपीसी र माओवादी केन्द्रबिचको सम्बन्ध घनिष्ठ रहेको उल्लेख पनि गरे । उनले भने, ‘चीन र नेपालबिच घनिष्ठ सम्बन्ध मात्रै होइन । हामी साथी र कमरेड पनि हौँ । अमेरिकाप्रति लक्षित गर्दै उनले चीनलाई घेराबन्दीमा पार्न केही मुलुकले नेपालमा सहयोगमार्फत हात बढाइरहेको पनि जिकिर गरे । सो कुरा चीनलाई सह्य नहुने बताउँदै उनले जसले जतिसुकै भाँजो हाल्ने कोसिस गरे पनि नेपाल र चीन बिचको सम्बन्ध परिवर्तन हुन नसक्ने धारणा राखे । जवाफमा गुरुङले आफूहरू कुनै पनि प्रकारको अस्थिरता र द्वन्द्व निम्त्याउन खोज्ने तत्त्वप्रति सचेत रहेको बताए । नेपाल एक चीन नीति प्रति प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो । ‘नेपालले स्थायित्व र पञ्चशील सिद्धान्तमा जोड दिन्छ’, उनले भने, ‘विगतदेखि नै पश्चिमा शक्तिले नेपालमा प्रभाव जमाउन प्रयास गरे पनि हाम्रो पार्टी र सरकारले चेक एण्ड ब्यालेन्स गर्छ ।’ उनले प्रचण्ड नेतृत्वको सरकारले त्यो दिशामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको र आगामी दिनमा पनि खेल्ने बताए । यस्तै उनले आफूहरू वामपन्थी एकता र सरकारलाई निरन्तरता दिन प्रयासरत रहेको पनि बताए । ‘वामपन्थी सरकारको निरन्तरता र एकतालाई विशेष जोड दिएका छौँ । उनले नेपालमा चीनले गरेको सहयोग र बीआरआई सम्झौताप्रति ऐक्यबद्धता जनाएका थिए । सो अवसरमा चियानचाओले नेपाली पक्षले चीनको लगानीका लागि ठोस परियोजना प्रस्तुत नगरेकोप्रति चासो राखेका थिए । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार