इलाममा ६०, बझाङमा ४९ प्रतिशत मतदान…..

इलाम, बझाङ — इलाम–२ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा कुल १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार २ सय ८७ जना मतदानमा सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपनिर्वाचनमा भने ४९.१२ प्रतिशत मतदान भएको छ । इलाम–२ का मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार ३५ हजार १ सय ३५ पुरुष र ३४ हजार १ सय ५० महिला र २ जना अन्य लिंगका मतदाता मतदानमा सहभागी भएका थिए । यहाँ ७९ मतदानस्थलमा १ सय ४९ केन्द्र तोकिएको थियो । शनिबार अबेर रातिसम्म मतपेटिका संकलन भइरहेको छ । पश्चिमी क्षेत्रको फाकफोकथुम, दक्षिणतिरको चुलाचुली र माङ्सेबुङलगायत विकट क्षेत्रबाट मध्यरातसम्म मतपेटिका सदरमुकाम पुर्‍याउने योजना प्रशासनको छ । सबै केन्द्रबाट मतपेटिका संकलन र सर्वदलीय बैठकपछि आइतबार बिहानदेखि मात्रै गणना सुरु गरिने घिमिरेले बताए । एमाले नेता तथा सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । पूर्वसभामुख तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङ उक्त क्षेत्रमा अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका थिए । एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसबाट डम्बर खड्का उठेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूसहित १२ दल तथा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम गरी ७ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचन २०७९ मंसिर ४ मा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । नेम्वाङले ३० हजार २० मत पाएका थिए । माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनबाट उठेका खड्काले १९ हजार ६ मत पाएका थिए । समानुपातिकतर्फ एमालेले ३० हजार ६ सय ८१ मत पाउँदा कांग्रेसले २४ हजार ६ सय ८६ मत पाएको थियो । यस पटक एमाले र माओवादीले गठबन्धन गरेका छन् भने कांग्रेस एक्लै प्रतिस्पर्धामा छ । यो निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाको वडा १० बाहेक सबै, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकाका सबै वडा गरी ६ वटा पालिकाका ४२ वडा पर्छन् ।

हेलिकोप्टरबाट मतपेटिका ल्याएपछि गणनाको तयारी:

बझाङ १ (१) को प्रदेशसभा सदस्य उपनिर्वाचनमा शनिबार साँझसम्म संकलित विवरणअनुसार ३० हजार ३ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीले बताए । यो क्षेत्रमा ६१ हजार ७ सय ४८ जना मतदाता थिए । ‘मतदान अधिकृतहरू मतपेटिका ढुवानीका लागि बाटोमा भएको र केही ठाउँमा टेलिफोन सम्पर्क हुन नसकेका कारण सम्पूर्ण विवरण आइतबारसम्म मात्रै आउँछ । ७४ वटा मतदानस्थलमा रहेका ९३ केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको छ । मतदान व्यवस्थित र सुरक्षित बनाउन१५ सय जना बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । शनिबार साँझसम्म साइपाल गाउँपालिकाबाहेकका अन्य ९० वटा केन्द्रका मतपेटिका सदरमुकाममा संकलन गरिसकिएको छ । साइपालको काँडा, धुली र याराङकुरिङ डाँडा केन्द्रको मतपेटिका आइतबार बिहान हेलिकोप्टरमार्फत ढुवानी गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबै मतपेटिका सदरमुकाम पुगिसकेपछि आइतबार दिउँसोबाट गणना सुरु हुने कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर सिंहले बताए । ‘गणना सुरु भएपछि ३० घण्टाभित्र नतिजा प्रकाशन गर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘एकै पटक दुई समूहले गणना गर्ने गरी कर्मचारी तयारी अवस्थामा राखेका छौं । उपनिर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । यहाँ कांग्रेसबाट सिंहका छोरा अभिषेक उम्मेदवार छन् भने एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढा, एकीकृत समाजवादीका दिलबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए । २०४८ पछि यो क्षेत्रमा कांग्रेसका तीन र एमालेका उम्मेदवारले चार पटक जितेका थिए ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार