प्रधानमन्त्री बन्ने दौडमा रहेका उपेन्द्रको उपप्रधानमन्त्री पद संकटमा…..

काठमाडौँ — उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै नयाँ दल दर्ता गराएका छन् । पार्टी अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री अमेरिका भ्रमणमा छन् भने दलको प्रतिनिधित्व गर्ने दुई मन्त्रीसहितका ७ सांसद नयाँ दलमा लागेका छन् । अब पार्टी अध्यक्षको समूहमा उनीसहित ५ सांसद छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भएदेखि नै जसपा नेपाल आन्तरिक विवादमा थियो । गत २१ फागुनमा एमाले, माओवादी र रास्वपासहितको गठबन्धन बनाएको भनेर सार्वजनिक घोषणा गरेका जसपा अध्यक्ष यादवले उक्त निर्णय पार्टीबाट अनुमोदन गराउन निकै धेरै मिहिनेत गर्नुपरेको थियो । लामो कसरतपछि नवलकिशोर साह सुडीलाई वन तथा वातावरण र दीपक कार्कीलाई सोही मन्त्रालयको राज्यमन्त्री बनाउँदै यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका छन् । तर, मन्त्री सुडीले समेत यादवको नेतृत्व छाडेका छन् । अमेरिका भ्रमणमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव स्वदेश आउँदा नआउँदै पदमुक्त हुने सम्भावना छ । उनको सट्टा नयाँ दलका सांसदलाई मन्त्री बनाउने गठबन्धन नेतृत्वको तयारी छ । नयाँ दलको नेतृत्व सांसदसमेत रहेका अशोक राईले गरेका छन् । माओवादीसँगको सहकार्य अप्रत्याशित रूपमा टुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवा वैकल्पिक गठबन्धनको तयारीमा छन् । यसमा उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मात्र होइन, जसपा अध्यक्ष यादवको साथ रहेको भन्दै त्यसलाई निरस्त बनाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली प्रयासरत थिए । ‘खासगरी माधव नेपाल र उपेन्द्र यादवको भूमिकाले गठबन्धनभित्र संशय पैदा गरेको थियो, दुवै दल सरकारमा भए पनि निरन्तर कांग्रेस सभापतिसँग संवादमा छन् भन्ने दाहाल र ओलीको बुझाइ थियो,’ एमालेका एक नेताले कान्तिपुरसँग भने, ‘उनीहरू यो गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने तयारीमा लागेपछि वर्तमान सत्ता गठबन्धनले नयाँ रणनीति बनाएको हो । सत्तारूढ दलका एक नेताका अनुसार देउवा, नेपाल र यादवबीच पटकपटक भएका संवादपछि उनीहरूबीच बाँकी कार्यकाल बाँडेर तीनै जना आलोपालो प्रधानमन्त्री बन्ने समझदारी बनेको थियो । त्यही समझदारीले आकार लिने सम्भावना देखेपछि नेता नेपालले आफू प्रधानमन्त्री बन्ने संकेतले ‘कतिपयको पेट दुखेको’ टिप्पणीसमेत गरेका थिए । त्यसैले दाहाल र ओली मिलेर अहिले यादवलाई कमजोर बनाइदिएको र यो नजिरले माधव नेपाललाई पनि अप्ठ्यारो पर्ने सक्ने उनको भनाइ छ । उपेन्द्र यादव आफैं प्रधानमन्त्री बन्ने गरी वर्तमान गठबन्धन भत्काउन लाग्नुभएको थियो, त्यसैले दाहाल र ओलीले जसपा नै विभाजन गराइदिएका छन् । अब तत्काल वैकल्पिक सरकारको सम्भावना टरेको छ । बरु विभाजनको संक्रमण नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सर्न सक्छ ।’ मन्त्री साहले पनि पार्टी नेतृत्व नै गठबन्धन ढाल्ने प्रयासमा लागेपछि आफूहरूले नयाँ पार्टी गठन गरेको दाबी गरे । ‘यो पार्टीभित्रको आन्तरिक विषय हो । जुन सरकारमा बस्यो, त्यही सरकार ढाल्ने प्रयास भयो । त्यसैले हामीले यो कदम उठायौं । हाम्रो कदमले सत्ता समीकरणमा कुनै प्रभाव पर्दैन, बरु यो समीकरण र सरकारलाई झन् बलियो बनाउँछौं,’ उनले भने । जसपा विभाजनमा भूराजनीतिक प्रभावभन्दा पनि दलको आन्तरिक विवाद नै मुख्य कारण भएको नेताहरूको दाबी छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार