सगरमाथाको आधारशिविर बन्यो टेन्टको सहर…..

सगरमाथा आधारशिविर — समुद्र सतहदेखि ५ हजार ३ सय ६४ मिटर उचाइमा पर्ने सगरमाथा आधारशिविर । सगरमाथा चढ्नका लागि पहिलो ढोका मानिने यहाँ यतिबेला आरोही, पथप्रदर्शक, भरियादेखि भान्सेसम्मको चहलपहलले माहोल गुल्जार छ । आधारशिविर यतिबेला रंगीविरंगी टेन्टले आकर्षक देखिन्छ । आरोहीमा विश्वकै उच्च शिखर सगरमाथामा पुग्ने उत्साह उस्तै छ । समुद्र सतहदेखि ५ हजार ३ सय ६४ मिटर उचाइमा पर्ने सगरमाथा आधारशिविर यतिबेला आरोहीको टेन्टले भरिएको छ । यस सिजनमा सगरमाथा आरोहणका लागि ४१४ ले अनुमति लिएका छन् । सगरमाथाको चुचुरोमा पुग्न निकै उत्साहित छु,’ सगरमाथा समिटका लागि आधारशिविर आइपुगेकी भारत, अरुणाचलकी काभा ज्ञानुले कान्तिपुरसँग भनिन्, ‘अहिले म त्यही दिनको व्यग्र पर्खाइमा छु ।’ यस सिजन सगरमाथा आरोहणका लागि काभा जस्ता ४ सय १४ जनाले आरोहण अनुमति लिएका छन् । जसमा अधिकांश यतिबेला सगरमाथा उकालो लाग्ने उत्तम समयको पर्खाइमा आधारशिविरमा क्याम्प लगाएर बसिरहेका छन् । कतिपय आरोही त्यहाँको हावापानी र उचाइसँग आफ्नो सामञ्जस्य मिलाउन वरपरका स–साना टाकुराहरू चढ्ने/फर्कने गरिरहेका भेटिन्छन् । ज्ञानुले पनि सम्पूर्ण तयारी सकेर सगरमाथा आरोहणका लागि मानसिक, शारीरिक रूपमा आफू तयार भइसके पनि उचित समयको पर्खाइमा आधारशिविरमा रहेको बताइन् । आधारशिविरमा अवस्थित पर्वतारोहण अनुगमन फिल्ड कार्यालयका सदस्य सचिव खिमलाल गौतमका अनुसार मौसममा सुधार आएकाले शुक्रबार रातिदेखि आरोहण सुरु गरिएको छ । यस पटक आरोहणका लागि सिजन केही ढिला भएको आधारशिविरबाट क्याम्प वानसम्मको खुम्बु आइसफल (ग्लासियर) मा बाटो बनाउन खटिएका आइसफल डाक्टर नुर्गु शेर्पाले कान्तिपुरलाई बताए । मौसममा आएको गडबडीका कारण यस पटक गतवर्षभन्दा आरोहण सिजन ढिला सुरु भयो ।’ सामान्यतः अप्रिलदेखि नै सगरमाथा आरोहण सुरु हुने भए पनि यस पटक झन्डै एक महिना ढिला भएको हो । सगरमाथा आरोहणका लागि यस वर्षको सिजन सुरु भइसकेकाले यतिबेला सोलुखुम्बुको लुक्लादेखि आधारशिविरसम्म नै स्वदेशी तथा विदेशी पर्यटकको लर्को लागेको छ । आरोहणमा निस्किएका पर्यटकको आवागमनले आधारशिविरसँगै यहाँको ट्रेकिङ रुटमा पर्ने होटल तथा रेस्टुरेन्ट व्यवसाय पनि राम्रैसँग फस्टाएको छ । सगरमाथा समिट गर्नका लागि आउने आरोहीबाहेक हिमाली सौन्दर्यमा रमाउन र ट्रेकिङका लागि आधारशिविरसम्म आउने स्वदेशी/विदेशी पर्यटकको संख्या अझ बढी छ । सदस्य सचिव गौतमका अनुसार आरोहणका लागि तयारी पूरा भइसकेको बताए । ‘रोप क्लाम्बिङ टोलीले ८ हजार मिटरसम्म डोरी पुर्‍याइसकेको छ,’ उनले भने । आधारशिविरबाट क्याम्प वानसम्मको खुम्बु आइसफल (ग्लासियर) मा बाटो बनाउन खटिएका आइसफल डाक्टर दावा नुर्गु शेर्पाले पनि तयारी लगभग सकिएको जनाए । यतिबेला खुम्बु आइसफलमा भर्‍याङ राख्ने र डोरी बाँध्ने काम सकिएको छ । हिमालयन रेस्क्यु एसोसिएसनका तर्फबाट आधारशिविरमा आकस्मिक उपचार कक्ष चलाइरहेका चिकित्सक निशान्त जोशीको टोली पनि आकस्मिक सेवाका लागि तयारी हालतमा देखिन्छ । भन्छन्, ‘आरोहीहरूको आकस्मिक उपचार र उद्धारका लागि हामी पनि तयारी अवस्थामा छौं ।’ उनको टोलीले आधारशिविरमा आकस्मिक कक्षको स्थापना गरेर नेपाली बिरामीलाई निःशुल्क तथा विदेशीलाई सःशुल्क सेवा दिइरहेको छ । गत सिजनमा सगरमाथा आरोहणका क्रममा १८ जना पर्वतारोहीले ज्यान गुमाएका थिए । त्यसैले पनि यस पटक सरकारले थप सुरक्षा सतर्कता बढाएको देखिन्छ । गौतमका अनुसार यस पटकदेखि आरोही, गाइड तथा पोर्टरलगायतलाई ‘चिप्स’ र ‘जीपीएस’ जडान गरी ट्र्याक गरिने र समिटका लागि पठाइने भएको छ । गौतमले भने, ‘आरोहीको ज्यान गएपछि कतिपयको शव नै कहाँ छ भन्ने थाहा नहुने, घाइते भएर वा खोचमा अलपत्र अवस्था रहेकाको समयमै उद्धार गर्न नसकिने भएकाले पनि अब तत्काल उद्धारमा सहज होस् भनेर यो उपाय अपनाउन लागिएको हो । पछिल्ला वर्षयता सगरमाथा आधारशिविरमा पर्यटक र आरोहीहरूको भीड ह्वात्तै बढेपछि सगरमाथाको सौन्दर्य मात्रै नभई पर्यावरण पनि बिग्रने र जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा देखिन थालेको बताउँछन्, हिमालयन क्लाइमेट बुट क्याम्पमार्फत दक्षिण एसियाका पत्रकारहरूलाई आधारशिविर लिएर पुगेका नेपाल विज्ञान पत्रकार मञ्चका अध्यक्ष राजन पोख्रेल । उनले यसै कारण पनि सगरमाथा आधारशिविरमाथि ‘एक्टिभ ग्लासियर’ देखिएको बताउँदै आधारशिविर नै जोखिममा रहेको टिप्पणी गर्छन् । पोख्रेलले जलवायु परिवर्तनको असरका कारण सगरमाथालगायत नेपालका हिमाली क्षेत्रका साथै आरोहणमा पनि जोखिम बढाइरहेको बताउँदै भने, ‘एक्टिभ ग्लासियर’ छेवैमा मानवीय चहलपहल बढ्यो । यसले गर्दा हिमनदी दूषित हुने र अन्य जोखिम बढाउने देखिन्छ । त्यसैले सगरमाथा आधारशिविर नै सार्नुपर्ने देखिन्छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार