काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नका लागि रवि लामिछानेलाई आफूले राखेको प्रस्ताव अस्वीकार गरेपछि कांग्रेसले सहकारी प्रकरण ल्याएको बताएका छन् । उनले कांग्रेस सत्ता स्वार्थमा चुर्लुम्म डुबेको पनि आरोप लगाए ।काठमाडौं महानगरपालिका कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा ओलीले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसद्मा गर्नका लागि उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई नदिएकोमा आपत्ति जनाए । आफूले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव नमान्दा उपप्रधानमन्त्री लामिछानेलाई कांग्रेसले सहकारी ठगको आरोप लगाइरहेको र संसद्मा अलोकतान्त्रिक गतिविधि देखाइरहेको ओलीको भनाइ थियो । कांग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बनिदिनुस् डेढ वर्षका लागि भन्न जान्छ । कागज लिएर सम्झौता गरौं भन्न जान्छ, राति । त्यो कागजमा उसले सम्झौता नगरेपछि भोलिपल्ट यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ । रातिसम्म त्यो मान्छे कांग्रेसको पछि लाग्ने हो भने प्रधानमन्त्री बन्न लायक भयो । कांग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्न भन्यो भने त्यो मान्छे भ्रष्टाचारी भयो । के भएको हो कांग्रेस ?,’ ओलीले भने, ‘संसद् चल्न दिन्न भन्छ, किन ? आफू बोल्छ, अरुलाई आरोप लगाउँछ । आरोपित मान्छेले जवाफ दिन्छु भन्दा जवाफ दिन दिँदैन । बोल्न दिँदैन । आरोप लगाउने, संसद्मा आरोप लगाउने, आरोपको खण्डन गर्छु म, बोल्छु म भन्दा अर्कोलाई बोल्न नदिने । कांग्रेसले लोकतान्त्रिक विधि मिचेको ओलीको भनाइ थियो । सत्ता स्वार्थमा कांग्रेस लागेकाले समस्या देखिएको उनको भनाइ थियो । ‘कांग्रेस लोकतान्त्रिक शक्ति होइन, सत्ता स्वार्थमा चुर्लुम्म डुबेको, सत्तास्वार्थमा केन्द्रित भएको र न्यायको पक्षमा होइन, जथाभावीको पक्षमा गएको स्पष्ट देखिएको छ,’ ओलीले भने । साभार : इका