सुरक्षण मुद्रणको उपकरण खरिद, विकलसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा…..

काठमाडौँ — सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरूमाथि बदनियतपूर्ण रूपमा उपकरण खरिद गरी सरकारलाई करिब ४१ करोड रुपैयाँ हानिनोक्सानी पुर्‍याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुद्दा दायर गरेको हो । केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल, निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल, केन्द्रका तत्कालीन लेखा अधिकृत खड्गबहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे, उपकरण आपूर्तिको जिम्मा पाएका ठेकेदार अकबर हुसेन र हुसेन प्रमुख कार्यकारी रहेको कम्पनी म्याक्स इन्टरनेसनललाई प्रतिवादी बनाइएको छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेल, श्रेष्ठ र पोखरेलविरुद्ध ४० करोड ८५ लाख ७४ हजार रुपैयाँ बिगो कायम गरी सोहीअनुसार जरिवाना र कैद सजाय मागदाबी लिइएको छ । गैरकानुनी एवं मिलेमतोमा उपकरण खरिद गर्दा ४० करोड ७५ लाख ५७ हजार रुपैयाँ भुक्तानी भएको भन्दै सोही बराबरको रकम तीनै प्रतिवादीबाट असुलउपर गर्नुपर्ने अख्तियारको अभियोगपत्रमा उल्लेख छ । कार्यालय प्रमुख पदको दुरुपयोग गरी खरिदमा भ्रष्टाचार गरेको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ बमोजिम पौडेलविरुद्ध थप सजाय गर्न पनि मागदाबी छ । यसैगरी लेखा अधिकृत थापा र शाखा अधिकृत घिमिरेले आफूलाई लाभ हुने गरी पौडेलसहितका व्यक्तिसँग मिलेर गैरकानुनी काम गरेको अभियोगमा ४० करोड ७५ लाख ५७ हजार रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय तथा ठेकेदार हुसेनलाई मतियारका रूपमा प्रतिवादी बनाई भुक्तानी भएको रकमलाई बिगो कायम गरी त्यसअनुसार जरिवाना र कैद सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख छ । पौडेलविरुद्ध अख्तियारले सुरक्षण मुद्रणकै उपकरण खरिद प्रकरणमा २०८० वैशाख ३ मा करिब ६९ करोड रुपैयाँ बिगो कायम गरेर दायर गरेको भ्रष्टाचार मुद्दा विशेषमै विचाराधीन छ । यस्तै, अमेरिकी स्थायी आवासीय अनुमति पत्रवाहक भएकै बखत केन्द्रको कार्यकारी निर्देशक बनेको कसुरमा अख्तियारले यही वैशाख ९ मा पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाका मुख्य अभियुक्त पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा २०६० को सुरुवातबाट करारमा सेवा प्रवेश गरी पछि केन्द्र हुँदै सुरक्षण मुद्रणको कार्यकारी निर्देशक थिए । २ कार्यकाल कार्यकारी निर्देशक रहेका उनी बहालमा छँदै गत वर्ष वैशाखमा सुरक्षण मुद्रणकै उपकरण खरिदमा मुछिएका थिए । दुवै मुद्दा विचाराधीन रहेकै बखत सुरक्षण मुद्रणका लागि उपकरण खरिदमा उनीविरुद्ध तेस्रो मुद्दा दायर भएको हो । पौडेलविरुद्ध अख्तियारले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको सहितको कसुरमा छुट्टै अनुसन्धान जारी राखेको छ । अनुसन्धानकै क्रममा सुरक्षण मुद्रणका अन्य उपकरण खरिद प्रकरणमा संलग्नता भेटिएपछि यसमा छुट्टै मुद्दा लगिएको अख्तियारले जनाएको छ । पौडेल गत माघ १० देखि अख्तियारको नियन्त्रणमा छन् । गत वर्ष वैशाख ३ मा उपकरण खरिदकै भ्रष्टाचार मुद्दा दायर भएपछि फरार रहेका उनी विदेशबाट नेपाल आएको सुइँको पाएपछि गैरकानुनी सम्पत्ति प्रकरणमा अनुसन्धान गर्न अख्तियारले काठमाडौंबाटै पक्राउ गरेको थियो ।

केन्द्रले २०७७ फागुन २३ मा सफ्टवेयर तथा अन्य उपकरण खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । आइतबार दायर भ्रष्टाचार मुद्दामा अख्तियारले आरोपितविरुद्ध मिलेमतो तथा बदनियतपूर्ण रूपमा योजना बनाई अनुकूल कम्पनी छनोट गरेर सोहीमार्फत खरिद गरेको अभियोग लगाएको छ । बजेट विनियोजन भई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा तयार गरिएको कार्यान्वयन कार्ययोजना तथा सचिवबाट स्वीकृत खरिद गुरुयोजनामा समेत छुट्टाछुट्टै दुई वटा कार्यक्रमहरू सञ्चालन गरिने भनी उल्लेख गरेकामा आफूखुसी दुई वटा कार्यक्रममा विनियोजित सम्पूर्ण बजेटलाई एउटै कार्यक्रम पेपर बेस्ड प्रेस मेसिनरीका उपकरण किन्न रकम खर्चेको उल्लेख गरिएको छ । यसरी खर्च गर्दा खरिद इकाइसमेत स्थापना नगरी बदनियत राखी सफल श्रेष्ठ र नवीनकुमार पोखरेलले आफ्नै संयोजकत्वमा समिति बनाई निश्चित व्यक्तिका लागि ठेक्का प्रदान गर्ने मनसायले पूर्वपरिचित म्याक्स इन्टरनेसनल र यसका सञ्चालक अकबर हुसेनलाई अनुकूल हुने गरी काम गरेको अनुसन्धानबाट खुलेको छ । हुसेनले आपूर्ति गर्नेको कम्पनीबाट निर्माण हुने उपकरणका मोडेल तथा मुख्य विशेषताहरूलाई नै सर्तका रूपमा राखी हुसेनकै नाममा रहेको सूचना प्रविधिसम्बन्धी कार्य गर्ने आईटी ग्लोबल प्रालि र अन्य दुई वटा कम्पनीहरूलाई दरभाउ माग गर्नुभन्दा केही दिनअघि मात्र सूची दर्ता गर्न लगाई पौडेलको एकल निर्णयले एकै दिनमा दरभाउ लिई लागत अनुमान तयार गरेको पुष्टि भयो,’ अभियोगपत्रमा भनिएको छ, ‘नेपालमा निर्माण नहुने र सोसम्बन्धी कार्य अनुभव भएका कुनै पनि कम्पनी नेपालमा नभएका कारण अन्तर्राष्ट्रिय बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने अवस्थामा म्याक्स इन्टरनेसनलको मात्र कार्य अनुभव मिल्ने गरी खरिदको मुख्य कार्य करिब ८० प्रतिशत प्रिन्टिङ प्रेससँग सम्बन्धित हुँदाहुँदै प्रिन्ट प्रोडक्सन सिस्टम सञ्चालनका लागि अपरिहार्य नभएको र यस ठेक्काबाट खरिद गर्नु नपर्ने उपकरण खरिद गरी सरकारी रकम हानिनोक्सानी गरेको पुष्टि हुन आयो । मूल्यांकन गर्ने अधिकारीले ठेक्का स्वीकृत गर्न नहुने भनी सार्वजनिक खरिद कानुनमा व्यवस्था हुँदाहुँदै त्यसविपरीत पौडेल, श्रेष्ठ र पोखरेलसहितका व्यक्तिको मिलेमतोमा ठेक्का स्वीकृत गरेको पनि अभियोजनमा उल्लेख छ । यसरी मिलेमतोमा ठेक्का दिलाएबापत पौडेलले सिंगापुरको बैंकमा घूस बुझेर त्यो घूस अमेरिकामा रहेकी आफ्नी पत्नी एलिना बस्नेतको खातामा समेत जम्मा गरेको भेटिएको अख्तियारको अभियोजनमै उल्लेख छ । हुसेनले आफूले उपकरण खरिद गर्ने विदेशी कम्पनी ब्यान्कोटेक पीटीई लिमिटेडलाई ठेक्का दिलाएर सोही कम्पनीमार्फत सिंगापुरमा घुस/कमिसन रकम बुझ्ने गरेको पनि भेटिएको छ । ‘मिलेमतोमा ठेक्का दिलाएबापत प्रतिवादी विकल पौडेलको सिंगापुरमा रहेको युनाइटेड ओभरसिज बैंकमा खाता खोली त्यही बैंकमा ब्यान्कोटेक पीटीई लिमिटेडबाट घूसबापत डलर जम्मा गरेको देखिन्छ,’ अभियोगपत्रमा भनिएको छ, ‘यसबाट प्रतिवादी पौडेलले सामान खरिद गर्दा सम्झौताकर्तासँगको मिलेमतोमा विदेशी कम्पनीबाट निजको खातामा कमिसन रकम राख्न लगाउने गरेको प्रस्ट हुन आउँछ । रकम हिनामिना गर्नकै लागि आवश्यकताभन्दा बढी क्षमताको उपकरण जबर्जस्ती किनेको पनि देखिन्छ । कार्ड बेस्ड प्रेस मेसिनरी सफ्टवेयर एन्ड हार्डवेयर तथा रिलेटेड उपकरण किन्ने भनी आवश्यकता नभएका थप उपकरण किनेर सरकारी हानिनोक्सानी पुर्‍याएको अभियोगपत्रमा उल्लेख छ । ‘आवश्यकताभन्दा बढी दुई वटा प्रिन्टिङ प्रेस खरिद, प्रिन्टिङ प्रेसमा इनलाइन हुने कम क्षमताको डाई कटिङ मेसिन खरिद गर्दा हुनेमा खरिदको पुस्ट्याइँ तथा मनासिब कारणबिना खरिद भएको प्रिन्टिङ प्रेसको क्षमता १५ मिटर प्रतिमिनेटभन्दा २० गुणा बढी ३ सय मिटर प्रतिमिनेट क्षमताको मेसिन सञ्चालन आवश्यक नभएको क्रिटिकल आईटी सिस्टमसमेत खरिद गरी गराई हाल प्रयोगमा नदेखिएकोबाट मिलेमतोमै गैरकानुनी लाभ हुने गरी सरकारी हानिनोक्सानी गरेको पुष्टि भयो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार