त्रिविभित्रै १० रोपनी जग्गा कब्जा गरी गिट्टी–बालुवा डिपो…..

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको करिब १० रोपनी जग्गा कब्जा गरी ढुंगा, गिट्टी र बालुवाको डिपो सञ्चालन गरिएको छ । एग्रो एन्ड बायोलोजी राष्ट्रिय प्रयोगशाला भवन निर्माण परिसरको उक्त जग्गा कब्जा भए पनि त्रिवि र सरकारले बेवास्ता गरेका छन् । २०७३ देखि नै स्थानीय ठेकेदार कवीन्द्र महर्जनले अनधिकृत रूपमा ढुंगा, गिट्टी, बालुवा थुपार्ने गरेको प्रयोगशालाका कर्मचारी बताउँछन् । कीर्तिपुरस्थित त्रिविको एग्रो एन्ड बायोलोजी राष्ट्रिय प्रयोगशाला परिसरमा १० रोपनी जग्गा कब्जा गरी ठेकेदार कवीन्द्र महर्जनले सञ्चालन गरिरहेको ढुंगा, गिट्टी र बालुवाको डिपो।  उपकुलपति, रजिस्ट्रार, रेक्टर कार्यालय र प्रहरी वृत्त कीर्तिपुरबाट मात्र एक किमि दूरीभित्र रहेको उक्त जग्गा हडपिएको सम्बन्धमा कसैले चासो दिएको छैन । एग्रो एन्ड बायोलोजी प्रयोगशालाको भवन बने पनि डिपोका कारण त्यहाँ कार्यालय स्थापना गर्न नसकेको प्रमुख सहप्राध्यापक गिरीराज त्रिपाठी बताउँछन् । ‘प्रयोगशाला भवनसँगै ढुंगा, बालुवा थुपारेकाले बाटोसमेत छैन, आवतजावतमै समस्या छ,’ उनले भने, ‘पानीको लाइन ल्याउनसमेत ठेकेदारले दिएका छैनन् ।’ डिपोका कारण कार्यालय सञ्चालनमा बाधा परेपछि प्रयोगशालाले त्रिवि रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखामा उजुरी दिएको छ ।

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर रकम असुल्दै प्राध्यापक र कर्मचारी:

अनधिकृत रूपमा विश्वविद्यालयको जग्गा हडपेर डिपो सञ्चालन गरेको पाइएपछि हटाइदिन महाशाखामा उजुरी दिएको सहप्राध्यापक त्रिपाठीले बताए । ‘डिपो नहटेसम्म प्रयोगशाला सञ्चालन गर्न सकिने स्थिति छैन,’ उनले भने । डिपोले प्रयोगशालातर्फ प्रवेश गर्ने मूल सडकसहित चारैतर्फ जस्तापाताको घेराबारा लगाएको छ । जहाँ टिपर, एक्स्काभेटर, ट्रक मात्र आउजाउ गर्छन् । सामान्य प्रशासन महाशाखाका प्रमुख राजुकुमार श्रेष्ठले प्रयोगशालाको पत्रअनुसार विश्वविद्यालयको जग्गा खाली गरिदिन ठेकेदारलाई पत्र पठाएको बताए । ‘उक्त जग्गा भोगचलन गर्न विश्वविद्यालयले दिएको होइन, अनधिकृत रूपमा प्रयोग गरेको पाइएपछि हटाउन भनेका छौं,’ उनले भने ।यसअघि पनि पटक–पटक ठेकेदारलाई जग्गा खाली गर्न निर्देशन दिएको तर उनले अटेरी गर्दै आएको रजिस्ट्रार कार्यालयका कर्मचारी बताउँछन् । ‘मौखिक रूपमा जग्गा खाली गर्न गरेको आग्रह अटेर गरेपछि लिखित रूपमै पत्र पठाएका छौं,’ श्रेष्ठले भने । निर्माण व्यवसायी संघ काठमाडौं उपत्यकाका वरिष्ठ उपाध्यक्षसमेत रहेका महर्जन कवीन्द्र निर्माण सेवा कम्पनी प्रालिका निर्देशक हुन् । उनले त्रिविको जग्गा कब्जा गरी निर्माण सामग्री राखेर त्यस वरपर निर्माणको काम गर्दै आएको त्रिविका कर्मचारी बताउँछन् । ‘त्रिविले जग्गा भोगचलन गर्न अनुमति दिइएको छैन । भाडा पनि त्रिविले पाउँदैन । तर लगभग १० रोपनी जति जग्गा गैरकानुनी रूपमा कब्जामा लिइएको छ,’ रजिस्ट्रार कार्यालयका एक कर्मचारीले भने । ठेकेदार महर्जनले भने उपकुलपति र रजिस्ट्रार कार्यालय भवन आफूले निर्माण गरेकाले त्यतिबेलैदेखि सामग्री राख्दै आएको बताए । ‘त्यतिबेला सोधेरै आवश्यक निर्माण सामग्री राखेको हो,’ उनले भने, ‘निर्माण सामग्री विश्वविद्यालयभित्र जहाँ पायो त्यहीं राख्ने कुरा पनि भएन ।’ उपकुलपति कार्यालयको भवन पुनर्निर्माण सकिएको दुई वर्ष र रजिस्ट्रार कार्यालय भवन निर्माण सकिएको एक वर्षभन्दा बढी भइसकेको छ ।

‘टिचिङ’ को १५ सय शय्याको अस्पताल बनाउन छुट्याइएको जग्गामा सुमो पार्क:

नवनियुक्त रजिस्ट्रार केदार रिजाल र उपकुलपति केशरजंग बरालले भने अतिक्रमित जग्गाको लेखाजोखा गरेर प्याकेजमा नै फिर्ता ल्याउने प्रक्रिया थाल्ने बताउँदै आएका छन् । ‘त्रिविको थुप्रै जग्गा अतिक्रमणमा परेको गुनासो आएका छन्, कसरी फिर्ता ल्याउन सकिन्छ भन्ने योजना बनाउँदै छौं,’ रजिस्ट्रार रिजालले भने, ‘कहाँ–कहाँ अतिक्रमण भएको छ, जाँचबुझ गर्दै छौं ।’

त्रिविको १२५ रोपनी जग्गा बिचौलियाद्वारा निरन्तर किनबेच:

ल्याब स्कुलले अतिक्रमण गरेको १ सय ८ रोपनी जग्गाकै पछाडि बल्खु–दक्षिणकाली सडक खण्डअन्तर्गत पर्ने १० रोपनी जग्गा महर्जनले विश्वविद्यालयको अनुमतिबिनै भोगचलन गर्दै आएका हुन् । त्रिविको मूल गेट अगाडि पर्ने विश्वविद्यालयको जग्गा अतिक्रमण गर्ने होडबाजी नै चलेको छ । सोही सडकको अर्कोतर्फको करिब १८ रोपनी जग्गा भाडामा लगाएर नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघले पनि रकम असुल्दै आएका छन् । मेलम्ची खानेपानी आयोजना, त्यसका ठेकेदार र एक धार्मिक संस्थाले समेत त्यस क्षेत्रमा त्रिविको सयौं रोपनी जग्गा हडपेर भोगचलन गर्दै आएको पाइएको छ । त्रिवि कीर्तिपुर परिसरमा पर्ने १ हजारभन्दा बढी रोपनी जग्गा अतिक्रमण गरी विभिन्न व्यक्ति, संघसंस्थाले भोगचलन गर्दै आएका छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार