कांग्रेसद्वारा वेल घेराउ र नाराबाजी, राष्ट्रपतिले पाएनन् धन्यवाद…..

काठमाडौँ — संसद्को संयुक्त बैठकमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेलले धन्यवाद समेत पाएनन् । धन्यवाद दिने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्ष कांग्रेसले बैठक अवरुद्ध गरेपछि संसद्को अभ्यासमा सम्भवतः पहिलो पटक त्यो हुन सकेन । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बसेको संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरेपछि फर्किने क्रममा । सहकारीको बचत रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद्का दुवै सदनका बैठक अवरुद्ध गरेको थियो । नीति तथा कार्यक्रम मात्र प्रस्तुत गर्न दिने कांग्रेसको अडानले संसद्बाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबलसम्म भएन । कांग्रेसले आफ्नो कार्य सही भएको तर्क दिएको छ भने सत्तापक्षले संसदीय व्यवस्थाको प्रमुख दाबी गर्ने पार्टीको अशोभनीय कार्य भनेर आलोचना गरेको छ । राष्ट्रपतिले साढे दुइ घण्टा लगाएर सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि उनलाई धन्यवाद दिने मात्रै कार्यसूची राखेर राष्ट्रिय सभा बैठक बस्यो । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्ताव टेबल गर्ने र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गर्ने कार्यसूची थियो । तर कांग्रेस सांसदले बैठक अवरुद्ध गरेपछि प्रस्ताव टेबल हुन सकेन । प्रतिनिधिसभामा भने राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएका पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन गर्ने, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबल र पारित गर्ने तथा उद्योगमन्त्रीले लगानी सहजीकरणसम्बन्धी अध्यादेश पेस गर्ने कार्यसूची थियो । तर कांग्रेसले बैठक सुरु हुनेबित्तिकै वेल घेराउ र नाराबाजी गरेको थियो । राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पनि सरकारी भएकाले टेबल र प्रस्तुत गर्न नदिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको तर्क थियो । ‘सरकारका प्रधानमन्त्रीले टेबल गर्ने प्रस्ताव भएकाले सरकारी प्रस्ताव हो, हामी त राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्नबाट रोक्नेवाला थियौं, प्रधानमन्त्रीको आग्रहमा मात्र नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएका हौं,’ लेखकले भने । संसद्का एक उच्च अधिकारीले भने राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सरकारी नभई सदनको भएको बताए । प्रधानमन्त्रीले टेबल गर्ने भए पनि राष्ट्रपति संसद्मा आएर सम्बोधन गरेकामा धन्यवाद दिने संसदीय अभ्यास रहेकामा त्यो तोडिएको ती अधिकारीको भनाइ थियो । ‘संसद्मा आएर राष्ट्रपतिज्यूले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकामा संसद्ले धन्यवाद दिने हो । प्रधानमन्त्रीले टेबल मात्रै गर्ने अभ्यास हो । राष्ट्रपतिलाई धन्यवाद दिने नितान्त संसद्को पाटो हो, यसमा सरकारलाई जोड्नु उपयुक्त होइन । नीति तथा कार्यक्रम पेस गरिसकेपछि राष्ट्रपतिलाई धन्यवाद दिन नसकिएको सम्भवतः पहिलो घटना हो,’ ती अधिकारीले भने । अर्थमन्त्री वर्षमान पुनले भने राष्ट्रपतिलाई धन्यवाद दिन नदिई कांग्रेसले अशोभनीय काम गरेको बताए । ‘प्रमुख प्रतिपक्ष दलबाट संसद् अवरुद्ध गर्ने काम शोभनीय भएन । सम्माननीय राष्ट्रपतिज्यू देशको अभिभावक हो । उहाँले संसद्लाई दुई घण्टा सम्बोधन गरिसकेपछि सामान्य शिष्टाचारस्वरूप धन्यवाद प्रस्ताव राख्नुपर्ने थियो । राष्ट्रका लागि दुई घण्टा लामो सम्बोधन गर्नुभयो, धन्यवाद भन्न पनि नसक्ने ?,’ मन्त्री पुनले भने, ‘त्यति गर्न दिएको भए राम्रो हुन्थ्यो । त्यसपछि सत्तापक्ष र प्रतिपक्षका बीचमा छलफल हुन्थ्यो । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीले लोकतान्त्रिक चरित्र देखाएन । कांग्रेसले अलोकतान्त्रिक र दुःखद घटना संसद्मा दर्ज गराएको उनले टिप्पणी गरे । राष्ट्रपतिलाई धन्यवाद दिनबाट पनि रोकेका बारेमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘धन्यवाद दिने संसदीय अभ्यासमा हो तर राष्ट्रपतिलाई धन्यवाद दिन सकेनौं, यो दुःखद कुरा हो । जनताका विषय, नीति तथा कार्यक्रममाथि छलफल गर्न नदिई कांग्रेसले संसद्लाई कहाँ लान खोजेको हो ? संसदीय अभ्यासबाट विकास भएर आएको पार्टीको यही हो त अभ्यास ?’ संसद्को प्रभावकारितामा कांग्रेसको पनि जवाफदेहिता रहेको उनको भनाइ थियो । साभार : इका

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार