‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा…..

रुकुम पश्चिम — पुर्ख्यौली थातथलो मुसीकोट–१३ को साधनचौर छोडेर अमेरिका जाने रहर पलाएदेखिका १२ वर्षमा सुवास (परिवर्तित नाम) ले तीन पटकको प्रयासमा झन्डै ८६ लाख दलाललाई बुझाइसकेका छन् । तर अझै पनि उनी अमेरिका पुग्ने टुंगो छैन । अवैध बाटो (डंकी रुट) हुँदै अमेरिका पुग्न २०६८ भदौमा उनी संगठित मानव तस्करको सम्पर्कमा पुगेका हुन् । पहिलो एजेन्टले उनलाई दुबई हुँदै काजकिस्तान पुर्‍याएर अगाडि बढाउन नसकेपछि फिर्ता गरिदिएका थिए । ‘५ लाख दिएपछि दलालले दुबईसम्म पुर्‍यायो, त्यसपछि १५ लाख लिएर काजकिस्तान पुर्‍यायो, फेरि १० लाख बुझायौं,’ सुवासका बाबुले भने, ‘३० लाख बुझाइसक्दा पनि दलालले काजकिस्तानबाट अगाडि बढाएन, काठमाडौं नै फर्काइदियो । दलाललाई भनेजति रकम बुझाउन नसकेपछि सुवासका बुबाले दाङको जग्गा नै पास गरिदिएको बताए । पहिलो प्रयास असफल भए पनि सुवासको अमेरिका जाने मोह भने अझै भंग भएको छैन । फेरि अर्को दलालमार्फत अमेरिका जान तुनेलो कसे । ‘क्याप्टेन’ नाम बताउने भारतका एक दलालमार्फत फेरि काठमाडौंबाट दुबई–काजकिस्तान हुँदै टर्कीसम्म पुगे । सुवासका बुबाले यहाँसम्मको यात्रामा दलाललाई ३२ लाख बुझाइसकेका थिए । तर यसपटक पनि सुवास काठमाडौं नै फिर्ता हुनुपर्‍यो । हाम्रो दोस्रो प्रयास पनि सफल भएन । अनि फेरि अर्को दलालमार्फत छोरो अहिले अमेरिकाको यात्रामा छ ।’ उनले अहिलेको दलालसँग अमेरिका पुर्‍याइदिने गरी ६० लाख रुपैयाँमा ‘डिल’ भएको बताए । २४ लाख रुपैयाँ बुझाइसकेका सुवासका बुबालाई यतिबेला छोरो कहाँ पुग्यो भन्नेसम्म थाहा छैन । ‘नामै नसुनेको कुनै एउटा टापु देशमा पुगेको छ भन्ने सुनेको छु,’ सुवासका बुबाले कान्तिपुरसँग भने, ‘तेस्रो दलालले पनि अहिलेसम्म २४ लाख लगिसकेको छ, बाँकी ३६ लाखचाहिँ उतै अमेरिका पुगेपछि बुझाउने सहमति भएको छ । मुसीकोट नगरपालिका–१३ छिवाङस्थित एक परिवारमा पनि यतिबेला अमेरिका सपनाले बेचैनी बढाएको छ । १९ महिनाअघि घरबाट अमेरिका जाने भनेर निस्किएका छोराका लागि साँवा मात्रै ५३ लाख रुपैयाँ खर्च भइसकेको उनकी आमाले सुनाइन् । भनिन्, ‘सयकडा २५ मा लिएको ऋण दिनदिनै उकालो लागिरहेको छ । छोरो अमेरिका पुग्ने कुनै छाँटकाँट छैन । के गर्ने, कसो गर्ने अवस्थामा पुगिसक्यौं । २०७९ असोजमा एक जना दलालले ४० लाखमा अमेरिका पुर्‍याइदिन्छु भनेर ३३ लाख लिएर पनि नपठाएपछि अर्को दलालमार्फत अमेरिका जान भनेर हिँडेको छोरा बाटोमै रहेको उनले बताइन् । ‘पहिलाको दलालबाट काम नभएपछि छोरा घरबाट हिँडेको डेढ वर्षपछि दुबईबाट फर्कियो,’ उनले भनिन् । एक महिनाअघि मात्र काठमाडौंमा भेटिएको अर्को दलालले ६० लाखमा अमेरिका पुर्‍याइदिने बताएपछि छोरो पुनः हिँडेको उनकी आमाले बताइन् । ‘अहिलेको दलाललाई पनि २० लाख रुपैयाँ बुझाइसकेका छौं । छोरो उज्वेकिस्तान पुगेको भन्ने सुनेका छौं, अब त पुग्ला कि,’ उनी आशावादी देखिइन् । यसरी अवैध रूपमा अमेरिका जानका लागि लाखौं बुझाएर बिचल्लीमा पर्ने कैयन् छन् । एकातिर अमेरिका जान ज्यानकै जोखिम मोलिने गरिन्छ भने अर्कोतर्फ मोटो रकमको ऋणको भारीले घरपरिवारमा बेचैनी उस्तै छ । अनौठो त के छ भने समस्यामा परिरहेका यस्ता परिवारका सदस्यहरू आफ्नो व्यथा भन्न पनि हच्किने गर्छन् । यसरी भन्दा अमेरिका जान एजेन्टलाई बुझाएको रकम फिर्ता नपाइएला वा एजेन्टबाटै ज्यानको जोखिम होला कि भन्ने त्रास उनीहरूमा देखिन्छ । दलालमार्फत काठमाडौंबाट दुबई गएर अवैध रूपमा विभिन्न देश हुँदै मेक्सिकोबाट अमेरिका पुग्ने लालसामा रुकुम पूर्व र पश्चिमका अधिकांश गाउँका तन्नेरीहरू फसिरहेका छन् । यसरी पैदल अमेरिका जान हिँडेकामध्ये केहीको बाटोमै मृत्यु भएको छ भने केही अमेरिका पुगेर पनि अलपत्र परेका छन् । अमेरिका पुगेका कतिपय पनि पक्राउपछि डिपोर्ट भएका घटनाहरू त्यस्तै छन् । सामान्य खेती–किसानीबाहेक नियमित आम्दानीको स्रोत नभएका यहाँका परिवारको कथा कैयन् घरमा भेटिन्छन् । सिस्ने गाउँपालिका–३ पोखरामा यस्तै अर्को व्यथा भेटियो । २०७९ असारमा तिनै क्याप्टेन नाम बताउने दलाललाई ३५/३५ लाख बुझाएर अमेरिका हिँडेका दाजु र बहिनी दुबई हुँदै स्पेनसम्म पुगेर काठमाडौं फर्कनुपरेको पीडा रहेछ । दुई जनाको गरेर ७० लाख रुपैयाँ खाएर दलाल भागेपछि आफूहरू अलपत्र परेको परिवारका सदस्यले बताए । ७० लाख डुबेपछि पनि उनीहरूको अमेरिका जाने सपना भने सकिएको छैन । यतिबेला फेरि अर्को दलालको सम्पर्कमा पुगेका रहेछन् । जसले जनही ६० लाख रुपैयाँमा अमेरिका पुर्‍याइदिने भनेपछि बहिनीले २० लाख र दाजुले ४१ लाख बुझाइसकेका रहेछन् । चर्को ब्याजमा ऋण लिएर अमेरिकाको अन्धाधुन्ध यात्रामा हिँडेका उनीहरू कथंकदाचित अमेरिका पुगिहाले पनि त्यो बेलासम्म साँवा मात्रै एक/एक करोड पुग्ने अनुमान परिवारको छ । त्यसको ब्याजसमेत थपिँदा कहिलेसम्म तिरिसक्ने हो भन्ने चिन्ता उस्तै देखिन्छ । अमेरिकाको अनिश्चित यात्रामा लाखौं रकम फसाएका परिवारहरू न त खुलेर यस विषयमा बोल्न चाहन्छन्, न उनीहरूले न्यायको पहल नै गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी नवराज भट्टराई अमेरिका पुर्‍याइदिने भनेर रकम लेनदेन भएको बारे सम्बन्धित प्रहरी–प्रशासनमा कुनै उजुरी पर्ने नगरेको बताउँछन् । ‘यस प्रकारका हल्ला सुनिन्छन् । तर अहिलेसम्म कुनै उजुरी आएको मेरो जानकारीमा छैन,’ उनले भने, ‘उजुरी आएमा हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौं नै । साभार : इका 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार