कांग्रेसप्रति किन आक्रामक भए दाहाल…..

काठमाडौँ — सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति बनाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच समन्वय गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार संसद्‌मा कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भए । सहकारी ठगीमा समिति बनाउने विषयमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मनाएका दाहाल आफूले विश्वासको मत लिने बेला कांग्रेसले सहज बातावरण बनाउने अपेक्षा गरेका थिए । त्यही अपेक्षा साथ उनले सोमबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरी आफूले विश्वासको मत लिन लागेकाले सहज ढंगले संसद् चल्न दिन आग्रह गरे । देउवाले यसबारे पार्टीमा छलफल गर्ने र सकेसम्म संसद् अवरोध नगर्ने आश्वासन दिए पनि । तर सोमबार १० बजेट कांग्रेस संसदीय दलको बैठकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर छानबिन समिति नबनेकाले संसद्‌मा बिरोध जारी राख्ने निर्णय गर्‍यो । अपेक्षाअनुसार कांग्रेसबाट सहयोग नपाएपछि प्रधानमन्त्री आक्रोशित बनेको माओवादी केन्द्रका एक नेताले बताए । ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिन कांग्रेसले सहजीकरण गर्न भन्ने अपेक्षा गर्नुभएको थियो,’ ती नेताले भने । सोमबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रस्तावबारे संसद्‌मा बोल्ने क्रममा सरकारले विश्वासको मत लिने दिन विरोध गरी इतिहासमै गलत गरेको आरोप लगाए । म अवरोधमा रहेका माननीयज्युहरुलाई खासगरी नेपाली कांग्रेसका सबै माननीय सदस्यहरुलाई भन्न चाहन्छु, तपाईंहरुले आज गलत गर्नुभयो । तपाईंहरुलाई पटक-पटक साथ दियौँ, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुलाई संवाद र सहमतिको बाटोतर्फ ल्याउन सहयोग गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो,’ दाहालले संसद्‌मा बोल्दै भने, ‘त्यसको निम्ति म गहिरो दुःख प्रकट गर्न चाहन्छु । तपाईंहरुले गरेको यो कर्मको मूल्य नेपाली कांग्रेसको लागि धेरै चर्को पर्नेछ, आजको तपाईंहरुको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ, कलंकको रुपमा । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि प्रमुख सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीको बधाईपछि दुबै नेताको मन्दमुस्कान सहित उनको सचिवालयले तस्बिर सार्वजनिक गर्‍यो । त्यो केवल तस्बिार मात्र थिएन, ओलीको दह्रो ढाडस पनि थियो । दुबै नेताको मन्द मुस्कानको संकेत थियो, विश्वासको मतपछि सत्ता समीकरणको गाँठो बलियो बन्यो । चौँथो पटक सुविधानजनक बहुमत (विश्वास) पाएपछि सत्तारुढ दलका नेता तथा सांसदहरुले संसद् हलभित्रै बधाइ पाइसकेका थिए । सत्तारुढ दलभित्र असन्तुष्ट एकीकृत समाजवादीले समेत साथ पाएपछि दाहाल ढुक्क देखिन्थे । विश्वास मत पाएलगत्तै संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले कांग्रेसले अहिले गरेको गतिविधिको मूल्य आगामी निर्वाचनमा चुकाउने टिप्पणी गरे । नेपाली कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने कुरा आगामी चुनावमा देखिन्छ,’ उनको भनाइ थियो, ‘आज कांग्रेसले गरेको अवरोध नेपालको मात्रै होइन, विश्वमा रेकर्ड बनेको छ । जरुरी पर्‍यो भने १०/१२ पटक विश्वासको मत लिन्छु ।’ उनले आफ्नो सरकारमा अझै पाँच, छ पार्टी सरकारमा आउने/जाने संकेत गर्दै यस्तो बताए । सरकारलाई समर्थन गरेको दलले त्यो फिर्ता लिएको अवस्थामा विश्वासको मत लिने परम्परा छ । जनता समाजवादी सरकारबाट बाहिरिन वाध्य भएपछि दाहाल सरकारले सोमबार विश्वासको मत लिएको हो । कांग्रेसको अवरोधबीच विश्वासको मत लिएका उनले साढे तीन वर्षपछि हुने निर्वाचनमा ०८४ को निर्वाचनमा ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिन भ्याए । उनले एमालेसहित यो समीकरण आगामी निर्वाचनसम्म जाने बताउँदै आएका छन् । एमाले अध्यक्ष ओली वर्तमान सरकार गठन र संचालनमा कुनै ठूलो दाबी नगरी समीकरण दह्रो बनाउने अभियानमा लागेका छन् । आजभोलि ओलीको मुख्य प्रहार कांग्रेस छ ।

आफ्नो सरकारले विश्वासको मत पाएपछि दाहालको नजर सरकारको नीति तथा कार्यक्रम पारित गरी जेठ १५ मा मुलुकको आगामी वर्षको बजेट ल्याउने तयारीमा लागेका छन् । सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री लामिछाने संलग्नतामाथि संसदीय छानबिन समिति बनाउन कांग्रेसले अडान लिइरहेका बेला प्रधानमन्त्री दाहाल भने सहमतिका लागि कांग्रेसनै जिम्मेवार हुनुपर्ने बताएका छन् । आफू निकट नेताहरुसँग भएको कुराकानीमा उनले सरकारले विश्वासको मत दिने बैठकमा कांग्रेसले अवरोध गरी सहमतिको वातावरण बिगारेको बताएका छन् । ‘सरकारले विश्वासको मत लिने सन्दर्भसँग रविजीमाथि छानबिन गर्नेबीच कुनै साइनो छैन’ दाहालको भनाइ थियो, ‘सहकारीमा भएको ठगीमा छानबिनका लागि सहमति नजिक पुगेका बेला कांग्रेसले वातवरण बिगारेको छ । सोमबार कांग्रेसको नाराबाजीबीच विश्वासको मत लिएपछि दाहालले आफ्नो सरकार पुनः सुविधाजनक बहुमतमा भएकाले संविधानको प्रावधान अनुसार बजेट ल्याउने बताएका छन् । कांग्रेसले सहकारी छानबिन समिति बनाउन लचिलो नभए नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सत्तारुढ दलको तयारी भएको स्रोतको भनाइ छ । विश्वासको मत पाएपछि सुविधानजनक बहमुत रहेको पुष्टि भइसकेको छ,’ स्रोतले भन्यो, ‘अब प्रधानमन्त्रीको मुख्य ध्यान बजेट ल्याउन केन्द्रित छ ।’ संसद्‌बाट जसरी पनि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारीमा सत्तारुढ दल छन् । माओवादी सचिब एवम् मुख्य सचेतक हितराज पाण्डेले सरकार संविधानले व्यवस्था गरे अनुसार संसखदबाट बजेट ल्याउने पक्षमा रहेको बताए । प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने दिन कांग्रेसको व्यवहार ठिक भएन,’ उनले भने, ‘सरकार संसद्‌बाट बजेट ल्याउने पक्षमा छ । यसमा प्रमुख प्रतिपक्ष दल जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्छ।’ उनले सहकारीमा भएको ठगीमा समिति बनाउन संवाद जारी रहने बताए । दुई दिन अघि प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने स्थिति आओस् भन्ने आफूले नचाहेको बताएका थिए । शनिबार कान्तिपुरसँग कुराकानी गर्दै दाहालले संसद्को अवरोध हटाउने प्रयत्न गरिरहेको जनाउँदै नीति तथा कार्यक्रम, विश्वासको मत र बजेट प्रस्तुतिको विषयलाई गम्भीरताका साथ लिएको उल्लेख गर्दै बजेट कसरी ल्याउने भन्ने विषय संसद् अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्ष कांग्रेसको हातमा रहेको बताएका थिए । मेरो विचारमा त्यस्तो स्थिति (अध्यादेशमार्फत बजेट ल्याउने) नआओस् भन्ने नै प्रयास भइरहेको छ । अब त्यो स्थितिमा जान दिने या नदिने भन्ने कुरा मुख्यतः कांग्रेसको हातमा देख्छु,’ उनको भनाइ थियो, ‘मैले चाहिँ अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने बिल्कुल चाहेको छैन । साभार : इका 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार