संसद्‌मा बजेटमाथि छलफल, एमालेकै असन्तुष्टि…..

काठमाडौं –    आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि संघीय संसद्‌मा छलफल सुरु भएको छ । आइतबार प्रतिनिधि सभामा ३५ जना सांसदले बजेटमाथि धारणा राखे । बजेटमा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका सांसदहरुको समेत असन्तुष्टि देखिएको छ । अर्थमन्त्री वर्षमान पुनले १५ जेठमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट संसद्‌मा प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको लक्ष्य राखेको छ । राजश्व संकलन, स्रोत व्यवस्थापन र आर्थिक वृद्धिको लक्ष्य आदिमा बजेट सन्तुलित नै देखिएको एमाले सांसदहरुको धारणा छ । पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘राजश्वको लक्ष्य १२ खर्ब ६० अर्ब निर्धारण गर्नुभएको छ । यो लक्ष्य पूरा गर्न सजिलो छैन, तर राज्यका सबै पक्ष जिम्मेवार हुने हो भने सम्भव हुन्छ ।’ तर गठबन्धनमा पर्याप्त सल्लाह नगरेको, केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले हासिल गरेको प्रगतिको चर्चा नगरिएको, एमाले नेतृत्वको सरकारले विगतमा ल्याएका केही कार्यक्रमले निरन्तरता नपाएको र बजेट वक्तव्यमा ‘जनयुद्ध’ शब्द प्रयोग गरिएको भन्दै उनले असन्तुष्टि जनाए । अर्थमन्त्री पुनले १५ जेठमा संसद्‍मा पेश गरेको बजेटको सुरुवातमै गणतन्त्र प्राप्तिपछि नेपालले हासिल गरेको आर्थिक, भौतिक, सामाजिक, मानवीय विकासको प्रगतिको चर्चा गरेका छन् । यसले गणतन्त्रको विरोध गर्नेहरुलाई गतिलो जवाफ दिएको एमाले सांसद गोकुल बास्कोटा बताउँछन् । तर गणतन्त्र प्राप्तपछिका प्रगति सुनाउँदै गर्दा केपी शर्मा ओली नेतृत्वको सरकारले प्राप्त गरेको सफलताको चर्चा नगरेको उनको गुनासो छ । ‘अलिकति अपनत्व लिने कुरामा कञ्जुस्याईं जस्तो देखियो । जस दिने कुरामा पनि त्यस्तो देखियो’, एमाले सांसद बास्कोटाले भने, ‘…२०७४ पछि २०७९ सम्मको अनेक चिजमा, शिक्षामा, स्वास्थ्यमा, भौतिक पूर्वाधारमा, आर्थिक वृद्धिदरमा, पुनर्निर्माणमा, विद्युतीकरण असाधारण छ, तथ्यहरुले त्यही बताउँछ । २०७४ मंसिरको चुनावपछि ओलीले ४१ महिना सरकारको नेतृत्व गरेका थिए । त्यसबेला मन्त्री समेत भएका बास्कोटाले अर्को पल्ट बजेट ल्याउँदा त्यसबेला भएका कामलाई ख्याल गर्न अर्थमन्त्री पुनलाई सुझाव दिए । रेलवेदेखि सबै कुरामा प्रगति देखिन्छ । पर्यटनमा देखिन्छ । अहिले अलिकति ओझेलमा पर्‍यो कि भन्ने लाग्छ’ उनले भने, ‘अब अर्को पल्ट ध्यान दिनुहोला । तत्कालीन ओली सरकारले अगाडि बढाएको सगरमाथा संवाद कार्यक्रमलाई पनि उचित ढंगले सम्बोधन नगरिएको बास्कोटाको गुनासो छ । अहिले बजेटमा सगरमाथा दिवस मात्र भनिएको भन्दै उनले प्रश्न गरे, ‘त्यो कार्यक्रम (सगरमाथा सम्वाद) को उद्देश्य बेठीक थियो र ? मन्त्रालयगत विनियोजनमा समेत प्रश्न उठेको उनले स्मरण गरे । बजेट एकापट्टि ढल्केको जस्तो देखिएको भन्दै एमाले सांसद बास्कोटाले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयमा हेर्दा पनि त्यो देखिन्छ । साभार : अखप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार