काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकता विहीनहरूलाई कार्यविधि संशोधन गरेर भए पनि एक महिनाभित्र नागरिकता दिने बताएका छन् । गृह मन्त्रालयले आयोजना गरेको नागरिकता सम्बन्धी छलफलमा बोल्दै लामिछानेले भने–‘विद्यमान कानुनमा भएको अस्पष्टताका कारण पाउन नसकेकाहरूलाई एक महिनाभित्र कार्यविधि संशोधन गरेर भए पनि नागरिकता दिइन्छ । कानुनले नागरिकता दिन नमिल्नेहरूलाई नागरिकता दिलाउन अझै समय लाग्ने उनले बताए । अनागरिक भएर बाँच्दा कस्तो हुन्छ भन्ने अनुभव आफूसँग रहेको उल्लेख गर्दै उनले भने– ‘त्यसैले म नागरिकता विहीनका विषयमा बढी संवेदनशील छु । नागरिकता प्रदान गर्ने विषयमा कुनै उल्झन र अलमल भए फुकाउनुपर्ने उल्लेख गर्दै उनले भने– ‘राज्यले कानुनी आधार भएका कसैलाई पनि अनागरिक बनाउनुहुँदैन । सञ्चारकर्मी रहँदा नागरिकताबिहीन धेरैको कथा थाहा पाएकाले पनि आफू यस विषयमा थप संवेदनशील रहेको उल्लेख गर्दै उनले भने– ‘मैले जति मानिस रोएको कसैले देखेको छैन । त्यही आँसुको भेलले मलाई राजनीतिमा ल्यायो, अब त्यो आँसु पुछ्न सकिन भने मलाई नै बगाएर लैजाने डर हुन्छ । नागरिकता सम्बन्धी कार्यविधिको परिमार्जनको लागी छलफल आयोजना गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । साभार : रापा












