काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार बाहेक सम्पत्ति शुद्धीकरणको विषयमा समेत अनुसन्धान गर्न थालेको छ । २०८० वैशाखयता अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी कसुरका दुईवटा फाइलमाथि अनुसन्धान थालेको छ । ती फरक दुई व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणको विषयमा समेत आफूले अनुसन्धान थालेको भनेर अख्तियारले विशेष अदालतलाई जानकारी गराएको हो । कुनै व्यक्तिले अपराध गरेर वा कानुन छलेर आर्जन गरेको सम्पत्तिलाई कसुरबाट प्राप्त सम्पत्ति भनिन्छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन, २०६४ ले कसुरबाट प्राप्त सम्पत्ति राख्ने र लुकाउने कामलाई सम्पत्ति शुद्धीकरण मानेको छ । अख्तियारले ९ जेठ २०८१ मा सुरक्षण मुद्रण केन्द्रबाट बर्खास्तमा परेका कार्यकारी निर्देशक विकल पौडेलमाथि ६२ करोड १९ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अभियोग लगाइ विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीमाथि मुद्दा चलाउने निर्णय गर्दा अख्तियारले सम्पत्ति शुद्धीकरण गरेको आरोपमा समेत अनुसन्धान थाल्ने निर्णय गरेको हो । अख्तियारको निर्णय उदृत गर्दै स्रोतले भन्यो, ‘भ्रष्टाचार कसुर सम्पत्ति शुद्धीकरणको सम्बद्ध कसुर रहेको देखिएकाले सुनिल पौडेलउपर सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गतको कसुरतर्फ अनुसन्धान गर्नुपर्ने देखिएको हुँदा छुट्टै अनुसन्धान अधिकृत तोकी अनुसन्धान गर्ने गरी आयोगबाट निर्णय भएको छ । त्यसको ठिक एक महिनाअघि ९ वैशाख २०८१ मा अख्तियारले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अभियोग लगाइ विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सुनिलको हकमा पनि अख्तियारले सम्पत्ति शुद्धीकरणको विषयमा समेत अनुसन्धान गर्ने भनी निर्णय गरिसकेको थियो । संघीय संसद्ले दुई महिनाअघि सम्पत्ति शुद्धीकरणको विषय जोडिएका केही नेपाल कानुन संशोधन गरेको थियो । नेपाल राजपत्रमा प्रमाणीकरण भएको ऐन प्रकाशित भएपछि अख्तियारले यस्तो अभ्यास थालेको हो । नेपालको संविधानको धारा २३९ मा भएको व्यवस्था हेर्ने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेमा कानुन बमोजिम अनुसन्धान गर्ने’ अधिकार छ । संविधानले अख्तियारलाई भ्रष्टाचार बाहेकका अरू कसुरका विषयमा अनुसन्धान गर्ने अधिकार दिएको छैन । अख्तियारले गरेको निर्णयमा संशोधित सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अधिकृत तोकेको उल्लेख छ । उक्त ऐनको दफा १५ मा कुनै कसुरमा अनुसन्धानमा परेको व्यक्तिले सम्पत्ति शुद्धीकरणसमेत गरेमा त्यही निकायले समेत अपराध गरेर सम्पत्ति जोडेको (सम्पत्ति शुद्धीकरण) मा अनुसन्धान गर्न पाउने उल्लेख छ । अख्तियारले विशेष अदालतमा पेस गरेको निर्णयको प्रतिलिपिमा संशोधित ऐनको दफा २९ उदृत गर्दै सम्पत्ति शुद्धीकरणको छानबिनका लागि अनुसन्धान अधिकृत तोकेको उल्लेख छ । जसमा सम्पत्तिमाथिको अनुसन्धानमा सम्बन्धित अपराध वा सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधमध्ये कुनै एक वा दुवैमा मुद्दा चलाउन बाधा नहुने उल्लेख छ । सम्पत्ति शुद्धीकरण निवारण ऐनको अनुसूचीमा भ्रष्टाचार र घुससम्बन्धी कसुरसमेत सम्पत्ति शुद्धीकरणको विषय हुने उल्लेख छ । ऐनले भ्रष्टाचार वा घुसखोरीबाट कमाएको आर्जनलाई सम्पत्ति शुद्धीकरणको सम्बद्ध कसुर मानेको छ । साभार : अखप












