काठमाडौं- अछाम र दैलेख जोड्न कर्णाली नदीमाथि बनेको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चडको करिब ७ घण्टापछि जीवितै उद्धार गरिएको छ । २ वटा खच्चड भने मरेका छन् । उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकका अनुसार एउटा खच्चड पुलमै मृत फेला परेको थियो भने एउटा खच्चडको कर्णाली नदीमा बगेर मृत्यु भएको हो । मरेका दुईवटै खच्चड व्यवसायी जीवन रोका मगरका हुन् । १४ वर्षदेखि खच्चड व्यवसाय गर्दै आएका राजेन्द्र बोहराको ५ वटा खच्चडको उद्धार त भयो, तर घाइते भएर हिँड्नै नसक्ने अवस्थामा छन् । ‘७ वटा खच्चडमध्ये २ वटा पुल नपुग्दै फर्किए’, उनले भने, ‘पुलमा अड्किएका खच्चडलाई उद्दार गर्ने क्रमा नदीमा झारिएका कारण हिँड्नै नसक्ने छन्, बाँचेर पनि मरेका जस्तै भए । उनका अनुसार यही पुलबाटै दर्जनौं पटक खच्चडहरु ओहोरदोहोर गरेका छन् । ‘यही पुलबाटै एकैचोटि २०/२२ वटा खच्चड लोड बोकेर हिँडाएका छौं, त्यतिबेला केही भएन’, उनले भने, ‘हामी हिँड्ने बाटो नै यही हो । बोहराका अनुसार गाउँमा यातायातका साधन नपुगेकाले खच्चडलाई ढुवानीमा प्रयोग गर्ने गरिएको छ । एउटै खच्चडलाई ९० हजार रुपैयाँ भन्दा बढी पर्छ । भन्छन्, ‘हामीले गरिखाने भनेको यही खच्चड डोर्याएर हो ।
झोलुंगे पुलमा कसरी फसे खच्चड ?
दैलेखको आठबीस नगरपालिका–४ का वडाध्यक्ष टेकबहादुर माझीका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने गरी उक्त पुल २०६५ सालमा बनेको हो । उनका अनुसार नजिकै अन्य पुल नभएकाले पनि दैलेख र अछामका स्थानीय जोड्ने मात्रै नभएर प्रमुख व्यापारिक सेत नै त्यही हो । वरिपरि अर्को नजिकै पुल छैन । त्योभन्दा अलि तल अर्को झोलुंगे पुल बनिरहेको छ, पूरा भइसकेको छैन’, वडाध्यक्ष माझी भन्छन्, ‘हाम्रो ठाउँको प्रमुख नै यही एउटा पुल हो भन्दा पनि हुन्छ । स्थानीय भरत साउदका अनुसार पुलको लाभ सबभन्दा बढी विद्यार्थीहरुले लिँदै आएका छन् । ‘पुलको दुवैतिर स्कुल छ । यता (अछामतर्फ) का विद्यार्थी उता (दैलेखतर्फ) जान्छन्, उताका विद्यार्थी यता आउँछन्’, उनले अनलाइनखबरसँग भने, ‘अर्को पुल त २०/२२ किलोमिटर टाढा छ । त्यही पुलमा वर्षौंदेखि नै परम्परागत ढुवानीका लागि खच्चड, घोडा पनि हिँड्दै आएका थिए । आइतबार बिहान पनि ३ जना व्यापारीका १३ वटा घोडा त्यही पुल हुँदै अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबीस नगरपालिकामा सामान ओसार्न आउँदै थिए । त्यहीबेला झोलुंगे पुलको एकतर्फको लट्ठा चुँडिन पुग्यो र एकएक गर्दै त्यहाँ खच्चडहरु लड्न पुगे । ‘त्यो पुल मान्छे हिँड्नेबेला नै हल्लिन्थ्यो । झन् धेरै खच्चड एकैचोटि हिँड्दा हल्लिएर नै चिप्लिएको देखिन्छ’, वडाध्यक्ष माझीले भने, ‘पुल बनाउनेले नै गल्ती गरेको हो । जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख अधिकारी गणेशप्रसाद कोइरालाका अनुसार एकै पटक धेरै खच्चडलाई पुलमा चढाएर दौडाएका कारण दुर्घटना घटेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पहिलेपहिले मान्छे मात्रै हिँड्न बनाएको पुलमा एकैचोटि धेरै खच्चड हिँड्दा भार परेको देखियो’, कोइरालाले अनलाइनखबरसँग भने, ‘त्यसमाथि खच्चडवालाहरुले पुलमा दौडाएका रहेछन् । पुल बनेको २ दशकमै लट्ठा चुँडिएर दुर्घटना भएपछि आफूहरुले त्यसबारे पनि खोजी गरिरहेको कोइरालाले सुनाए । ‘अहिलेसम्म हामीलाई पुलबारे जानकारी आएको छैन । कसले बनाएको ? कहिले बनाएको खोज्दैछौं । कतिसम्मको भार उपयुक्त, अनुपयुक्त जानकारी लिनेछौं’, उनले भने । दैलेखतर्फ सामान लिन आएका खच्चडबिना भारी भएकाले ठूलो क्षति हुन नपाएको उनले बताए ।
कसरी गरियो उद्धार ?
कर्णालीमाथि बनेको झोलुंगे पुलको लट्ठा चुँडिएर खच्चड फसेको खबर ढिलो गरी सुरक्षा निकायलाई पुगेको थियो । खच्चर उद्धारका लागि दुवै जिल्लाका सुरक्षा तथा उद्धार टोली खटिएका थिए । तर यस्तो प्रकृतिको उद्धार उनीहरुका लागि नौलो थियो । ‘हामीले बेलाबेलामा विभिन्न ट्रेनिङ ल्याइराख्छौं । तर यस्तो खाले ट्रेनिङ ल्याएका थिएनौं’, जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी पाठकले भने, ‘सुरुमा त एकछिन के गर्ने भन्ने भयो । जोखिमयुक्त भएकाले सबै खच्चडलाई माथि तान्न सम्भव थिएन । त्यसैले फसेका सबै खच्चडलाई जसरी हुन्छ कर्णालीमा झार्ने र डुंगाको सहायतामा उद्धार गर्ने निष्कर्षमा सुरक्षा अधिकारीहरु पुगे । ‘सल्लाह गर्दा सबैलाई तल झारौं भन्ने भएपछि त्यहीअनुसार गर्यौं’, पाठकले भने । डोरीको सहायतामा खच्चडहरु अल्झिएका तार काटेर एकएक गर्दै खच्चड कर्णालीमा झारिएको थियो । तल कर्णाली नदीमा डुंगा र उद्धार टोली तैनाथ थिए । सबै खच्चड नदीमा झार्नमात्रै करिब साढे २ घण्टा लागेको डीएसपी पाठकले जानकारी दिए । ‘एउटा खच्चड पानीमा पौडिन सकेन, बगेर मर्यो’, उनले भने, ‘एउटा माथि नै मरिसकेको थियो । खच्चडको उद्धारपछि झोलुंगे पुलमा आवातजावत बन्द गरिएको छ । त्यसको मारमा भने विद्यार्थी परेका छन् । अब उनीहरुले कर्णालीमा चलाइएको डुंगाबाट जोखिमयुक्त यात्रा गर्नुपर्नेछ । ‘विद्यार्थीलाई जोखिम त बढ्यो, तर सकेसम्म छिटो बनाउने गरी दुवैतर्फका पालिकासँग समन्वय गरिराखेका छौं’, डीएसपी पाठकले भने । आठबीस नगरपालिका–४ का वडाध्यक्ष टेकबहादुर माझी डुंगा पनि साना आकारका भएकाले बर्षात्को बेला झनै जोखिम छ । ‘कतिबेला नदी बढ्छ, थाहै हुन्न’, उनले भने । दुवै किनारको दूरी करिब ७५ मिटरमात्रै भएकाले त्यहाँ पक्की पुल आवश्यक रहेको उनी बताउँछन् । साभार : अखप