काठमाडौं – शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६३ अर्ब १७ करोड रुपैयाँ पूँजीगत (विकास) बजेट पाएको छ । यो बजेटको ठूलो हिस्सा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र शहरी विकास मन्त्री धनबहादुर बुढाको निर्वाचन क्षेत्र र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा विनियोजन भएको पाइएको छ । आयोजनाको प्राथमिकीकरण नगरी गोरखा, रोल्पा, डोल्पा, झापालगायत जिल्ला र निर्वाचन क्षेत्रमा शहरी विकास आयोजनाको बजेट खन्याइएको छ । विगतका वर्षमा राजधानी काठमाडौं, प्रधानमन्त्री प्रचण्डको गृह जिल्ला चितवन र पूर्व प्रधानमन्त्री ओलीको गृह जिल्ला झापा शहरी विकास मन्त्रालयबाट धेरै बजेट पाउने सूचीमा अगाडि थिए । चालु र क्रमागत आयोजनाको बजेट पनि यी जिल्लामा बढी जाने गरेका थिए । धेरैवटा निर्वाचन क्षेत्र भएको र संघीय सरकारमा प्रभाव राख्ने धेरै नेताहरु हुँदा मोरङ, रुपन्देही, धनुषा लगायतका जिल्लाले पनि शहरी विकासबाट बढी बजेट पाउने गरेकै थिए । आगामी आर्थिक वर्षका लागि झापामा शहरी विकास मन्त्रालयबाट करिब २२१ वटा कार्यक्रमका लागि झण्डै ३ अर्ब रुपैयाँभन्दा बढी बजेट गएको छ । शहरी शासकीय क्षमता विकास कार्यक्रममार्फत दमक नगरपालिकाले ३२ करोड ३२ लाख, बिर्तामोड नगरपालिकाले २८ करोड २६ लाख र मेचीनगर नगरपालिकाले ७० करोड रुपैयाँ शहरी अनुदान पाएका छन् । त्यसबाहेक धेरै निर्वाचन क्षेत्र समेत रहेको र सभामुख देवराज घिमिरे, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौला, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन समेत झापाबाट नै निर्वाचित भएकाले उनीहरुको रोजाइका योजनाहरु पनि समेटिंदा झापामा शहरी विकासको ठूलो बजेट जाने गरेको छ । यसपटक भने रोल्पा, डोल्पा र गोरखामा सहरी विकास मन्त्रालयबाट थुप्रै बजेट र कार्यक्रम पुगेका छन् । शहरी विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रमअनुसार आगामी वर्षको पूँजीगत बजेटमध्ये करिब २ अर्ब २३ करोड रुपैयाँ अर्थमन्त्री पुनको गृह जिल्ला रोल्पाका १५२ वटा योजनामा विनियोजन गरिएको छ । शहरी विकासको बजेट पाउने जिल्लामा रोल्पापछि डोल्पा रहेको छ । डोल्पा शहरी विकास मन्त्री धनबहादुर बुढाको गृह जिल्ला हो । यो वर्ष डोल्पाले शहरी विकास मन्त्रालयबाट मात्रै करिब १ अर्ब ७० करोड बजेट पाएको छ । आफू निर्वाचित भएर आएको डोल्पामा मन्त्री बुढाले यो वर्ष आफ्नो मन्त्रालयबाट करिब २०८ वटा कार्यक्रम हालेका छन् । डोल्पाभन्दा पछाडि गोरखा जिल्ला छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको गोरखामा शहरी विकासका करिब १२० कार्यक्रम परेका छन् । यी कार्यक्रमका लागि शहरी विकास मन्त्रालयबाट १ अर्ब २५ करोड रुपैयाँ विनियोजन भएको छ ।
यो वर्ष अर्थमन्त्री वर्षमान पुनले माओवादी पकड भएका क्षेत्रमा संघीय सरकारबाट धेरै बजेट पु¥याउन शहरी विकास मन्त्रालयलाई उपयोग गर्ने रणनीति बनाएका थिए । त्यसैअनुसार कर्णाली प्रदेशबाट संघीय मन्त्री बनेका बुढालाई विश्वासमा लिएर माओवादी नेताहरुले कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्ला, लुम्बिनीको पश्चिम रुकुम, अर्घाखाँची लगायतका जिल्लामा धेरै बजेट लगेका छन् । अर्थमन्त्री पुनको गृह जिल्ला रोल्पामा यो वर्ष शहरी विकास मन्त्रालयबाट ३ करोडदेखि साढे १३ करोडसम्मका कार्यक्रमहरु राखिएका छन् । आगामी वर्षका लागि रोल्पाको लिबाङ नगरपालिकामा एकीकृत शहरी विकास कार्यक्रमका लागि ११ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यस अन्तर्गत लिबाङमा सडक स्तरोन्नतिदेखि नाला र मैदान निर्माणसम्मको कामहरु गर्ने उल्लेख छ । रोल्पा नगरपालिकामा एकीकृत शहरी विकास कार्यक्रम सञ्चालन गर्न ३ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय सडक स्तरोन्नति, विद्यालय भवन, वृद्धाश्रम भवन, शहीद स्मृति पार्क तथा सभा हल निर्माण लगायतका विभिन्न पूर्वाधार निर्माण गर्न भन्दै करिब ३ दर्जनभन्दा बढी कार्यक्रममा १ करोडका दरले बजेट छुट्याइएको छ । रोल्पाको मिझिङ–धुओडार–निम्जा–सिर्पपाङसहितका विभिन्न सडकखण्डहरु स्तरोन्नति र पहिरो नियन्त्रण गर्न १२ करोड रुपैयाँ विनियोजन भएको छ । रोल्पामा करिब डेढ दर्जन वटा झोलुंगे पुलका लागि १ करोड ७० लाखदेखि ८५ लाख रुपैयाँसम्म विनियोजन पनि गरिएको छ । एक दर्जनभन्दा बढी पक्की पुल बनाउन १ करोड ७० लाखका दरले कार्यक्रम राखिएको छ भने ती भन्दा साना थुप्रै पुलहरुका लागि ५० देखि ८५ लाख रुपैयाँसम्मका योजना पारिएका छन् । रोल्पाको रिजी–दुम्ला–नेर्पा सडक कालोपत्रे गर्न १३ करोड रुपैयाँ र सुलिचौर–गाम सडक कालोपत्रे गर्न ८ करोड ५० लाख रुपैयाँ बजेट राखिएको छ । रिसबान–लिवान सडकका लागि २ करोड ५५ लाख, सुलिचौर–फागाम–धुम्सी सडकमा ४ करोड २५ लाख र माडीचौर रिङरोडका लागि ३ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । कपुरबोट–निगालपानी–कोइला–झेयम सडक स्तरोन्नति गर्न ८ करोड ५० लाख, तेबाङ–राज्यापोखरी–लिस्ने सडकका लागि ४ करोड २५ लाख, शहीद लार्केमान पुर्खे सडकका लागि १ करोड ७० लाख र सालघारी–जेलबाङ सडक निर्माण गर्न २ करोड ५५ लाख रुपैयाँ बजेट राखिएको छ । सुलिचौर–फागाम–जेलबाङ–ओखरेनी–मिरुल सडकका लागि ४ करोड २५ लाख र निसी–बाग्लुङ तथा जुतुङखोला मैरामारे सडक स्तरोन्नति गर्न दुबैमा २ करोड ५५ लाख रुपैयाँका दरले बजेट छुट्याइएको छ । किमीचौर–घेडागाउँ–भलबाङ–माडीचौर सडकलाई ७ करोड २३ लाख, लिबाङ–धाबाङ–जलजला सडक स्तरोन्नति गर्न ४ करोड २५ लाख, घर्तीखोला–झिनु–जुगार सडकलाई ३ करोड ६१ लाख, होलेरी–बिजौरी दाङ सडकका लागि पनि ३ करोड ६१ लाख नै बजेट विनियोजन भएको छ । सुलिचौर–गजुल–लिबाङ र माडीचौर–जंकोट–कुरेली–चुनबाङ सडकका लागि समेत ३ करोड ६१ लाख रुपैयाँ बजेट राखिएको छ । लिबाङ–सल्लीकोट–कोछाप–उघा–धौलाबाङ–राम्छे–दुईखोली सडक स्तरोन्नति गर्न ७ करोड २३ लाख छुट्याइएको छ । साभार : अखप












