काठमाडौं – शनिबार सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका छन् । बजेट विनियोजन र कार्यान्वयनमा प्रभावकारी दक्षता देखाउन नसकेका सबैजसो प्रदेशले चालु आर्थिक वर्षमा खर्च नहुने मौज्दातको ठूलो हिस्सालाई नै आगामी आर्थिक वर्षको बजेटको प्रमुख स्रोत बनाएका छन् । संघीय सरकारले अनुदानमा मुठी कस्नु र प्रदेशले आन्तरिक आम्दानी बढाउन नसक्नुका कारण बागमती र सुदूरपश्चिमबाहेक कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली गरी ५ प्रदेशको बजेटको आकार घटेको छ । गत १५ जेठमा संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा प्रदेशहरुमा जाने बजेट घटाइएको थियो । प्रदेशहरुले अमूर्त विषय समेटेर बजेटलाई लोकप्रियतावादी बनाउन कोशिस गरेका छन् । चालु आर्थिक वर्षको वैशाख मशान्तसम्म अधिकांश प्रदेशले कुल बजेटको मुश्किलले ५० प्रतिशत मात्र खर्च गरेका छन् । प्रदेशहरुले खर्च गर्ने क्षमता सुधारमा खासै ध्यान नदिएका कारण यो समस्या आगामी आर्थिक वर्षमा पनि दोहोरिने सम्भावना छ ।
कोशीमा डेढ अर्बले घट्यो बजेट:
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा भन्दा करिब डेढ अर्ब रुपैयाँले बजेटको आकार घटाएको छ । हाल ३६ अर्ब ७४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको उसले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख, पूँजीगत तर्फ १४ अर्ब ४७ करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री रामबहादुर मगरले जानकारी गराए । कृषिको उत्पादकत्व वृद्धि, भौतिक पूवार्धार निर्माण तथा शिक्षा र स्वास्थ्यमा प्राथमिकता दिएको उनले बताए ।
बजेटका विशेषता:
कोशीले प्रदेशलाई धानको बिउको स्रोत केन्द्र बनाउने घोषणा गरेको छ । कृषकलाई प्रांगारिक मलको प्रयोगमा प्रोत्साहित गर्ने, नेपाली चियाको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गर्ने, स्टार्टअप उद्यमलाई ब्याज अनुदान दिने प्रदेश सरकारको घोषणा छ । त्यस्तै रैथाने वस्तु प्रवर्द्धनका लागि समेत प्रदेशले बजेट छुट्याएको छ । पूर्वाधारतर्फ प्रदेशले सडक विस्तार र स्तरोन्नतिमा ठूलो बजेट राखेको छ । स्रोत सुनिश्चित भएका बहुवर्षीय आयोजना सम्पन्न गर्ने, विराटनगर विमानस्थलाई अन्तर्राष्ट्रियस्तरको बनाउने, विद्युतीय सवारी साधन प्रवर्द्धन र चार्जिङ स्टेशन निर्माणका लागि पनि बजेट छुट्याइएको छ । दुई वर्षभित्र प्रदेशका सबै घरमा बिजुली पुर्याउने घोषणासमेत गरिएको छ ।
कोशीको बजेट आकार : ३५ अर्ब २७ करोड
चालुखर्च : १४ अर्ब ४७ करोड
पुँजीगत खर्च : १६ अर्ब २० करोड
वित्तीय हस्तान्तरण : ४ अर्ब ५८ करोड
बजेटको स्रोत:
आन्तरिक राजस्व : ४ अर्ब ९८ करोड
राजस्व बाँडफाँटबाट प्राप्त : १२ अर्ब ४० करोड
संघीय सरकारले दिने अनुदान : १४ अर्ब ५३ करोड
चालु आर्थिक वर्षको मौज्दात : ३ अर्ब २५ करोड
मधेशको प्राथमिकतामा कृषि:
४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको मधेश सरकारले चालुतर्फ १६ अर्ब ७ लाख र पूँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख विनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा करिब २० करोड कम हो । हाल मधेश सरकारले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । अर्थमन्त्री भरतप्रसाद साहले निर्वाहमुखीबाट व्यवसायिक खेती प्रणालीमा रुपान्तरण गर्ने लक्ष्यसहित बजेट ल्याएको बताए । साभार : अखप












