काठमाडौं – बजेट आएको तीन साता भइसक्दा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रातो किताब सार्वजनिक गरेको छैन । सामान्यतः बजेट आएलगत्तै मन्त्रालयहरुले वार्षिक विकास कार्यक्रम (रातो किताब) सार्वजनिक गर्ने गर्छन्, ताकि कहाँ कति बजेट पर्यो भनेर सहजै थाहा होस् । संसदमा समेत त्यसकै आधारमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने प्रचलन छ । तर भौतिक पूर्वाधार मन्त्रालयले लामो समय वार्षिक विकास कार्यक्रम किन सार्वजनिक गरेन ? यसको जवाफ रातो किताबभित्रका कार्यक्रम, योजना र विनियोजित बजेटले नै दिन्छन् । अनलाइनखबरले प्राप्त गरेको मन्त्रालयको वार्षिक विकास कार्यक्रमअनुसार भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले आगामी आर्थिक वर्ष २०८१/०८२ मा भौतिक पूर्वाधारका धेरै साना आयोजना आफ्नो गृहजिल्ला धनुषामा केन्द्रित गरेका छन् । धनुषा-४बाट निर्वाचित सांसद समेत रहेका मन्त्री महासेठले ‘आफ्नै हात, जगन्नाथ’को शैलीमा आफ्नो गृहजिल्लालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको पाइएको हो । भौतिक पूर्वाधार मन्त्रालय मातहतको सडक विभागले राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग निर्माण, विस्तार र स्तरोन्नति तथा मर्मतका लागि नियमित बजेट पाउने गरेको छ । विभागले कार्यान्वयन गर्ने वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम, स्थानीय सडक पुल कार्यक्रम र रणनीतिक सडक पुल निर्माण तथा पुलेसा संरक्षण कार्यक्रम र निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा गाउँ–टोलसम्म सडक, पुल र कल्भर्ट निर्माण गर्ने गरिन्छ । मन्त्री महासेठले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम, स्थानीय सडक पुल कार्यक्रम र रणनीतिक सडक पुल निर्माण तथा पुलेसा संरक्षण कार्यक्रमबाट धनुषामा स्थानीय सडक, पुल र पुलेसामा आफूखुशी बजेट राखेका छन् । नियमित रुपमा रातो कितावमा परेर जानेबाहेक करिब १ अर्ब ५० करोड रुपैयाँको बजेट धनुषा र मन्त्रीको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर विनियोजन भएको देखिन्छ । मन्त्री महासेठले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका २ हजार ८२० आयोजनामध्ये ५५ भन्दा बढी गृहजिल्ला धनुषामै राखेका छन् । यस्ता आयोजनामा ८५ करोडभन्दा बढी बजेट छुट्याइएको छ । १ करोडका मात्रै ३४ आयोजना छन्, १ करोड ७१ लाख दरले १३ वटा आयोजनामा बजेट राखिएको छ । १ करोड ६२ लाखका दरले ५ वटा आयोजनाले पैसा पाएका छन् । यो कार्यक्रममा पूर्व–पश्चिम राजमार्गबाट हहिरपुरदेखि चन्द्रपुसम्मको सडक आयोजनाका लागि ४ करोड ३१ लाख बजेट विनियोजन भएको छ । बटेश्वरबाट लवकुश हुँदै वडा कार्यालयसम्म जाने आयोजनाले २ करोड ६९ लाख रुपैयाँ बजेट पाएको छ । शान्तिपुरबाट बरदुरिया हुँदै ठाकुरटोल पुग्ने सडकका लागि २ करोड १५ लाख बजेट राखिएको छ । जनकपुर उपमहानगरपालिका चक्रपथका ११ करोड ३१ लाख रुपैयाँ बजेट पनि कार्यक्रम अन्तर्गत खर्च गरिनेछ ।
वार्षिक कार्यक्रमको एक अंश:
स्थानीय सडक पुल कार्यक्रमका कुल ६५५ मध्ये ५६ वटा सडक पुल/पुलेसा धनुषामा निर्माण गर्न बजेट राखिएको छ । यसका लागि ३५ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । धनुषामा ५ लाखदेखि १ करोड ८० लाखसम्मका साना पुलहरुका लागि बजेट विनियोजन भएको देखिन्छ । १६ वटा आयोजना एक करोडभन्दा माथिका छन् । रणनीतिक सडक पुल निर्माण तथा पुलेसा संरक्षण कार्यक्रमका २० वटा योजनामा लागि १८ करोड ६० लाख रुपैयाँ बजेट धनुषामै केन्द्रित गरिएको छ । मन्त्री महासेठले रणनीतिक सडक पुलको सम्भाव्यता अध्ययन गर्न भन्दै धनुषाका ९ वटा पुललाई अध्ययनका लागि योजनाभित्र समेटेका छन् । योजना कुन जिल्लामा कार्यान्वयन हुन्छन् भन्ने समेत हटाएर वार्षिक कार्यक्रम तयार गरिएको छ । आफू र पहुँचवाला नेताको जिल्लामा बजेट छरेको आरोप लाग्ने देखेपछि कार्यक्रम कार्यान्वयन हुने जिल्ला समेत उल्लेख नगरी रातो किताब तयार गरिएको छ ।
कार्यान्वयन हुने जिल्ला उल्लेख नभएको रातो कितावको अंश:
मन्त्री महासेठको गृह जिल्ला धनुषा यसअघिदेखि नै सडक विभागको प्राथमिकतामा नै थियो । धुनषामा हुलाकी सडकसहित विभिन्न राजमार्ग तथा सहायक राजमार्गसहितका थुप्रै आयोजनाहरुले नियमित बजेट पाउँदै आएका छन् । निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजना अन्तरगत पनि धनुषामा निवोचन क्षेत्रहरु समेट्ने विभिन्न सडक खण्डले बजेट पाउने गरेका छन् । नियमित रुपमा जाने राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापना कार्यक्रमबाट पनि धनुषाका विभिन्न सहायक राजमार्गका खण्डहरुमा बजेट राख्ने गरिएको छ । सबै कार्यक्रम र बजेटले यो पटक पनि निरन्तरता पाएका छन् । साभार : अखप