काठमाडौं- चार महिनाअघि गायन रियालिटी शो नेपाल आइडल सिजन ५ का लागि देशव्यापी अडिसन भइरहेको थियो । सातै प्रदेशका प्रमुख सहरमा अडिसन सकिएर संघीय राजधानीमा अडिसन हुँदैथ्यो । यस्तोमा एक २०-२२ वर्षीय युवक जजहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा सामुन्ने अडिसन दिन उपस्थित भए । सामान्य कपडा, गोडामा चप्पल, हातमा पञ्जा लगाएका दुब्लो पातलो कदका ती युवकले गाए- शिव परियारको स्वरमा रहेको फिल्म ‘ब्याच नम्बर १६’ को गीत ‘संगी’ । उनको गायकी यस्तो थियो कि जजहरु नै मन्त्रमुग्ध बने । स्पष्ट र सुरिलो आवाज, खोट लगाउने कतै ठाउँ थिएन । उनी थिए बर्दियाको बारबर्दिया नगरपालिकाका करण परियार । गीत सकिएपछि जज न्ह्यूले सोधे- ‘तिमी संगीत सिक्ने बाहेक के गर्छौ ?’उनले भने- ‘काम गर्छु, कार्पेट फर्निसिङमा डेलिभरी ब्वाइको । न्ह्यूले फेरि भने- ‘तिमी गिफ्टेड मान्छे हौ । यदि भगवान छन् भने तिमीलाई भगवानले नै संगीत हालेर पठाइदिएको हो ।’ जज इन्दिराले थपिन्- ‘रेडिमेड जस्तो टक्क मिलेको आवाज । न्ह्यूले फेरि सोधे- ‘यस्तो राम्रो आवाज भएको मान्छेलाई कसैले गीत रेकर्डिङ गर्न बोलाएन ? उनको निर्दोषपन यस्त थियो कि जजहरुले भनेको कुराको सिधा र सरल जवाफ दिन्थे । न्ह्यूले ‘अब तिमीलाई सुनेपछि धेरैले गीत रेकर्डिङको अफर गर्नेछन्’ भने । उनको गायकी सुनेर जजहरुले एकपछि अर्को गीत सुनाउन लगाए । उनले निर्धक्क अन्य गीतहरु पनि गाएर सुनाए । जजहरुले सेलेक्ट भएको कार्ड दिन आफूहरुतिर उनलाई बोलाए । जज इन्दिराले भनिन्- अहिलेसम्म कहाँ लुकेर बसेका थियौ मेरो राजा । अर्का जज कालीप्रसादले भने- ‘कार्ड दिनुअघि म तिमीलाई अँगालो हाल्छु । तर उनले कार्ड मात्र होइन, गोल्डेन माइक नै पो पाए । गोल्डेन माइक पाउने प्रतिस्पर्धी सिधै अर्को राउन्डमा पुग्न पाउँथे । करणले अडिसनमा गाएको भिडियो प्रसारण भएसँगै यो सामाजिक सञ्जालमा भाइरल भयो । गायक शिव परियारले ‘करण भाइलाई देख्दा मेरै संघर्षको बेलाको याद आयो’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरे । अन्य थुप्रै कलाकार र संगीतप्रेमीहरु करणको प्रशंसा गर्दै भिडियो सेयर गरे । यसरी बर्दियाको एक ‘इनोसेन्ट’ युवक नेपाल आइडलमा आएसँगै रातारात चर्चित बने । धेरैले त्यतिबेलै भने- ‘नेपाल आइडल यिनैले जित्छन् होला । नभन्दै शनिबार सम्पन्न नेपाल आइडल सिजन ५ को ग्रान्ड फिनालेमा अरु तीन जना फाइनलिस्ट सचिन विश्वकर्मा, मोहित भुजेल र सलोमी गुरुङलाई दर्शकको भोटको आधारमा पछि पार्दै उनी विजेता चुनिए । विजेता घोषित भएसँगै उनलाई बधाई दिनेहरुको लर्को छ । यस सिजनमा सलोमी फर्स्ट रनरअप, सचिन सेकेन्ड रनरअप र मोहित थर्ड रनरअप भए । साभार : अखप












