काठमाडौं – प्रहरीले हाई–प्रोफाइल व्यक्तिहरू मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल एकवर्षपछि फेरी खोलेको छ। जिल्ला प्रहरी परीसर काठमाडौंले दुईजना फरार अभियुक्त पक्राउ गरेर एकवर्षपछि दोस्रोपटक फाइल खोलेको हो। पक्राउ पर्नेमध्ये एक पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक छन्। प्रतीक बुबा गृहमन्त्री हुँदा स्वकीय सचिव थिए। अघिल्लो पटककै अनुसन्धानमा प्रहरीले उनको संलग्नता पाएको थियो। उक्त कुराको समाचार बाहिरिएपछि अनुसन्धानलाई सघाउन आफू तयार रहेको भन्दै विज्ञप्ति समेत निकालेका थिए। जब प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लियो। त्यसपछि भने उनी फरार भए।
यस दौरानमा उनी नेपाल र भारत ओहोर–दोहोर गरिरहेको प्रहरी स्रोतले बतायो। शुक्रबार उनी बौद्धमा रहेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो। प्रतीकलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेस गर्ने काठमाडौं प्रहरीको तयारी छ। उहाँविरुद्ध पहिले नै अनुसन्धानमा धेरै कुरा खुलिसकेको छ। अभियोजन पनि भइसकेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त रजौरेले भने, ‘अदालतको आदेशअनुसार थप प्रक्रिया अगाडि बढ्छ। पक्राउ पर्ने अर्का व्यक्ति बेचन झा हुन्। उनलाई पश्चिमी सीमाना कञ्चनपुरबाट पक्राउ गरेको प्रहरी स्रोत बताउँछ। उनी यो प्रकरणमा देखिएका एक शंकास्पद् पात्र रहेको प्रहरीस्रोत बताउँछ। झाले गिरोहका एकजना सदस्य रामशरण केसीसँग दुई करोडको चेक लिएको पाइएको छ। केसीले मुख्य योजनाकार सानु भण्डारीले भनेअनुसार हिमालयन बैंकको चेक झालाई प्रहरीसँगको बयानमा भनेका छन्।
उक्त रकम झाले शरणार्थी प्रकरणमा मन्त्रिपरिषद्बाट ‘आवश्यक निर्णय गराउन’ भनेर बुझेको अनुसन्धान अधिकारीहरूले बताउने गरेका छन्। उक्त कुरा मुख्य योजनाकार सानु भण्डारीले नै भनेका छन्। अघिल्लो अनुसन्धान झाको त्यसभन्दा बढी पहिचान खुलेको थिएन। उनको ठेगानासमेत स्पष्ट हुननसक्दा प्रहरीले अदालतसमक्ष सोही व्यहोरा राखेको थियो। जिल्ला अदालत, काठमाडौंले उनी पक्राउ परेका बखत थप अनुसन्धान गर्न प्रहरीलाई सहमति दिएको थियो। यसपटक झा पक्राउ परेसँगै आइतबार उनलाई अनुसन्धानका लागि म्याद लिने प्रहरीको तयारी छ।
नयाँ नेक्सस खुल्ला ?:
प्रतीक र बेचन पक्राउ परेपछि शरणार्थी प्रकरणमा थप ‘हाई–प्रोफाइल’ को संलग्नता खुल्ने आशा प्रहरीलाई छ। ‘उनीहरूलाई पक्राउ गर्नुपर्ने पर्याप्त आधार प्रहरीसँग छ। त्यही भएकाले नै अदालतले पक्राउ पुर्जी दिएको हो,’ प्रहरी प्रधान कार्यालयका एकजना वरिष्ठ अधिकृतले भने,‘थप उहाँहरूको सम्बन्ध, विगतको पोजिसन र यो प्रकरणमा खेलेको भूमिका केही अगाडिसम्म लैजानसक्ने पर्याप्त
सम्भावना देखिन्छ नै। पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकले शरणार्थी प्रकरणमा संलग्नताको पर्याप्त प्रमाण नै नरहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताउने गरेका छन्। सोही प्रकरणमा ठगिएका एक पीडितले गरेको जाहेरीमा नै मुख्य योजनाकार केशवप्रसाद दुलालसँग प्रतीक एक रेष्टुरेन्टमा बसेको अवस्थामा भेटिएका थिए। नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा भएको छलफलमा प्रतीकले ‘काम अगाडि बढ्छ, पैसा जम्मा गर्नुस् भनेर’ समेत भनेको जाहेरीमा उल्लेख छ। थापाले भनेअनुसार नै पैसा दिएको जाहेरीमा उल्लेख छ। साभार : नादप












