नेपालगन्ज- भारतसँग जोडिएको पश्चिम नेपालको अति व्यस्त रहने नेपालगन्ज नाकाबाट सहजै रुपमा सामान तस्करी हुने गरेको छ। तस्करहरूले भन्सार कर्मचारी, सुरक्षाकर्मी लगायतलाई प्रभावमा पारेर ठुलो परिमाणको सामान तस्करी गर्ने गरेका हुन्। भारतबाट त्यसरी अवैध रुपमा भित्रिने सामानले नेपालगन्ज, कोहलपुर लगायत बजारमा ‘वैधता’ पाउने गरेको छ। ती सामान व्यापारीमार्फत उपभोक्ताको हातमा पुगिरहेको छ। भारतबाट लत्ता कपडा, खाद्यान्न, मोटर पाट्स, इलेक्ट्रोनिक लगायतका सामान अवैध रुपमा भित्रिन्छ। नाकामा खटिने भन्सार कर्मचारी र सुरक्षाकर्मीले ठुलो परिमाणमा भित्रिने ती सामानलाई आफैले गन्तव्यसम्म पुर्याउने गर्छन्। स्रोतका अनुसार तस्करले लाइन मिलाएर भित्र्याउने उक्त सामान सिधै नेपालगन्जका गोदाममा भण्डारण गर्छन्। भन्सार कर्मचारी र सुरक्षाकर्मीको सेटिङमै तस्करहरूले भारतबाट एकै पटक लाखौं/करोडौं मूल्यका सामान भित्र्याउँछन्,’ स्रोतले नागरिकसँग भन्यो ‘तस्करीहरुले भन्सार महसुल नबुझाएर त्यस बापतको रकम कर्मचारी र सुरक्षाकर्मीलाई बाँड्छन्। स्रोतका अनुसार नेपाल–भारत सिमानाका जमुनाहा हुँदै ट्रक तथा कन्टेनरमार्फत अवैध सामान नेपालगन्ज भित्रिरहेको छ। बाँके प्रहरीले पछिल्लो समयमा बरामद गरिरहेको सामानको प्रकृति हेर्दा शिल प्याक गरिएका ती सामानहरू ट्रक वा कन्टेनरमार्फत भित्रिएका हुन्। साभार : नादप












