काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच एमाले नेतृत्वमा सरकार गठन गर्ने सोमबारको सहमतिसँगै यसका पक्ष विपक्षमा विभिन्न टीकाटिप्पणी चलेको छ। संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी सहमति बनेको केहीको बुझाइ छ भने केहीले यो यसलाई चरम अवसरवादको संज्ञा दिएका छन्। गठबन्धनको समाचार सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यस्तै केही पेचिला र रमाइला टिप्पणीले भरिएका छन्। यी मध्ये काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको एउटा टिप्पणी व्यापक चर्चामा छ। आफ्नो फेसबुक पेजमा उनले ओली र देउवाको चिया खाँदै गरेको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऔं भाले।’ उनको यो पोस्टको केही घण्टामै लाखौं लाइक र हजारौं कमेन्ट आएका छन्। बालेनले दलप्रतिको निराशाजनक टिप्पणी गर्दै गर्दा अर्का एक सर्वसाधारणले भने यो गठबन्धनलाई कालो बादलमा देखिएको आशाको किरणसँग तुलना गरे। ‘मुलुक जोगाउने उद्देश्यले जिम्मेवार दुई ठुला दल मिलेको भए यो एकदमै राम्रो कुरा,’ सामाजिक सञ्जालमा दिवस घिमिरे लेख्छन्, ‘यदि ‘मालिक’ जोगाउन गरेको भए यो लोकतन्त्रकै आत्मघाती कदम हुनेछ। यो सहमतिको बलियो आधार असार १५ गते बालकोटमा निर्माण भएको थियो। त्यसैले कतिपयले यो सरकारको गठनलाई आफू जोगिन गरेको तारतम्यसँग पनि जोडेका छन्। असार १५ गते पक्राउन परेका बेचन झा र प्रतीक थापाको समाचारसँगै उनीहरूले टिप्पणी गरेका छन्। ‘दुई व्यक्ति पक्राउ परेलगत्तै ‘बा’को मायाले पक्कै पनि बुढानीलकण्ठबाट एक जोडी बालकोट आएका होइनन् होला,’ सामाजिक सञ्जालमा रितेश केसी लेख्छन्, ‘दालमा केही कालो हो कि पुरै दाल कालो हो। उनको यो भनाइ जस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि आएको छ। उनले पनि भ्रष्टाचारको फाइल खुलेपछि कांग्रेस र नेकपा (एमाले) बीच नयाँ गठबन्धन बनेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ठुला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको दाबी गरे। तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्यो, फाइल खोल्नुपर्यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो,’ उनले भने, ‘मैले के भन्नु र !’ उनले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता सरकारलाई कसरी आयो भन्दै यो उनले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्दै व्यङय गरे। वर्तमान गठबन्धनसँग बिच्किएका एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच एमाले नेतृत्वमा सरकार गठनलाई समर्थन गर्ने सहमति भएको हो। जसमा ओलीलाई २ वर्ष प्रधानमन्त्री बनाउने र देउवालाई बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बनाउने उल्लेख छ।साभार : नादप












