माधव नेपाल फेरि पनि प्रचण्डकै सारथि…..

काठमाडौं –    आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बालुवाटारमा समाजवादी मोर्चामा आवद्ध दलका नेताहरुसँग छलफल गरेका छन् । मोर्चामा आवद्ध दलका प्रमुखहरु बोलाइएपनि जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव बालुवाटार गएनन् । प्रधानमन्त्री प्रचण्डकै सहयोगमा गत २३ वैशाखमा आफ्नो पार्टी विभाजन गरिएको निष्कर्षमा रहेका उपेन्द्र यो छलफलमा नजानु स्वाभाविक थियो । किनकि प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले सहितका दलहरुले भन्दा पहिले उपेन्द्रले समर्थन फिर्ता लिइसकेका छन् । ३१ वैशाखमा उपेन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डले गत ७ जेठमा चौथोपटक विश्वासको मत लिएर बहुमत देखाएका थिए । त्यसैले मोर्चाका एक संस्थापक दलका नेता भए पनि उपेन्द्र यादव बालुवाटार छलफलमा गएनन् । तर उनी बाहेक मोर्चाका अरु नेताहरु भने छलफलमा सहभागी भए । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार, २८ असारमा प्रधानमन्त्रीले संसदमा लिन लागेको विश्वासको मत र मोर्चाको भावी कार्यदिशाबारे छलफल गर्न नेताहरुलाई बोलाइएको थियो । छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायत सहभागी थिए ।

यो छलफलमा भाग लिएकामध्ये यादव प्राविधिक रुपले मात्रै अलग दलका नेता छन् भने संसदीय मोर्चामा नरहेका चन्दलाई बदलिएको परिस्थितिसँग खासै लेनदेन देखिँदैन । यो छलफलमा सहभागी माधव र झलनाथको उपस्थिति चाहिं अर्थपूर्ण छ । किनकि प्रतिनिधिसभामा एकीकृत समाजवादीसँग १० सिट छ, र बेलाबेला प्रचण्डसँग यो पार्टीको असन्तुष्टि सार्वजनिक हुने गरेको छ । प्रचण्ड नेतृत्वको वर्तमान सरकार फेरेर नेपाली कांग्रेस र एमालेले नयाँ सरकार बनाउने निर्णय गरेको अघिल्लो दिन (१६ असारमा) मात्र पनि सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीबीच रहेको असन्तुष्टि सार्वजनिक भएको थियो । प्रज्ञा भवन कमलादीमा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहबाटै प्रचण्डले माधव नेपालसँग गुनासो गरेका थिए । माधव नेपालले माओवादीलाई अस्थिर र सैद्धान्तिक अन्योलमा रहेको पार्टी भनेर राजनीतिक प्रतिवेदन तयार पारेकोप्रति प्रचण्डको आपत्ति थियो । त्यो (अस्थिर माओवादी) भन्ने अधिकारमा म प्रश्न उठाउन चाहन्न, हरेक पार्टीले अर्को पार्टीलाई हेर्ने दृष्टिकोण हुन्छ । तपाईंहरुलाई जे बनाउन उचित लाग्छ, बनाउनुहोस्’, उनले भनेका थिए । तर एकीकृत समाजवादीले निष्कर्ष निकालेजस्तो माओवादी अस्थिर शक्ति नभएको पुष्टि गर्न प्रचण्डले लामै व्याख्या गरेका थिए । प्रचण्डले सार्वजनिक रुपमै गुनासो गरेपछि कार्यक्रम चलाइरहेका महासचिव घनश्याम भूसालले मञ्चबाटै माओवादी शक्तिको प्रशंसा समेत गरिएको सम्झाएका थिए । भूसालले भनेका थिए, ‘माओवादीलाई अस्थिर भनेको मात्र हेर्नुभयो । तर हामीले गणतन्त्रको मुद्दालाई क्रियात्मक नारामा लगेको पनि प्रतिवेदनमा लेखेका छौं । यसरी असन्तुष्ट प्रचण्डलाई खुशी बनाउने प्रयत्न भूसालले गरेपनि निकट विगतको राजनीतिक घटनाक्रमले भने माधवकै निष्कर्ष सही रहेको टिप्पणी गर्न सकिन्छ । महाधिवेशनबाट पारित माधव नेपालको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘… नेकपाको विभाजनपछि फेरि माओवाद अँगालेको हुँदा यो पार्टी स्वयं सैद्धान्तिक अन्यौलमा फसेको छ ।

 एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुरी बढ्न थालेको नेकपाकालीन समय (२०७६ असोज–कात्तिक) यताका घटनाक्रम हेर्दा पनि माधव नेपालले निकालेको निष्कर्ष जस्तै प्रचण्डमा अस्थिर र सैद्धान्तिक अन्यौल रहेकै पुष्टि हुन्छ । तर उनै प्रचण्डप्रति माधव नेपालको विश्वास र भरोसा देखिन्छ । प्रष्ट अल्पमतमा परेर सत्ताबाट बाहिरिने पक्का भएका प्रचण्डलाई विना शर्त/सहमति साथ दिने निर्णय गर्नु त्यसैको एउटा उदाहरण हो । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जतिसुकै धोका र असहयोग गरेपनि उनैलाई साथ दिनु पार्टीको निर्विकल्प निर्णय हुँदै एकीकृत समाजवादीका नेताहरु स्वीकार्छन् । एकपटक होइन, पटकपटक धोका दिनुहुन्छ, तर केपी शर्मा ओली जति धोकेबाज प्रचण्ड होइनन् भनेर सहयोग गर्दै आएका छौं’, एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भन्छन् । आफ्नो पदका निम्ति प्रचण्डले पनि सम्बन्ध र साथहरुको दुरुपयोग गर्ने गरेपनि धोकेबाज नरहेको निष्कर्षकै आधारमा साथ दिंदै आएको उनी बताउँछन् । ‘फेरि पनि मित्र शक्ति रहेको निष्कर्षकै आधारमा प्रचण्डलाई हामी विश्वासको मत दिन्छौं । उहाँले आफू कमजोर भएको बेला सम्झने गर्नुभएको छ, तर हामी एउटै मोर्चामा रहेको भूमिका इमान्दारिताका साथ निर्वाह गर्छौं’, खतिवडा भन्छन् । साभार : अखप  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार