काठमाडौं – समकालीन सत्ता संघर्ष जितेर प्रधानमन्त्री बन्न सफल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको मन्त्रिपरिषद् समावेशी बनाउन नसकेकाले आलोचना खेपिरहेका छन् । गत ३१ असारमा प्रधानमन्त्री पदको शपथ लिँदा ओलीले आफूसँगै शपथ गराएका २१ मन्त्रीमा अल्पसंख्यक, उत्पीडित र सीमान्त समुदायका सांसद नपरेपछि आलोचना खेप्नु परिरहेको हो । विशेषगरी महिला मन्त्रीको संख्या २ जना मात्र हुनु र दलित शून्य भएकोमा आलोचना केन्द्रित छ । उनीहरुका अनुसार, कुल जनसंख्याको ५१.१ प्रतिशत (एक करोड ४९ लाख ११ हजार बढी) हिस्सा ओगट्ने महिलाहरुबाट मन्त्रिपरिषदमा दुई जना मात्र मन्त्री हुनु असाध्यै चिन्ताको विषय हो । अझ ३८ लाख ६२ हजार बढी (१३.४ प्रतिशत) दलित समुदायको बसोबास रहेको देशको मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जना पनि मन्त्री नबनाइएकोमा नेतृत्वप्रति चर्को असन्तुष्टि देखिन्छ । असमावेशी मन्त्रिपरिषद् बनाउने निर्णयमा प्रधानमन्त्री ओलीसँगै सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि उत्तिकै आलोचना भइरहेको छ । आलोचना गर्नेहरुका अनुसार, ओली र देउवाले चाहेको भए अहिलेको भन्दा धेरै समावेशी मन्त्रिपरिषद् बन्न सक्थ्यो । दुवै पार्टीको पदाधिकारीमा दलित समुदायका नेता छन्, महिला छन् । पार्टीभित्र संस्थागत निर्णय गर्ने प्रचलन हुन्थ्यो भने अहिलेको भन्दा धेरै समावेशी मन्त्रिपरिषद् बन्न सक्थ्यो’, एमालेका एक पदाधिकारी भन्छन् । तर पार्टीको संस्थागत संरचनामा निर्णय नहुने र अनौपचारिक छलफलहरुबाट मन्त्री टुंग्याउने हुँदा असमावेशी मन्त्रिपरिषद् बनिरहेको उनी बताउँछन् । शितल निवासमा शपथ ग्रहण समारोहपछि प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको मन्त्रिपरिषदका सदस्य लगायत । हुन पनि मन्त्रिपरिषद् गठन भएको अघिल्लो रातसम्म (३० असार रातिसम्म) कांग्रेस र एमालेबाट सरकारमा जाने संभावित नेताहरुको सूचीमा दलित समुदायका उच्च तहकै नेताहरुको चर्चा भइरहेको थियो । कांग्रेसबाट सहमहामन्त्री जीवन परियार र एमालेबाट पार्टी सचिव छविलाल विश्वकर्मा मन्त्री बन्ने लगभग पक्का रहेको अनुमान गरिएको थियो । तर मन्त्रिपरिषद् गठन हुँदा छबिलाल र जीवन दुवै समेटिएनन् । आफूलाई मन्त्री नबनाएकोप्रति दुवैले सार्वजनिक टिप्पणी गरेका छैनन् । ‘पार्टी राजनीतिमा यस्तो भइरहन्छ, अर्को संभावना जोगाइराख्नलाई पनि अहिले बोल्न हुँदैन’, दुवै नेताले निकटस्थहरुलाई भन्ने गरेका छन् । साभार : अखप












