बेचन झाको दोहोरो नागरिकता…..

काठमाडौं –  नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झासँग नेपाल र भारत दुबै देशको नागरिकता रहेको प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा झासँग जिल्ला प्रशासन कार्यालय, पर्साबाट लिएको नागरिकता र भारतको बिहार राज्यस्थित मधुवनीबाट समेत आधार कार्ड बनाएको फेला परेको हो । झाको नागरिकतामा उल्लिखित विवरणअनुसार उनले १४ चैत २०६३ मा घुम्ती टोलीमार्फत वीरगञ्जबाट जन्मको आधारमा नेपाली नागरिकता लिएको देखिन्छ । नागरिकतामा उनको जन्मस्थान पर्साको वीरगञ्ज लेखिएको छ । तर, अनलाइनखबरले प्राप्त गरेको झाको व्यक्तिगत विवरणका आधारमा भारतको निर्वाचन आयोगको मतदाता सेवा पोर्टलमा हेर्दा उनी सन् २०२४ को लोकसभा चुनावमा बिहार राज्यको मधुवनी जिल्लास्थित बाबुबह्री–३४ निर्वाचन क्षेत्रमा मतदाता रहेको देखिन्छ । पोर्टलमा उनको उमेर ६४ उल्लेख छ भने मतदान केन्द्र मरुकिया प्राथमिक स्कुल भएको उल्लेख छ । विस्तृत विवरणमा उनको आफन्तको नाममा दुखनमोचन झा उल्लेख छ । २०६३ सालमा लिएको नेपाली नागरिकताको प्रमाण–पत्रमा दुखमोचन झा उनको बुबा भएको उल्लेख छ । झालाई नेपाल प्रहरीको विशेष ब्यूरोको टोलीले पक्राउ गरेर १५ असारमा काठमाडौं ल्याएको थियो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, बेचन झाको जन्म भारतमै भएपनि लामो समयदेखि नेपालमा रहेर व्यवसाय गर्दै आएको देखिन्छ । उनका छोरा विभांशुशेखर झाले ३० असारमा बुबालाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतलमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । तर, जिल्ला अदालतबाट म्याद लिएरै हिरासतमा राखेको देखिएको भन्दै सर्वोच्चले बुधबार रिट निवेदन खारेज गरिदिएको थियो । यसरी निवेदन दिएका छोरा विभांशुशेखर झाको नाम पनि सन् २०२४ को भारतीय लोकसभा निर्वाचनमा योग्य मतदाताको रुपमा उल्लेख छ ।४० वर्षका उनको मतदान केन्द्र पनि मरुकियाको प्राथमिक स्कुल नै रहेको मतदाता सेवा पोर्टलमा उल्लेख छ । अर्का छोरा जिष्याशुशेषर झा र पत्नी चन्द्रिका देवीको पनि मतदाता नामावलीमा नाम उल्लेख छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, बेचन झाको पृष्ठभूमि हेर्दा उनको जन्म भारतमै भएपनि लामो समयदेखि नेपालमा रहेर व्यवसाय गर्दै आएको देखिन्छ । यद्यपि, नागरिकता भने दुवैतिरको चलाइरहेको देखिएको उनी बताउँछन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले पनि झाको दोहोरो नागरिकताबारे छानबिन भइरहेको अनलाइनखबरसँग पुष्टि गरेका छन् । भारतमा पनि नागरिकता रहेको भन्ने खुलेपछि कूटनीतिक च्यानलमार्फत नै विवरण माग गर्दै पत्राचार गरेका छौं’, उनले भने, ‘उपत्यका प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयसम्म पुगेर भारतीय पक्षसँग आधिकारिक विवरण माग्छौं । अनुसन्धानका संलग्न अधिकृतहरुका अनुसार, बेचनका बुबा भारतीय नागरिक नै हुन् । ‘नेपाली नागरिकसँग विवाह गरेपछि बेचनले चाहिँ यता पहुँच बनाएको खुलेको छ’, ती अधिकृत भने, ‘विवाहपछि उनी पुराना तराई कांग्रेसका नेता एवं पूर्वमन्त्री वेदानन्द झाको परिवारसँग जोडिएका थिए । जानकारहरुका अनुसार, त्यसबेला उनले श्रीमतीको नामबाटै नेपालमा व्यवसाय सुरु गरेका थिए । सामान्य ठेक्कापट्टा हुँदै पछि उनी विद्युत्का सामग्रीको ठेक्कापट्टामा सक्रिय रहे । सुरुमा भारतमा उत्पादन हुने विद्युतका उपकरणको आयातकर्ताका रुपमा काम गरेका उनले पछि अन्य मुलुकबाट पनि सामान ल्याउने थालेका थिए । त्यसक्रममा विभिन्न नेपाली व्यवसायी, कर्मचारी लगायतसँग पनि जोडिएका थिए ।  साभार : अखप  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार