कोदो बाली रैथाने, तर बर्सेनि ७५ करोडको आयात…..

काठमाडौं-     कोदोलाई नेपालको रैथाने खाद्य बाली हो । प्रत्येक १५ साउनमा नेपालका विभिन्न ठाउँमा ‘कोदो दिवस’ अनौपचारिक रूपमा मनाउने गरिन्छ । कोदो रोप्ने मुख्य सिजन साउन भएकाले अनौपचारिक रूपमा १५ साउनलाई कोदो दिवसका रूपमा मनाउँदै आएको कृषि मन्त्रालयले जनाएको छ । मुलुकका ७७ जिल्लामा कोदो खेती गरिएको पाइए पनि यो उत्पादनका हिसाबले अत्यन्तै कम छ । नेपालमा सबैभन्दा धेरै यसको खेती हुने जिल्ला खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा र सिन्धुली हुन् । कोदो कम वर्षा हुने क्षेत्र, कम उर्वर भूमि, सिञ्चित र असिञ्चित दुवै अवस्थामा पनि उब्जिन सक्ने भएकाले यसको व्यावसायिक उत्पादन हुन नसकेको कृषि मन्त्रालयका अधिकारीहरू स्विकार्छन् । तर, कोदो नेपालको रैथानै बाली भनिरहँदा नेपालले करोडौंको आयात गरेको तथ्यांक भेटिन्छ । भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै १ करोड ५२ लाख ९२ हजार किलो अर्थात् ७५ करोड ४१ लाख रुपैयाँको कोदो आयात भएको छ । यस्तै कोदोको बिउ २ लाख २८ हजार रुपैयाँ बराबर आयात भएको छ । यसो त नेपालले कोदो आयात मात्रै नभई निर्यात पनि गर्छ, तर थोरै मात्रामा । गत आव नेपालले आठ देशमा कोदोको बिउ निर्यात गरेको थियो । यसले नेपाली कोदोको बिउ अस्ट्रेलिया, हङकङ, जापान, क्यानडा, इटाली, कोरिया, अमेरिका, वेलायतमा निर्यात भएको देखिन्छ । जसमा सबैभन्दा धेरै दक्षिण कोरियामा २८ लाख ६५ हजार रुपैयाँ बराबर निर्यात भएको छ । यस्तै अस्ट्रेलिया, हङकङ र कोरियालाई थोरै भए पनि कोदो निर्यात गरेको देखिन्छ । कृषि मन्त्रालयका एक अधिकारीका अनुसार यसरी कोदो निर्यात हुनु नेपाली बिउको विश्व बजारमा माग रहेकाले नमुनाका रूपमा गइरहेको हो । हाम्रो रैथाने बिउलाई धेरै देशले परीक्षण गर्न लगेको पनि देखिन्छ, अर्को चाहिँ नेपालीहरू धेरै रहेको देशमा त्यहाँका स्थानीय पसलेहरूले पनि लगेका हुन्, व्यावसायिक रूपमा कोदो खासै निर्यात हुँदैन ।

के हो कोदो ?:

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार वैज्ञानिक भाषामा कोदो, चिनो, कागुनो, जुनेलो, बाजरा, साँवा लगायत बाली सबै कोदो वर्गमा पर्दछन् । तर, नेपाली भाषामा कोदो भन्नाले मसिना गोलाकार दाना हुने घाँसे परिवार अन्तर्गत पर्ने परम्परागत अन्नबाली बुझिन्छ । नेपालमा खेती हुने कृषकका स्थानीय जातमा अरुण कोदो, भदौरे कोदो, बौलाहा कोदो, चरिकोटे कोदो, चुल्ठे कोदो, च्याल्से कोदो, च्याल्ठे कोदो, डल्ले कोदो, डल्ले सेतो, डुँडे कोदो, दूधे कोदो, झुप्पे कोदो, कालो बुंगे, कालो कोदो, कात्तिके कोदो, कात्तिके डल्ले, किर्ने कोदो लगायत ५० भन्दा बढी छन् । त्यस्तै उन्नत जातमा ओख्ले–१, डल्ले–१, काब्रे कोदो–१, काब्रे कोदो–२, शैलुङ कोदो–१ छन् । केन्द्रले निकालेको एक प्रकाशन अनुसार देशको कुल खाद्यान्न बाली क्षेत्रफलको ७.७ प्रतिशत हिस्सा ओगट्ने कोदोले कूल क्षेत्रफलको ९५ प्रतिशत पहाडी भेगमा मात्रै पर्छ । नेपालको तराइदेखि समुद्र सतहबाट ३ हजार १ सय मिटरसम्मका उच्च पहाडी क्षेत्रसम्म कोदो खेती गरिने गरेको उक्त प्रकाशनमा उल्लेख छ । साभार : अखप   

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार