गृहमन्त्री फेरिनासाथ सीआईबी प्रमुखमाथि छानबिन किन ?…..

काठमाडौं –     गृहमन्त्री फेरिनासाथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुखमाथि छानबिन हुन थालेको भन्दै सांसदहरुले प्रश्न उठाएका छन् । यो प्रवृत्ति शृङ्खलाबद्ध रुपमा अगाडि बढ्दा पर्ने दूरगामी असरबारे ख्याल गर्न सरकारलाई सुझाएका छन् । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘शान्ति सुरक्षा र कारागार व्यवस्थापनबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकसहित सुरक्षा प्रमुखहरुलाई बोलाएको थियो । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले आफ्नो धारणा राखिसकेपछि समिति सभापति रामहरि खतिवडाले ‘सीआईबीको बारेमा पनि कुरो उठेको छ’, भनेर सोधे । बुधबार मात्र सीआईबी प्रमुख श्याम ज्ञवालीमाथि अनुसन्धान थालेको सूचना बाहिरिएको थियो । प्रहरी प्रमुख कुँवरले यो विषयमा धेरै नबोल्ने बताए । सञ्चार माध्यम विषय आइसकेको भन्दै उनले भने, ‘तालुक कार्यालयहरुबाट प्राप्त भएका पत्राचारको बारेमा यसले आन्तरिक प्रशासनिक कोर्स लिएको अवस्था छ । यति मात्रै म व्यक्त गर्न चाहन्छु । सत्तारुढ सांसदहरुले नै उनको जवाफमा चित्त बुझाएनन् । उनीहरुले गृहमन्त्रीलाई प्रश्न गरे । सत्तारुढ एमालेका सांसद रघुजी पन्तले सरकार फेरिएपछि सिआईबी प्रमुखमाथि छानबिन गर्ने प्रबृतिमाथि प्रश्न उठाए । प्रचण्ड सरकारमा गृहमन्त्री फेरिनासाथ सीआईबी प्रमुखमाथि छानबिन भएको स्मरण गर्दै भने, ‘सुनकाण्डको छानबिन भइरहेको थियो । गृहमन्त्री फेरिनुभयो र त्यसको अनुसन्धानमा संलग्नमाथि छानबिन भयो, त्यसपछि अर्को टोली आयो । अहिले त्यो टोलीमाथि छानबिन भइराखेको छ । गृहमन्त्रीहरुको कार्यशैलीले गर्दा प्रहरी विवादमा परेको भन्दै उनले स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने बताए । भविष्यमा कसैले असल नियतका साथ काम गर्दा, अनुसन्धान गर्दा प्रहरीले गर्ने छानबिनमाथि प्रश्न उठ्ने वा आशंका गर्ने अवस्था बनेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । ‘तपाईंहरु आफूले आफैंभित्र छानबिन गरेर समय बिताउनुहुन्छ कि साँच्चै छानबिन हुन्छ’, एमाले सांसद पन्तले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरे । कांग्रेस सांसद हृदयराम थानीले सीआईबी प्रमुख ज्ञवालीमाथि छानबिन गर्न समिति नै बनाउनुपर्ने आवश्यकता किनपर्‍यो भनेर प्रश्न गरे । ‘आफैं आईजीपी हुनुहुन्छ । आफैंले कारबाही गर्न मिल्छ होला । समिति नै बनाउनुपर्ने किन ?’ उनले प्रहरी प्रमुख कुँवरलाई प्रश्न गरे । उनले कुँवरलाई भविष्यमा आफैंमाथि छानबिन गर्न अर्को समिति बन्न सक्नेतर्फ ख्याल गर्न सचेत गराए । ‘अब तपाईं जानुहुन्छ, फेरि तपाईंमाथि (छानबिन गर्न) अर्को समिति बन्छ यहाँ’ उनले आफ्नो असन्तुष्टि पोखे, ‘हे भगवान कहाँ जान खोज्दैछ मुलुक आज । उनले पार्टीका नेता समेत रहेका गृहमन्त्री लेखकलाई पनि मनपरीतन्त्र रोक्न आँट गर्न आग्रह गरे । साभार : अखप   

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार