काठमाडौं- बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ बजेर ५४ मिनेटमा उडेको एयर डाइनेस्टीको ९एन–एजेडी हेलिकप्टर काठमाडौं नजिकै दुर्घटनामा पर्यो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंबाट उडेको तीन मिनेटमै हेलिकप्टर काठमाडौं टावरसँग सम्पर्क विच्छेद भएको थियो । यो हेलिकप्टर रसुवाको स्याफ्रुबेसी उडेको थियो । जसको उडान दुरी काठमाडौंबाट १५ देखि २० मिनेट हाराहारी मात्र हो । तर, काठमाडौं टावरसँग सम्पर्क विच्छेद भएको झन्डै ४५ मिनेटपछि मात्र काठमाडौंबाट प्रभु एयरलाइन्सको अर्को हेलिकप्टर खोजीका लागि उडाएको पाइएको छ । सामान्यतया हेलिकप्टर वा जहाज हराएको खबर आउनासाथ त्यसको केही मिनेटमै खोजीका लागि हेलिकप्टर पठाउनु पर्नेमा यस पटक अस्वभाविक ढिलाइ गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झा भने यसबीचमा कम्पनीसँग सोधपुछ गर्ने, जानकारी लिने लगायतका काम भएको बताए । ढिला भन्न मिल्दैन,’ उनले अनलाइनखबरसँग भने, ‘पहाडका खोँचहरूमा उड्दा कुनै बेला कम्युनिकेसनमा राम्रो सम्पर्क हुँदैन, त्यसकारण केही समय पर्खिने काम समेत हुन्छ । आपतकालीन अवस्थामा हेलिकप्टरले अनुकूल स्थान पहिल्याएर अवतरण गराउन पनि सक्ने भएकाले तत्काल दुर्घटनाको निर्णयमा नपुगिएको उनको भनाइ छ ।
सामान्यतया जहाजहरू दुर्घटनामा परी जमिनमा ठोक्किएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खोज तथा उद्धार समन्वय केन्द्रमा स्वचालित संयन्त्रमा सूचना समेत आउनुपर्छ । जसलाई इमर्जेन्सी लोकेटर ट्रान्समिटर (ईएलटी) ले लोकेट समेत गर्छ । यसले जहाजको अन्तिम लोकेसन पत्ता लगाएर खोजी तथा उद्धारमा सहयोग पुग्छ । तर, केन्द्रलाई चुस्त बनाउन नसक्दा काठमाडौंको २० नटिकल माइलभित्र भएको दुर्घटनामा समेत प्राधिकरण र विमानस्थल लामो समयसम्म बेखरजस्तै देखिएको छ । दुई वर्ष अगाडि जोमसोम उडेको तारा एयरको जहाज दुर्घटना स्थल ईएलटीले देखाएकै स्थानमा भेटिएको थियो ।
विमानस्थल व्यवस्थापनको दाबी अनुसार जहाज सम्पर्कमा आउँछ कि भन्दै कुर्ने अवधिलाई ५ मिनेट वा १० मिनेट मात्र दिँदा पनि उद्धार र खोजीमा अर्को जहाज उडाउन किन ४५ मिनेटसम्म ढिलाइ भयो भन्ने विषयले नियामक निकाय तथा उद्धारमा खटिने संयन्त्रमाथि प्रश्न खडा गरेको छ । हवाई उडानमा जहाज सम्पर्कविहीन भएको ५ मिनेटसम्मको समयलाई अलर्ट फेज मानिन्छ । यस समयमा सबै उद्धार संयन्त्रलाई सूचना पठाएर सचेत बनाउने काम गरिन्छ । ५ मिनेटसम्म पनि जहाज सम्पर्कमा आएन भने खोजीमा खटिहाल्नु पर्छ । नुवाकोटको सूर्यचौर भन्ने स्थान काठमाडौं विमानस्थल नजिकै पर्छ । दुई साता अगाडि काठमाडौं विमानस्थलकै डिलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना र ठूलो मानवीय क्षतिपछि बुधबारको दुर्घटनाले आपतकालीन तत्परतामा नेपालको अक्षमता उजागर गरेको छ । साभार : अखप












