ढाका – बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता भएको छ । गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै हसिना र अन्य ६ जनाविरुद्ध हत्याको मुद्दा दर्ता गरिएको हो । मंगलबार मिडिया रिपोर्टलाई उद्धृत गर्दै यो जानकारी आएको हो । बंगलादेशमा हिंसा र सरकार ढलेपछि हसिनाविरुद्ध दायर भएको यो पहिलो मुद्दा हो । बंगलादेशी मिडियाका अनुसार जुलाई १९ मा प्रहरीको गोली लागेर मारिएका किराना पसलका मालिक अबु सईदका शुभचिन्तकहरूले मुद्दा दायर गरेका हुन् । हसिनाविरुद्ध दर्ता भएको मुद्दामा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्वगृहमन्त्री असदुज्जमां खान कमाल र पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल मामुनको नाम पनि मुछिएको छ । यी बाहेक केही उच्च प्रहरी अधिकारी र अन्य अधिकारीलाई पनि अभियुक्त बनाइएको छ । साभार : रापा