काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा अोलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको छ । अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओली जाने निश्चित भएको हो । त्यसको तयारी परराष्ट्र मन्त्रालय जुटिसकेको छ । सेप्टेम्बर २३ देखि सुरु हुने महासभाका लागि प्रधानमन्त्री ओली सेप्टेम्बर २१ वा २२ मा अमेरिका जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री ओली अमेरिका जाने निश्चित भए पनि सेप्टेम्बर २१ वा २२ मध्ये कहिले जाने भनेर समय निश्चित भइसकेको छैन । यी दुइटा मितिमध्ये एउटामा उहाँ अमेरिका जानुहुन्छ,’ ती अधिकारीले भने । उनका अनुसार मितिको बारेमा छलफल भइरहेको छ र चाँडै नै अन्तिम मिति सार्वजनिक गरिनेछ । उता, भदौ १८ र १९ गते थाइल्यान्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन अनिश्चित भएको छ । थाइल्यान्डका प्रधानमन्त्री हेरफेर, बंगलादेशको आन्तरिक विवाद, म्यानमारमा आन्तरिक द्वन्द्व, श्रीलंकामा प्रधानमन्त्रीको चुनावलगायतका विषय लिएर बिमस्टेक सम्मेलन नहुने देखिएको हो । थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाइ अनियमितता गरेको भन्दै त्यहाँको संवैधानिक अदालतले गत साउन ३० गते पदमुक्त गरेको छ । त्यसको भोलिपल्ट पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा नियुक्त भइन् । बिमस्टेक सम्मेलन अन्योलमा परेपछि प्रधानमन्त्री ओली यूएनको महासभामा भाग लिन अमेरिका जाने तयारीमा जुटेका छन् । यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच बैंककमा साइडलाइन वार्ता हुने तय थियो । मोदी पनि अहिले थाइल्याण्ड जाने तयारी छाडेर युरोप भ्रमणमा निस्केका छन् । उनी पनि यूएनको महासभामा भाग लिन जान भनिएको छ । अमेरिकामै मोदी र ओलीबिच साइडलाइन वार्ता हुने सम्भावना रहेको बताइएको छ । सेप्टेम्बर २६ मा प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका एक सहसचिवका अनुसार प्रधानमन्त्री ओलीको यो अमेरिका भ्रमण नभएर यूएनको महासभामा भाग लिन अमेरिका जान लागेको भनेर बुझ्नुपर्ने बताए । ‘प्रधानमन्त्री ओलीलाई अमेरिकाले निमन्त्रणा दिएर बोलाएको होइन । उहाँ यूएनको निमन्त्रणामा अमेरिकामा हुने कार्यक्रममा भाग लिन जान लाग्नुभएको हो । त्यसैले प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण अमेरिका भनेर मिल्दैन । प्रधानमन्त्री ओलीको पहिलो औपचारिक भ्रमण भारतबाट नै हुने उनको भनाई छ । प्रधानमन्त्री ओलीलाई भारत र चीन दुवै देशबाट औपचारिक भ्रमणका लागि निमन्त्रणा आइसकेको छ । तर प्रधानमन्त्री ओलीले भारतबाट नै आफ्नो पहिलो भ्रमण गर्ने पार्टी निकट स्रोतले जनाएको छ । २०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेका थिए । त्यति बेला उनको सो भ्रमणप्रति भारतले असन्तुष्टि जनाएको थियो । प्रचण्डले चीनबाट फर्केपछि एयरपोर्टमै प्रतिक्रिया दिँदै भनेका थिए, ‘ओलम्पिक खेलको समापन कार्यक्रममा सहभागी हुन चीन गएको हुनाले चीन भ्रमण अनौपचारिक हो, पहिलो औपचारिक भ्रमण भारत नै हुन्छ ।साभार : रापा












