संसदीय समितिमा रविको बयान…..

काठमाडौं –    सहकारी बचत अपचलन सम्बन्धी संंसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री रवि लामिछाने र ग्यालेक्सी टीभीका संस्थापक पूर्वडीआईजी छविलाल जोशीसँग सोधपुछ गरेको छ । समितिमा करिब ७ घण्टा सोधपुछ भएको बयानमा ग्यालेक्सीका तत्कालीन प्रबन्ध निर्देशक रहेका रविले हस्ताक्षर गर्नु अगाडि दुई घण्टा लगाएर पढेका थिए । संसदीय विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सदस्य रहेका शिशिर खनाललाई सँगै राखेर उनले आफूले दिएका बयान दुई पटक पढेर मात्रै मध्यराति साढे १ बजे हस्ताक्षर गरेका हुन् । संसदीय समिति सोधपुछमा रविले ग्यालेक्सी टीभी सञ्चालन गर्न २५ करोड ऋण लिन बैंकमा पुगे पनि गितेन्द्रबाबु (जीबी) राईले ‘२५ करोड ऋणका लागि बैंक–बैंक धाउने मान्छे होइन’ भन्दै फर्काएको बयान दिएका थिए । टेलिभिजन सञ्चालन गर्ने घोषणा भएपछि छविलाल जोशी र म (रवि लामिछाने) २५ करोड ऋणका लागि बैंकमा गएका थियौं । बैंकले ऋण दिन तयार रहेको बताउँदै ऋण लगानीका लागि कार्यकारी अध्यक्ष पनि चाहिने बताइयो,’ रवि लामिछानेले समितिलाई दिएको बयान उद्धृत गर्दै स्रोतले भन्यो, ‘बैंकबाट नै निज राईलाई फोन गर्दा २५ करोडको लागि बैंक–बैंक धाउने मान्छे नभएको भन्दै ५ वर्ष टेलिभिजन ढुक्क भएर चलाउन बैंकले दिन तयार भएको ऋण समेत नलिने भएर फर्कियौं । स्रोतका अनुसार रविको उक्त बयानमा ‘सुशासनको कुरा उठाउने तपाईंले यति ठूलो लगानी कहाँबाट आउँछ भनेर जीबी राईसँग छलफल भएन ?’ भनी प्रश्न गरिएको थियो । जवाफमा रविले आर्थिक व्यवस्थापन आफूले गर्ने भन्दै पाँच वर्षका लागि कुनै समस्या नहुने र कार्यक्रम बनाउनमा ध्यान दिने भनेपछि आफूले टेलिभिजनको कार्यक्रम उत्पादनमा मात्रै ध्यान दिएको बताएका थिए । जीबी राई सहकारीमा पनि आबद्ध हुनुहुन्छ भन्ने थाहा थिएन । व्यावसायिक मान्छे भएकाले कतैबाट लगानी ल्याउनुभयो होला भन्ने सोचेँ,’ रविको बयान उद्धृत गर्दै स्रोतले भन्यो, ‘सहकारीमा आफ्नो कुनै संलग्नता नरहेको र गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको भनिएको रकमबारे कुनै जानकारी नभएको उहाँको बयान थियो । रविले सोधिएको ५१ प्रश्न र थप प्रतिप्रश्नमा उनले आफ्नो कुनै पनि सहकारीमा ऋण लिनका लागि कागज नगरेको र आफ्नो कुनै पनि डकुमेन्ट प्रयोग नभएको बताएका थिए । समितिका सदस्यले सूर्यदर्शन सहकारीबाट ऋण लिने रवि लामिछानेको बारेमा थाहा नभए पनि गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछाने र काठमाडौं बौद्ध ठेगाना भएर बूढानीलकण्ठ बस्ने रवि लामिछाने एउटै हो कि होइन भनेर प्रश्न गरेका थिए । गोरखा मिडिया नेटवर्कमा आएको लगानीबारे आफूलाई कुनै जानकारी नभएको जवाफ रविको थियो । आफू दोस्रो पटक सांसद निर्वाचित भएपछि मात्रै जीबी राई सहकारीमा आबद्ध छन् भन्ने जानकारी पाएको उनको तर्क थियो । पूर्वडीआईजी छविलाल जोशीले पनि सोही ऋणको धितोको विषयलाई लिएर टेलिभिजनमा आफ्नो सम्बन्ध बिग्रिएको बयान दिएका छन् । आफ्नी श्रीमतीको नाममा रहेको काठमाडौंको घर धितो राख्ने कुरा भए पनि श्रीमतीले असहमति जनाएसँगै उक्त टेलिभिजनबाट बिस्तारै अलग भएको बयान छविले दिएका थिए । छविले आफू सुरुमा नै टेलिभिजनबाट बाहिरिएकाले जानकारी नभएको भन्दै पन्छिएका थिए । रवि लामिछाने र कुमार रम्तेलको बयान भने सबै कुरा जीबीलाई जानकारी रहेको भन्नेमा केन्द्रित थियो । संसदीय समितिले गोरखा मिडिया नेटवर्कको लेखा परीक्षकसँग समेत छलफल गरेको थियो ।

बायाँबाट क्रमशः रवि लामिछाने, जीबी राई र छविलाल जोशी:

काठमाडौंका स्वर्णलक्ष्मी सहित पोखराको सूर्यदर्शन, चितवनको सहारा चितवन र बुटवलको सुप्रिमबाट विभिन्न व्यक्तिका नाममा ऋण खडा भएर गोरखा मिडिया नेटवर्कमा आएको छ,’ समिति स्रोतले भन्यो, ‘रवि लामिछानेको नाममा खडा भएको ऋण मात्रै नभएर अन्य व्यक्तिको नाममा समेत त्यस्तो ऋण खडा भएको छ । तर, अधिकांश ऋणमा तमसुक भएको छैन । जीबी राईकै नाममा र उनी आबद्ध नेचर नेस्ट, नेचर हब लगायत कम्पनीका नाममा खडा भएको ऋणको तमसुक भएका छैनन् । सहकारी प्रणालीमा विभिन्न ऋण देखाइए पनि त्यसको कागजात बनेको देखिँदैन । जीबी आबद्ध सहकारी संस्था मात्रै नभएर संसदीय छानबिन विशेष समितिले अध्ययन गरेका अधिकांश सहकारी संस्थामा ऋणको तमसुक व्यवस्थित नरहेको पाइएको स्रोतको दाबी छ । सहकारी बचत रकम अपचलन भएका सहकारी संस्थामा विभिन्न नाममा ऋण खडा भएको देखिन्छ । तर, त्यसका लागि आवश्यक कागजात नै बनेको देखिँदैन,’ स्रोतले भन्यो, ‘रवि लामिछानेको नाममा पनि ऋण खडा भएको छ । तर, कागजात छैन ।साभार : अखप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार