जे चाहिए पनि भारतसँग माग्न छोडौं…..

काठमाडौं –    ‘चामल चाहिए लेखिहाल्नुहुन्छ, चिनी चाहिए लेखिहाल्नुुहुन्छ । हामीलाई बीउका लागि धान चाहिएको थियो, त्यसको पनि चिठी आइहाल्यो । प्याज चाहियो भने चिठी आउँछ । संसदीय सुनुवाइ समितिले आइतबार भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मालाई सुनुवाइका लागि बोलाएको थियो । भारतका लागि राजदूत भएर काम गरिसकेका शर्माले आफ्नो योजना मात्र सुनाएनन्, नेपालको कमजोर कूटनीतिक अवस्था पनि देखाइदिए । शर्माको छोटो प्रस्तुति सुनेपछि समितिका सदस्यहरुले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, सीमा समस्या, व्यापार घाटा मात्र होइन, माइक्रोम्याजेनमेन्टबारे समेत प्रश्न गरेका थिए । जवाफ दिने क्रममा शर्माले ‘मैले माननीयहरुलाई नभनी नहुने कुरा छ’ भन्दै अगाडि भने, ‘हामीलाई जे माग्न पर्‍यो भारतलाई लेखिदेऊ । यसलाई इम्प्रुभ गर्न (सुधार) जरूरी छ । धानको बीउ, चामल, चिनी, प्याज जे चाहिए पनि भारतस्थित नेपाली दूतावासमा पत्र पुग्ने गरेको उनले सुनाए । कृषि र व्यापारमा पनि नेपालको लिस्ट लामो हुने गरेको भन्दै उनले भने, ‘आज एउटा फुटपाथ बनाइदेऊ भनेको छ, भोलि अर्गानिक फार्मिङलाई सजिलो बनाइदेऊ, पर्सि फर्टिलाइजर फ्याक्ट्री स्थापना गरिदेऊ । अर्को चोटि मुर्रा भैंसी देऊ भनेका छौं’, प्रस्तावित राजदूत शर्माले नेपाली पक्षको कार्यशैली सुनाए । प्रधानमन्त्रीस्तरीय वार्तामा समेत ३० वटासम्म एजेण्डा प्रस्तुत हुने गरेको उनले सुनाए । ‘कति त छलफल नै नभएका एजेण्डा पनि छिरिदिन्छन्’ उनले भने, ‘समस्या यहाँनिर छ । प्राथमिकता तय गरेर काम गर्दा मात्र परिणाम आउने उनले सुनाए । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको रूपमा भारत भ्रमण जानुअगाडि आफूले पाँच वटा प्राथमिकता तय गर्न सुझाएको र त्यसमध्ये तीन वटा एजेण्डा कार्यान्वयन भएको सुनाए । माइक्रोम्यानेजमेन्टको प्रश्नमा भने कूटनीतिक शैलीमा हामीले नै आमन्त्रण गरेका त छैनौं भनेर प्रश्न गरे । त्यसका लागि उनले भारतका विदेशमन्त्री एस जयशंकरको पछिल्लो अन्तर्वार्तालाई उद्धृत गरे । जयशंकरले छिमेकी देशहरुसँग जटिलता हुने स्वीकार गरेको भन्दै शर्माले संसदीय समितिमा सुनाए, ‘उहाँले त्यो इन्टरभ्यूमा भन्नुभएको छ, हामीलाई इन्टरफेयर गर्‍यो भन्छन् छिमेक देशमा, तर कति त त्यहाँको डिमान्ड पनि त हुनसक्ला ! जयशंकरले कूटनीतिक रुपमा संकेत गरेको भन्दै शर्माले अगाडि भने, ‘यो मैले थाहा पाएर भनेको होइन । तर उहाँ (जयशंकर) लाई कोट गरेर भन्दा सायद हाम्रो राजनीतिक पार्टीभित्र, हाम्रो सिस्टमभित्र कहीं न कहीं त्यस्तो समस्याको पो छ कि ! हामीले नै इन्भाइट (आमन्त्रण) पो गरिरहेका छौं कि भन्ने प्रश्न देखाउँछ ।  साभार : अखप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार