काठमाडौं- प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रमुख रहने प्रहरी कार्यालयहरु अहिले प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा छन् । ३० वर्षे सेवा अवधिका कारण १६ भदौमा नेपाल प्रहरीका ९० अधिकृत एकसाथ अवकाश भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसी र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविकुमार पौडेल एकसाथ अवकाशमा गए । उनीहरु बिदा भएपछि अहिले बागमती प्रदेश प्रहरी कार्यालयको कमाण्ड एसपी दुर्गाराज रेग्मीले गरिरहेका छन् । जबकी अहिले बागमती प्रदेश मातहतका जिल्लाका प्रमुख समेत एसपीहरु छन् । केही जिल्ला प्रहरी प्रमुखहरु प्रदेश कार्यालयका निमित्त प्रमुख एसपी रेग्मी भन्दा पनि सिनियर छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाह पथको प्रमुखमा डीआईजी रहने व्यवस्था छ । २१ असारसम्म ट्राफिक प्रमुखको रुपमा डीआईजी पोषराज पोखरेल थिए । उनी ५६ वर्षे उमेरहदका कारण अवकाश गएपछि निमित्त प्रमुखको रुपमा एसएसपी जीवनकुमार श्रेष्ठ थिए । उनी समेत १६ भदौमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गए । जसकारण उपत्यका ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मा एसपी विश्वराज खड्काले पाएका छन् ।
अपराध अनुसन्धान कार्यालयका ३ पिलर डीएसपीविहीन:
काठमाडौं उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर, भक्तपुर) मा हुने ठूला अपराधका घटनाहरु अनुसन्धान गर्ने जिम्मेवारी रहेको अपराध अनुसन्धान कार्यालयका तीन वटा पिलरहरु नै अहिले प्रमुखविहीन बनेका छन् । वैदेशिक रोजगारसम्बन्धी ठगीको अनुसन्धान गर्ने पिलरका प्रमुख गोविन्द पन्थी, डाँका चोरीको अनुसन्धान गर्ने पिलरका प्रमुख किरण न्यौपाने र प्रशासन शाखाका प्रमुख ऐनबहादुर मल्ल ३० वर्षे सेवा अवधिका कारण एक साथ अवकाशमा गएका छन् । अन्यको तुलनामा वैदेशिक रोजगारी सम्बन्धी ठगीको पिलरमा बढी चाप हुन्थ्यो । प्रमुख नहुँदा केही समस्या भएको छ’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले भने । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई अब हुने डीएसपी सरुवामा प्रमुखविहीन भएका पिलरमा पदपूर्ति हुने बताउँछन् । प्रहरी प्रधान कार्यायले भने डीएसपी भन्दा पहिला इन्सपेक्टरको सरुवा तयारी सुरु गरेको छ । अघिल्लो वर्षको साउन सुरुवातमै इन्सपेक्टरको सरुवा गरिएकाले सुरुमा इन्सपेक्टरको सरुवा गरेर डीएसपीको सरुवा गर्ने तयारी हेडक्वार्टरको छ । छिटो सरुवा भएपछि साउनभरि लाग्न सक्ने भएकाले अझै १५ दिनसम्म पिलरहरु प्रमुखविहीन हुनसक्छन् । तर अपराध अनुसन्धान जस्तो संवेदनशील पिलरमा जतिसक्दो चाँडो डीएसपीहरु पठाउनुपर्ने अधिकृतहरु बताउँछन् ।
जिप्रकादेखि गणसम्म प्रमुखविहीन:
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विष्णुहरि कोइराला ३० वर्षे सेवा अवधिका कारण १६ भदौमा अवकाशमा गए । डीएसपी भीमलाल भट्टराईले निमित्त प्रमुखको जिम्मा पाएका छन् । नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका प्रमुख तथा एसपी प्रेमबहादुर बस्नेत, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका प्रमुख तथा एसपी देवेन्द्र बहादुर पाल पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी डीएसपी अनिलकुमार उप्रेती अवकाशमा गएपछि यो कार्यालय पनि निमित्तको भरमा चलेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी दिल्लीराज विष्ट, कर्णाली प्रदेशका एसएसपी वीरबहादुर वली, डीएसपी राजन गौतम पनि अवकाशमा गएका थिए । सुदूरपश्चिम र कर्णाली दुबै कार्यालयमा प्रमुखको रुपमा डीआईजी भने कार्यरत नै छन् । साभार : अखप