काठमाडौं- पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धानलाई तीव्रता दिएको छ । यसअघि रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितसँग बयान लिएको प्रहरीले तुरुन्तै थप छानबिन अघि बढाएको हो । लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक थिए, जसले सहकारीमा खाता नै नखोली अवैधानिक रुपमा मिडिया हाउसमा पैसा लगेको पीडितहरुको उजुरी छ । पहिलो चरणमा अनुसन्धान सकिएर मुद्दा अदालत पुगिसकेको अवस्थामा गत १६ माघमा जिल्ला प्रहरी कार्यालयमा कास्कीमा पूरक जाहेरी परेको थियो । उक्त जाहेरीमा उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका रास्वपा सभापति लामिछानेसहित १८ जनालाई प्रतिवादी बनाइएको थियो । सोही पूरक जाहेरीको अनुसन्धानलाई अहिले कास्की प्रहरीले तिव्रता दिएको हो । यो बीचमा सांसद लामिछानेका साथै रास्वपाका सहमहामन्त्री विपिन आचार्य, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी र माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनसँग जिल्ला प्रहरी कार्यालय कास्कीले बयान लिइसकेको छ । १० भदौमा लामिछानेको बयान लिएको प्रहरीले काठमाडौंकै एक सरकारी कार्यालयमा ८ भदौमा आचार्य, जोशी र पुनको बयान लिएको थियो । उता सहकारी ठगीबारे अनुसन्धान गर्न बनेको संसदीय विशेष समितिले ७ भदौमा लामिछानेसँग ९ घण्टा भन्दा लामो समय राखेर बयान लिएको थियो । प्रहरीसँगको बयानमा उपस्थित हुँदै लामिछानेले सहकारीको रकमबारे आफूलाई केही थाहा नभएको दाबी गरेका थिए । ‘सहकारीको रकमबारे मलाई केही थाहा छैन । मलाई थाहै नदिई कसले मेरो नाममा के गर्यो त्यो थाहा हुने विषय पनि भएन’, उनले प्रहरीसँग दाबी गरे, ‘कम्पनीबाट अलग भइसकेकाले त्यहाँको आर्थिक कारोबारको पाटोमा म जानकारी छैन । लामिछानेसहित आरोपितहरुसँग बयान लिन कास्कीबाट डीएसपी वसन्तकुमार शर्माको कमाण्डमा तीन जनाको छानबिन टोली काठमाडौं आएको थियो । काठमाडौं आएको उक्त प्रहरी टोलीले गोर्खा मिडिया नेटवर्कको कार्यालय, नेचर हब्र्स र नेचर नेस्ट इन्टरनेशनलको कार्यालयमा समेत छापा मारेर खानतलासी गरेको थियो । कार्यालयहरुमा सहकारी सम्बन्धी केही कागजाताहरु भेटिन्छ कि भनेर खानतलासी गरिए पनि कुनै महत्वपूर्ण कागजात भेटिएनन्’ प्रहरी स्रोतले भन्यो । खानतलासी गरिसकेपछि प्रहरीले प्रतिवादी तथा आरोपितहरुको बयान कागज समेत गराएको थियो । ‘मुद्दाका प्रतिवादी तथा आरोपितहरुलाई लागेको आरोपमा गरिने छानबिन अनुसार सोधपुछ गरेर कागज गराइएको हो’, एक प्रहरी अधिकृतले भने, ‘सामान्य रुपमा भन्दा अब यो मुद्दा प्रक्रियाको प्रस्थान विन्दु सुरु भयो भन्दा हुन्छ । माघमै रवि, दीपेशसहित विभिन्न संस्था गरी १८ जनालाई प्रतिवादी बनाउँदै पूरक जाहेरी परे पनि यस विषयमा प्रहरीले तत्परताका साथ छानबिन गर्न सकेको थिएन । यसको मुख्य कारण आफ्नो अभियोगसँग स्वार्थ बाझिने तालुकदार गृहमन्त्रालयको चाबी उनै लामिछानेसँग थियो । गृहमन्त्रीबाट लामिछाने बाहिरिएसँगै अब प्रहरीलाई खुलेर अनुसन्धान गर्न सहज भएको छ । यद्यपि सहकारी ठगी प्रकरणमा मुछिनेमा लामिछानेमात्रै छैनन् । यसअघि पनि सहकारी ठगी प्रकरणमा समातिएर मुद्दा चलिसकेका दीपेश पुनलाई उच्च राजनीतिक कनेक्सन भएकै आधारमा प्रहरीले पुरक जाहेरीका आधारमा थप स्वतन्त्र छानबिन चलाउन सकेको थिएन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको माओवादी केन्द्रका उच्च तहका कार्यकर्तामात्रै नभई उनी पूर्वउपराष्ट्रपति तथा प्रचण्डका दाहिने हात मानिने नन्दकिशोर पुनका छोरासमेत हुन् । उनी बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोपमा २ चैतमा पुन पक्राउ परेका थिए । रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि १४ वैशाखमा धरौटी बुझाएर उनी रिहा भएका थिए । अहिले उनै पुनमाथि समेत कास्की प्रहरीले अनुसन्धान अघि बढाएको छ । कुनै समय पुन सूर्यदर्शन सहकारीको सचिवसमेत रहेको पाइएको प्रहरीले जनाएको छ । ३१ असार २०७८ मा पुलेसो कर्जा मार्फत लामिछानेको नाममा सहकारीको १ करोड रकम निकासा गरिएको भेटिएको थियो । पछि उक्त ऋण फर्स्योट भएको पनि भेटिएको थियो, जबकि लामिछानेले भने आफ्नो कारोबारबारे आफैं अनभिज्ञ रहेको जिकिर गर्दै आएका छन् । सूर्यदर्शन सहकारीको ५ करोड ५८ लाख ९ हजार रुपैयाँभन्दा बढी रकम गोर्खा मिडियामा गएको अनुसन्धानबाट भेटिएको थियो । त्यतिबेला गोर्खा मिडिया नेटवर्कको क्रिएटिभ डाइरेक्टर आचार्य थिए । उनै आचार्य अहिले रास्वपाका सहमहामन्त्री छन् । त्यसैले प्रहरीले यस कारोबारबारे उनीसँग पनि बयान लिएको हो । उनको नामबाट ६ पुस २०७८ मा सूर्यदर्शन सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडियामा समेत गएको थियो । त्यस्तै बयान लिइएका अर्का व्यक्ति पूर्वडीआईजी छविलाल जोशी गोर्खा मिडिया नेटवर्कका लगानीकर्ता तथा जीबी (गितेन्द्रबाबु) राईका पूर्वसाझेदार समेत हुन् । साभार : अखप