विराटनगर- पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा बम विस्फोटमा परी घाइते भएका बालकहरुलाई अधिकारकर्मीको पहलमा उपचारका लागि काठमाडौं पठाइएको छ । बम विष्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो । यसअघि बम विष्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई उपचार गर्न कोशी अस्पताल र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । ती अस्पतालले काठमाडौं जान भने पनि उपचार खर्च अभावमा अभिभावकले फर्काएर फिदिममै लगेका थिए । गम्भीर अवस्थाका दिप्सनलाई पाँचथर जिल्ला अस्पतालमा र पवनलाई डेरामा राखिएको थियो । मंगलबार अनुगमनका लागि पुगेको अधिकारकर्मीको टोलीले उनीहरुलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाएका हुन् । गत बिहीबार फालेलुङ गाउँपालिकाको डाडागाउँमा द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विष्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाई वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । उनीहरु दाजु-बहिनी हुन् ।
घाइतेको उपचारमा प्रदेश र संघ सरकारको बेवास्ता:
बम विष्फोटमा बालक पवन राई र दिप्सन राई घाइते भएका थिए । घाइतेमध्ये दिप्सनको अवस्था गम्भीर छ । तर उनीहरुको उपचारमा प्रदेश र संघीय सरकारले चासो दिएको छैन । कोशी अस्पतालमा चिकित्सकले सिटीस्क्यान गरेर ल्याउनु भनेपछि पवनलाई आमाले फर्काएर फिदिम नै ल्याउनु भएछ, काठमाडौँ लैजानुपर्ने दिप्सनलाई पनि फिदिम नै फर्काइएको रहेछ’ सिविन नेपाल विराटनगरका प्रमुख बासु अधिकारीले भने, ‘दुबै बालकको अवस्था जटिल देखेपछि उपचारका लागि पठायौं ।’ उनका अनुसार दुबै बालकलाई काठमाडौं विमानस्थलसम्म पुर्याउने जिम्मा स्थानीय सरकारले लिएको थियो । फालेलुङ गाउँपालिकाले भद्रपुरदेखि काठमाडौंसम्मको हवाई टिकट काटिदिएको थियो । काठमाडौंको विमानस्थलबाट भने सिविनले उपचारका लागि कीर्तिपुर अस्पतालसम्म पुर्याएको छ । प्रदेश र संघ सरकारले भने सहयोग गरेको जानकारी नभएको उनले बताए । हेर्ने कथा’ मार्फत ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका भोजपुरका प्रकाश राईलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले टेलिफोन गरेर सहयोग गर्ने बचन दिएका थिए । तर पाँचथर बम विष्फोटको घटनाका घाइते र मृतकका परिवारका लागि कुनै कदम नचालेको भन्दै कोशी प्रदेश सरकारको आलोचना भएको छ ।
मृतक दिप्सन र प्रिन्सा सावा:
दुई जना बालबालिकाको मृत्यु र दुई जना घाइते भएको घटनाका विषयमा सरकारले चासो नदिएको पाँचथरका प्रदेश सांसद तथा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । ‘संसद बैठकमा मैले घाइतेको उपचार र मृतकलाई क्षतिपूर्तिका लागि कुरा उठाएको छु, सरकारलाई लिखित रुपमा पनि आग्रह गरेको छु,’ उनले भने, ‘तर सरकारले अझै केही गरेको छैन, भाइरलको पछि दौडिरहेको छ । भाइरलको पछाडि सरकार, मन्त्री सांसद सबै लागेका छन् । अरु प्रकाश खोज्नतर्फ लाग्नु पर्ने हो नि, त्यस्ता प्रकाश त कति धेरै होलान् ।साभार : अखप