बहाना उपसभामुख, निसाना संवैधानिक नियुक्ति…..

काठमाडौँ –    उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र ‘पदीय आचरण विपरीत’ भएको आरोप लगाउँदै सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले उनको राजीनामा मागिरहेका छन् । उनीहरूले उपसभामुख रानालाई ‘मार्ग प्रशस्त’ गर्न भनेका छन् । मार्ग प्रशस्त भन्नुको अर्थ राजीनामा नै हो । तर, उनले राजीनामा नदिए संसदीय प्रक्रिया पूरा गरेर अर्थात् प्रतिनिधि सभाको दुई तिहाइ बहुमतमार्फत उपसभामुख रानालाई हटाउने सत्तारुढ दलको तयारी छ । उपसभामुख रानाले डेढ वर्षअघि अमेरिकी दूतावासलाई लेखेको एक पत्र प्रकरणले केही दिन यता नेपाली राजनीति तरङ्गित बनिरहेको छ । यसको पक्ष र विपक्षमा बहस चुलिएको मात्र होइन, त्यस्ता बहस आ–आफ्नै स्वार्थ अनुकूल भइरहेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरूले उपसभामुख रानाको राजीनामा मागेका थिए । त्यसको भोलिपल्ट नेपाली कांग्रेसका सांसदले पनि उक्त पत्र प्रकरणबारे प्रश्न गर्दै उपसभामुखको राजीनामा मागे । बुधबारको प्रतिनिधि सभा बैठकअघि नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेर उपसभामुख रानाको राजीनामा माग्ने निर्णय गरेको थियो । ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उपसभामुख रानामगरले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ’, पदाधिकारी बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भनेका थिए, ‘यो चानचुन विषय होइन । उपसभामुखले गर्नै नहुने काम गर्नुभएको छ । उपसभामुखले अमेरिकी दूतावासलाई पत्र लेख्नै नमिल्ने घिमिरेको तर्क छ । ‘उहाँले सिफारिस गर्नै मिल्दैन । परराष्ट्र मन्त्रालयमार्फत भएर जानुपर्ने कुरा आफैँले लेख्नुभएको छ,’ उनले भने, ‘संसद्लाई नै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ । अर्को सत्तारुढ दल नेकपा एमालेका नेता तथा सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौलाले उपसभामुख रानाले संसद् सचिवालयलाई समेत थाहा नगराई असम्बन्धित व्यक्तिको सिफारिस गरेर दूतावासलाई पत्र लेख्नु पदीय आचरण विपरीत भएको बताए । यो पदीय आचरण विपरीत भयो । यसले समग्र नेपालको छविमाथि नै प्रश्न उठायो । त्यसैले हामीले उहाँलाई मार्ग प्रशस्त गर्न भनेका हौँ’, बर्तौलाले भने । उपसभामुख रानाले १८ महिना अघि राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औँ सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि सिफारिस मानिसहरू अमेरिका जान भने पाएका थिएनन् । २०२३ को फेब्रुअरीमा लेखेको त्यो पत्र केही समय अघि अर्थात् साउन पहिलो साता सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै उपसभामुख विवादमा परेकी हुन् । बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद शान्ति परियार र प्रतिमा गौतमले उपसभामुख रानालाई राजीनामा दिन सुझाए । उपसभामुखले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो । पत्र लेख्नु कति जायज थियो, उहाँले बुझ्नु पर्ने थियो । उपसभामुख पदसँग देशको प्रतिष्ठा जोडिएको छ । उपसभामुख पद देशको अभिभावक हो । यस्तो गरिमामय पदमा रहेर विवाद आउँदा मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ । प्रतिष्ठासँग जोडिएको हुँदा गम्भीर भएर मार्ग प्रशस्त गर्न अनुरोध छ’, सांसद परियारले भनिन् । कांग्रेसकै सांसद प्रतिमा गौतमले पनि असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग र गम्भीर अपराध भएको बताइन् ।  उपसभामुखले मार्ग प्रशस्त गर्नुहोस्, अनुरोध छ’, गौतमको भनाइ छ ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार