आसफोर्ड, केन्ट साईमन चर्च हलको प्रांगणमा सेवारो कलाकार संघ युकेले पालाम, हाक्पारे गायक जीवन केदेमको साथमा के लाङ, या?लाङ र हाक्पारे सहित विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
सांस्कृतिक कार्यक्रममा कलाकार भक्ति आङदेम्वे, दिलु मादेन, माक्सोती ओख्रावो, राजेन नेम्वाङ, भगवति थलङ, गङगा लिम्बु, हेम लिम्वु लगायतले के (च्याब्रुङ), हाक्पारे, थक थाम्मा केलाङ, ताम्के साम्लो, याक्थुङ समुदायमा लोप हुँदै गएको तुरुप्पे नाच, लाङ्वा उङ्वा नाचहरु प्रस्तुत गरेका थिए ।
विषेश अतिथीको रुपमा वोल्दै गायक जीवन केदेमले हामी कलाकार भए पनि हाम्रो रुट भनेको, संस्कार सस्कृति, कला र प्रकृति पूजा हो, हाम्रो धर्ती आमालाई खुशी मनाएनौ भने हाम्रो पहिचान मेटिदै जान्छ, विदेशमा पनि आफनो पहिचानलाई जोगाउन खेलेको महत्वपूर्ण भूमिकाको लागि सेवारो कलाकार संघ युकेलाई धन्यवाद दिँदै सवै मिलेर आगाडि वढ्नको लागि आह्वान गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष दुर्गा पाङमाले सेवारो कलाकार संघका तीन जना कार्यसमितिका सदस्यहरुलाई बिभिन्न संघ संस्थाहरुको बिभिन्न पदमा निर्वाचित भएका पदाधिकारीहरुलाई सिलाम साक्मा लगाएर सम्मान साथ बधाई ज्ञापन गर्नुभयो । बधाई पाउनेहरुमा नव निर्वाचित पत्रकार महासंघ बेलायतको अध्यक्ष बिमला सेने, नव निर्वाचित के.वाई.सि.यु.के. उपाध्यक्ष सानु सुब्बा र नव निर्वाचित के.वाई.सि.यु.के.सह सचिव सकुन नेम्बाङ रहेका छन् ।
उपाध्यक्ष विमला लिम्वुले स्वागत गरेपछि अध्यक्ष दुर्गा पांङमा र प्रमुख डम्मर सिंगक लगायत अथितिको रुपमा संयुक्तरुपमा पानसमा वत्तिवाली कार्यक्रमको उद्घाटन गरिएको थियो । संस्थाका संस्थापक अध्यक्ष काजीमान यक्सोले सेवारो कलाकार संघ साथै कार्यक्रमको वारेमा चर्चा गर्नु भयो । यस्तो कार्यक्रमले मनोरन्जन मात्रै होइन नयाँ पुष्तालाई शिक्षा पनि प्रदान गरिरहेको छ । सन् २०१२ मा स्थापना भएको सेवारो कलाकार संघले वेलायतमा रहेका लिम्वु कलाकारहरुलाई संगीत गरी याक्थुङ, भाषा, कला संस्कृतिको जगेर्नामा योगदान गरिरहेकोमा सेवारो कलाकार संघलाई डम्मर सिंगकले हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । यस कार्यक्रममा लिम्बुवान नागरिक समाज युकेका अध्यक्ष छत्र वनेम, थामेन्दिङ चुम्लुङका उपाध्यक्ष मनमाया नेम्वाङ, नेपाली कलाकार प्रस्तोता समाजका महा– सचिव एबम् कि.रा.या.यु.के. का नव नियुक्त महा–सचिव गंगाराज राई, के. वाई. सि. यु. के. आसफोर्ड शाखा अध्यक्ष सुन्दर लिङ्थेप, लगायत अतिथीको रुपमा उपस्थित थिए । औपचारिक कार्यक्रमलाई महासचिव जय मादेम्वाले संचालन गर्नुभएको थियो ।