काठमाडौँ- सहरी विकास मन्त्रालयमातहतको अधिकार सम्पन्न एकीकृत बागमती विकास समितिले केही समयअघि बागमतीलगायत उपत्यकाका १९ वटा नदीका किनारामा रहेका सडक (करिडोर) हरूले सम्भावित बाढीको सामना गर्न सक्ने क्षमताको विषयमा अध्ययन गर्न विज्ञहरू सम्मिलित एउटा प्राविधिक टोली खटाएको थियो। उक्त टोलीले बागमती कार्ययोजना २०८० को मस्यौदा तयार गरेको थियो। त्यसले करिडोरहरू उच्च जोखिममा रहेको उल्लेख गरेको थियो। अध्ययन टोलीले उपत्यकाका सबै नदीखोलाको बहाव क्षेत्र झन्डै आधा घटेको, उपत्यकामा खुला क्षेत्र घट्दै गई पानी रिचार्ज हुने अवस्था कम हँुदै गएको, नदीकिनारावरिपरि बस्ती बढ्दै गएको, नदीखोलाको सतह बढ्दै गएको लगायतका कारणबाट उपत्यकाका नदीखोला दायाँबायाँ किनाराका करिडोरहरू बाढीको कारण उच्च जोखिममा रहेको रिपोर्ट बुझाएको थियो। सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा बागमती सुधार आयोजनाका पूर्वआयोजना प्रमुख रवीन्द्र बोहराले उपत्यकाका करिडोरलाई अब यही अवस्थामा राख्ने हो भने झनै भद्रगोल अवस्थामा पुग्ने बताए। ‘झन्डै एक सय वर्षअघि उपत्यकाका नदीखोलाको बहाव क्षेत्र, पोहोर साल गरिएको हाइड्रोलोजिकल अध्ययनको रिपोर्ट र अहिलेको बाढीलाई हेर्ने हो भने अब उपत्यकाका करिडोरहरूले बाढी थेग्न नसक्ने अवस्थामा पुगेका हुन्,’ बोहराले भने, ‘त्यसैले थप २० मिटर क्षेत्रमा कुनै संरचना नबनाउने गरी सर्वोच्चले गरेको फैसला कार्यान्वयन गर्न अत्यावश्यक छ। सर्वोच्चको उक्त फैसला कार्यान्वयन भयो भने उपत्यकाका सबै नदीखोलाको बहाव क्षेत्र बढ्ने, खुला जमिन थपिने, वर्षाको पानी जमिनमुनि रिचार्ज हुने अवस्था बन्छ।’ नदीमुनि थेग्रिँदै गएको बलौटे माटो, बालुवा र फोहोरले नदीको सतह बढाउँदै गएको र यसबाट वर्षा हुनेबित्तिकै पानी ‘ओभरफ्लो’ भई सडकमा पुग्ने गरेको विज्ञहरूको भनाइ छ। हाल उपत्यकाका १९ वटा नदीका किनारामध्ये बागमती, विष्णुमती धोबीखोलामा करिडोर निर्माण कार्य पूरा भइसकेको छ भने मनोहारा, बल्खु, नक्खु, हनुमन्ते खोलाका करिडोर निर्माणधीन अवस्थामा छन्। सबै करिडोरको लम्बाइ जोड्ने हो भने करिब पाँच सय किलोमिटर हुन आउँछ। काठमाडौं उपत्यका विकास प्राधिकनि पोहोर साल उपत्यकामा खुला क्षेत्र कति छ भन्ने विषयमा अध्ययन गरेको थियो। प्राधिकरणकी प्रमुख विकास आयुक्त जानुका ढकालले प्राधिकरणले गरेको अध्ययनपछि उपत्यकामा खुला क्षेत्र अति नै न्यून देखिएको बताइन्। ‘उपत्यका खु्ला क्षेत्र निकै न्यून देखियो, भएका पनि मिचिएका छन्,’ ढकालले भनिन्, ‘केही संस्थाका नाममा, केही व्यक्तिका नाममा अतिक्रमणमा परेका छन्। यो दुर्भाग्य हो। खुला क्षेत्र जोगाउनुपर्छ।
यस वर्ष ससाना वर्षा हुँदा पनि उपत्यकाको करिडोर अस्तव्यस्त र जलमग्न भए। यतिसम्म कि करिडोरमा बगेको पानीले गाडी नै बगायो। शुक्रबार र शनिबारको वर्षाले उपत्यकाका करिडोर झनै भद्रगोल अवस्थामा पुगेका छन्। अहिले पनि करिडोरहरूको मर्मत हुन सकेका छैनन्। करिडोरमा भएका क्षतिबारे बागमती विकास समितिका उच्च अधिकारीहरूले सोमबार मुख्य सचिव एकनारायण अर्यालसँग छलफल गरेका थिए। पछिल्लो समय काठमाडौंमा कंक्रिटको प्रयोग बढ्दै गएको छ। कंक्रिटका घरहरू थपिँदै गएका छन्। यसबाट काठमाडौंको जग्गाले पानी सोस्ने क्षमता घटाउँदै गएको छ। भूमिगत पानीको पुनर्भरण नहुनाले पनि वर्षाबाट आएको पानी जमिनमुनि नपुगी सतहमा बग्ने गरेको विज्ञहरू बताउँछन्। यसबाट पनि सानो वर्षाले पनि काठमाडौंका सडक जलमग्न हुने गरेका छन्। २०६९ जेठ २५ गते वैज्ञानिक अध्ययनबिनै बागमती नदी र यसका सहायक नदीको बहाव क्षेत्र तोकिएको थियो। अर्थात् नदीपरिपरि उपलब्ध भएको जग्गाका आधारमा बहाव क्षेत्र तोकिएको थियो। त्यतिबेलासम्म नदीका दायाँबायाँ किनारामा रहेको जग्गा अतिक्रमण भइसकेको थियो। त्यसकारण नदीकिनारामा जति जग्गा बचेको थियो, त्यसैका आधारमा बहाव क्षेत्र तोकिएको थियो। केही समयअघि बागमती विकास समितिले गरेको अध्ययनमा बागमती नदीको उद्गमस्थल बागद्वारदेखि कटुवाल दहसम्म पुग्दा यसको बहाव क्षेत्र २० मिटरबाट सुरु भई ११९.६३ मिटरसम्म हुनुपथ्र्यो। त्यसपछि यसको बहाव क्षेत्र ठाउँ हेरेर कहीँ बढ्ने र कहीँ घट्ने गर्छ। समथर भूभाग भएको ठाउँमा बहाव क्षेत्र बढी चाहिन्छ भने भिरालो भूभागमा बहाव क्षेत्र अलि कम भए पनि पुग्छ। अध्ययनमा बागमती नदीको सुन्दरीजलदेखि गोकर्ण ब्यारेजसम्म बहाव क्षेत्र ३५.१८ मिटर चौडाइ हुनुपथ्र्यो तर अहिले २० मिटर मात्रै छ। यसैगरी गोकर्ण ब्यारेजदेखि मनोहरा दोभानसम्म ४३ मिटरमा ३० मिटर मात्रै छ। यसैगरी मनोहरा दोभानदेखि विष्णुमती पुलसम्म ९५.३५ मिटर हुनुपथ्र्यो तर अहिले ६० मिटर मात्रै छ। यसैगरी धोबीखोलादेखि विष्णुमती दोभानसम्म सय मिटर हुनुपथ्र्यो तर ६० मिटर मात्रै छ। यसैगरी नक्खु खोला दोभानदेखि कटुवाल दहसम्म बागमतीको बहाव क्षेत्र ११९.६३ मिटर हुनुपथ्र्यो तर अहिले ८० मिटर मात्र छ।साभार : नादप