काठमाडौं – सरकारले समयमै ध्यान नदिँदा बाढी, पहिरो र डुवानका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् । मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गत शनिबारको बाढी पहिरो र डुवानको समस्यामा सरकारको कामबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो । बैठकमा रक्षामन्त्री मानवीर राईलाई पनि बोलाइएको थियो । तर, अधिकांश सांसदले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले विपदका बेला पनि सरकारले नियमित समयमा भन्दा बढी काम नगरेको आरोप लगाए । गृहमन्त्री लेखकले स्रोत साधनले भ्याएसम्म काम गरेको बताएपछि उनले स्रोत साधन कम भए पनि इच्छाशक्ति भएको भए नागरिकको ज्यान जोगाउन सकिने बताए । भएको स्रोत साधनले यति नै गर्यौं भन्दा हाम्रो स्रोत साधन र क्षमता यति मात्र रहेछ भन्ने अर्थ गयो । हाम्रो सा्रोत साधन र क्षमतामा सीमितता छ, तर असीमित इच्छाशक्ति भएको भए मान्छेको ज्यान जोगाउन सकिन्थ्यो’, उनले भने, ‘मान्छेहरुको बिल्लीपाठ हुँदैनथ्यो, आँखै अगाडि मान्छेलाई खोलाले बगाउने अवस्था हुदैनथ्यो । शनिबार बिहान ललितपुरको नख्खुखोला किनारमा बाढीले घेरेको ठाउँमा जस्ताकपाताको टहरामाथि बसेर पाँच जनाले चार घण्टासम्म उद्धारका लागि गुहार माग्दा पनि सरकारले ध्यान दिन नसकेको लामिछानेले बताए ।
उल्टै गृहमन्त्री रमेश लेखकले त्यस दिन भिजिबिलिटी कम भएकाले हेलिकप्टरबाट उद्धार गर्न नसकेको अभिव्यक्ति दिएको भन्दै उनले आक्रोश पोखे । १२ असोजको बिहान सिंहदरबारमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट बैठकपछि गृहमन्त्री लेखकले भिजिबिलिटीका कारण हेलिकप्टरमार्फत नख्खु खोलाले घेरेकालाई उद्धार गर्न नसकिएको बताएका थिए । उनले भनेका थिए, ‘नख्खु खोलामा केही मानिसहरु टहराको छतमा बसेको अवस्थामा कोशिस गर्दा–गर्दै पनि बचाउन सकेनौं ।हेलिकप्टरमार्फत् पनि उद्धार गर्न सकिएन । भिजिबिलिटीका कारण जोगाउन सकेनौं ।’ त्यस दिन सरकारी निकायले नै काठमाडौंमा उडान हुन सक्ने भिजिबिलिटी रहेको तथ्यांक दिएको भन्दै लामिछानेले विपदका समयमा त भिजिबिलिटी पनि नहेर्ने प्रचलन रहेको बताए । ‘त्यतिखेर भिजिबिलिटीको इस्यु होइन भन्ने आएको छ’, उनले भने, ‘बुझ्नै नबुझीकन भिजिबिलिटीको समस्या भन्ने ?
गृहमन्त्री लेखकले नेपाली सेनाका अधिकारीले नै भिजिबिलिटी पर्याप्त नभएको बताएको जवाफ दिए । हेलिकप्टर सेनाको हो, उडाउने पाइलट सेनाका हुन् । त्यो बेलामा सेनाकै आधिकारिक मान्छे सँगै थिए । उहाँले नै मलाई भन्नुभएको हो– हेलिकप्टर कुनै हालतमा उडाउन सकिँदैन, भिजिबिलिटी छैन’ लेखकले प्रतिप्रश्न गरे, ‘अब नेपाली सेनाले भनेको मानौं कि तपाईंले मैले भनेर अनुमान गरेर हेलिकप्टर उडाऔं ? नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नख्खुको उक्त घटनामा कसको कमजोरी भएको हो खोजी गर्नुपर्ने ताए । सुरक्षा अधिकारीहरू गएको र बचाउने प्रयास गरेकोबारे सरकारले स्पष्ट पार्नुपर्ने सुझाव दिए । जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले नख्खु खोलामा फसेका पाँच जनाको उद्धारका लागि पर्याप्त पहल नगरेको बताए । जवाफमा गृहमन्त्री लेखकले उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरू पुगेको बताए । त्यो ठाउँमा नेपाल प्रहरी गएको छ । सशस्त्र प्रहरीको मान्छे आफैँ बगेको छ । डुंगा पल्टिएको छ । प्रहरीका मान्छेले बचाउने कोशिस गरेका थिए’, गृहमन्त्रीले भने ।साभार : अखप