काठमाडौं – सांसदहरूले विपद्का बेला मुख्यसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख (सीईओ) अनिल पोखरेल कहाँ थिए भनेर प्रश्न गरे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुख्यसचिव, प्रहरी प्रमुख र प्राधिकरण प्रमुखको व्यवहारले प्रश्न उठाएको बताए । ‘नेपाल सरकारको मुख्यसचिवदेखि प्राधिकरणको प्रमुखसम्म, प्रहरी प्रमुखदेखि अरु जिम्मेवारीमा रहेकाहरू सम्मका मानिसहरू जुन ठाउँमा बसेर आपतकालीन अवस्थामा जुन तरिकाले काम गरेको देखिनुपर्ने हो त्यो नदेखिँदा स्वभाविक रुपमा प्रश्न उठ्छन्’, महामन्त्री थापाले भने । विपदका बेला काम गर्नुपर्नेमा सरकारी संयन्त्र बैठकमा केन्द्रित भएको प्रश्न पनि उठेको उनले बताए । १२ असोजमा बाढी, पहिरो र विपदका बेला मुख्यसचिव अर्याल सम्मान थाप्नस्याङ्जाको फेदीखोला पुगेका थिए । नागरिकहरू बाढी, पहिरो र डुबानमा रहेका बेला अर्याल सम्मान थाप्न व्यस्त रहेको भनेर उनको आलोचना भइराखेको छ । विपद्का बेला प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका थिए । उनी भ्रमण छोट्याएर नफर्किएको भनेर पनि आलोचना भएको थियो । प्रहरी महानिरीक्षक कुँवर यही असोज ७ गते ग्रीस गएका थिए । ३८ औं अन्तर्राष्ट्रिय लागुऔषध कार्यान्वयन सम्मेलनमा भाग लिन ग्रीसको राजधानी एथेन्स पुगेका उनी स्वदेश फर्किएका छैनन् । जबकी उक्त कार्यक्रम ८ असोजमा सुरु भएर १० असोजमा सकिएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बाढी पहिरो आएकै दिन शनिबार बेलायत गए । गृहमन्त्रालय मातहत रहेको प्राधिकरणको मुख्य काम नै विपद्का बेला खोज, उद्धार तथा राहत प्रदान गर्ने, गराउने हो । संघ, प्रदेश र स्थानीय तहदेखि गैरसरकारी संस्था, निजी क्षेत्र सबैसँग समन्वय गर्ने, विपद्का सम्भावित घटनाबारेमा सम्बन्धित सबैलाई पूर्व जानकारी गराउने लगायतका जिम्मेवारी प्राधिकरणको हो । कांग्रेस महामन्त्री थापाले विपद्का बेला सरकारलाई प्रश्न र सुझाव दुवै आउन सक्ने भएकाले त्यसका लागि तयार रहनुपर्ने बताए । उनले गृहमन्त्री लेखकलाई जवाफ दिने नभई आलोचना सुन्न सुझाव दिए । जिम्मेवारीमा बसेका मानिसहरूलाई प्रश्न पनि आउँछन्, सुझाव पनि आउँछन्, आलोचना पनि आउँछन् भन्ने कुराका निम्ति तयार रहनुपर्छ । यो बेलामा आलोचना सुन्ने हो, त्यसबाट सिक्ने हो, उत्तर दिने होइन’, उनले भने । गृहमन्त्री लेखकले आफू आलोचना सुनेर अगाडि बढ्न तयार रहेको बताए । ‘मेरो आदरणीय नेता, पार्टीको महामन्त्रीले पनि अलोचना हुन्छन्, कथा छन्, ब्यथा छन् सुन्नुपर्छ, आलोचना सरकारले नसुनेर कसले सुन्छ ? भनेपछि मेरा लागि त्यो मूलमन्त्र हो’, उनले भने ।
विपद्कै बेला कमाउने हो ?:
विपद्का बेला हवाइ भाडा बढेको, खाद्यान्न, फलफूल र तरकारीको मूल्य अकासिएकोबारे पनि सांसदहरूले प्रश्न गरेका छन् । विपद्का बेला मौका ठानेर व्यावसायीले कमाउन खोज्दा सरकार नदेखिएको उनीहरुको भनाइ छ । वायुसेवा कम्पनीले महंगो भाडा लिएकामा अधिकांश सांसदले आपत्ति जनाए । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले पोखराबाट काठमाडौं आउँदा यात्रुले ७५ सयसम्म भाडा तिर्नुपरेको बताए । आफूले केही दिन पहिले टिकट लिएकाले ३९ सय रुपैयाँ तिरेको उल्लेख गर्दै उनले भने, ‘मसँगै आउनेले हिजो (मंगलबार) ७५ सयसम्म तिरेर आए । सरकार भएको ठाउँमा यस्तो हुन्छ ? व्यापारीहरूको हो त तजबिजी यो देशमा ? नेकपा एमालेका सांसद लीलानाथ श्रेष्ठले पनि आफूले जनकपुरबाट आउँदा धेरै यात्रुले बढी भाडा तिर्नुपरेको गुनासो सुनेको बताए । ‘मैले पहिले नै टिकट लिएकाले सामान्य भाडामै आएँ । तर, म सँगै आउनेले ५४ सयसम्म तिरेका थिए । जबकी केही सिटहरू खालीसमेत थिए’ सांसद श्रेष्ठले भने । एमालेकै सांसद रघुजी पन्तले दशैंअघिसम्म भाडा बढ्न नदिन सरकारलाई आग्रह गरे । उनले भने, ‘कमाउने बेला त यो होइन नि । सरकारले तोकेको रेटको सिजन सुरु भयो । तर, यो आपतकालीन अवस्थामा, कमसेकम दशैंअघिसम्म भाडा बढाउनु भएन । जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले तरकारी, फलफूल र उपभोग्य सामानको मूल्य बढेको भन्दै बजार अनुगमन गर्नुपर्ने बताए । ‘छोइ नसक्नु भाउ छ । बजार कन्ट्रोल कसले गर्ने ?’ उनले प्रश्न गरे, ‘हवाइ भाडा महंगिने, गाडी भाडा महंगिने सबै प्रकारका वस्तुको भाउ बढ्ने । कतै नियन्त्रण हुन नसक्ने । सरकार कहाँ छ ? सरकार कतै छ जस्तो लाग्दैन । कांग्रेसका महामन्त्री गगन थापाले बजारमा एक रुपैयाँ पनि कालोबजारी छ भन्ने जनताले महसुस गर्न नपर्ने गरी काम गर्न आग्रह गरे ।छलफलपछि राज्य व्यवस्था समितिले सरकारलाई महंगी नियन्त्रण गर्ने सहितका चारबुँदे निर्देशन दिएको छ । सम्भव भएका सबै उपाय प्रयोग गरेर राहत र पुनस्र्थापनाको काम अगाडि बढाउन निर्देशन दिएको छ । हवाइ भाडा नबढाउन निर्देश गरिएको छ । सडक यातायात सञ्चालन गर्नका लागि भएका बाटाहरू तत्काल यातायातका साधन चल्ने गरी मर्मतसम्भार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लाहरूमा हवाइ यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल आदिको मूल्य बढ्न नदिन बजार अनुगमन गर्न र पीडितहरूले राहत छिटोभन्दा छिटो पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन गर्दछ’, समितिको निर्णय छ । विभिन्न स्थानमा अलपत्र परेका यात्रीलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्याउन पनि समितिले निर्देशन दिएको छ । जनधनको थप क्षति हुन नदिन तत्काल आवश्यक सबै तयारी गर्न भनिएको छ । वर्षाका कारण नष्ट भएका सिँचाइ कुलोहरू, पिउनेपानी, विद्युत, टेलिफोन सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिकी र यस अवस्थामा घाइतेहरूको औषधि उपचारलाई सहज बनाउन नेपाल सरकारलाई निर्देशन दिने’, समितिको निर्णय छ । साभार : अखप