अत्यासलाग्दो बेथानचोक…..

बेथानचोक (काभ्रे) –    बेथानचोक गाउँपालिका–४ चलालकी दुुर्गामाया तामाङ (५३) को मनमा अझै डर छ । लेदोले पुरिएको घरबाट अलिअलि ढुंगामाटो निकालिरहेकी उनलाई फेरि पहिरो खस्ला झैं लाग्छ । तर पनि पुरिएको घरबाट ढुंगामाटो पन्छाएर बस्न योग्य बनाउन लागिपरेकी छन्, उनी । ‘जाने कहाँ त !’, अनलाइनखबरसँग शुक्रबार दिउँसो दुर्गामायाले भनिन्, ‘फेरि बस्ने यहीं हो, पुरिएको घर उधिन्नै पर्‍यो । पुरिएको घर उधिन्न उनी एक सातापछि चलाल फर्किएकी हुन् । यो एक सातासम्म त उनले केही सोच्न समेत सकिनन् । ‘त्यो रात म र नातिनीहरु (मावली बसेका दुई जना) पुरिएको, धन्न निकाल्यो र बाँच्यौं’, उनले सुनाइन् । परिवारकै अरु सदस्यले दुर्गामाया र उनका नातिनीहरु बचाएका थिए । घरमै पसल राखेर जिविका चलाउँदै आएकी दुर्गामायाको परिवार त्यो रातपछि पनौती (बेथानचोकबाट नजिकै बजार) मा डेरा लिएर बस्दै आएको छ ।

तर दुर्गामायाको मनमा अहिलेसम्म डर नहट्नुको कारण उनी आफैं पुरिएको घटना मात्र नभई छिमेकी भएर बस्दै आएका दुई जनाले ज्यान गुमाउनु हो । ‘धन्न ! हामी बाँच्यौं । तर कम्पनीमा (ढुंगा खानी) काम गर्ने अपरेटर र अर्को एक जना पुरिएर मरे’, उनले भनिन् । गत ११ असोज राति गएको बाढी, पहिरो र डुबानपछि उत्पन्न परिस्थिति बुझाउने एक प्रतिनिधि पात्र हुन्, दुर्गामाया । बेथानचोक गाउँपालिकाको सडक किनार छेउ भएर बसेको देविस्थान, गणेशस्थान, ढुङखर्क लगायत बस्तीहरू क्षतिग्रस्त (कतै बगेको, कतै पुरिएको) हुँदा उत्पन्न परिस्थिति कल्पना बाहिर छ । दुर्गामाया जसरी ज्यान जोगाउनेको संख्या पाँच सय हाराहारी हुनसक्ने गाउँपालिका अध्यक्ष भगवान अधिकारी अनुमान गर्छन् । आफन्तकै सहयोगमा धेरैले ज्यान जोगाएको बताउने उनी पालिकाले पनि सकेको उद्धार गरेको बताउँछन् ।

पुरिएको मान्छेहरु निकाल्नु, थोरै सुरक्षित ठाउँसम्म लैजानु र हराएकाहरु खोज्नुमै केही दिन बित्यो’ उनले भने, ‘मान्छे बचाउनु मुख्य दायित्व थियो । सकेको प्रयास गर्‍यौं । तर पुरिएका र बगाएका बस्तीहरुबाट उद्धार गर्न सजिलो थिएन । पालिकाको कार्यालय रहेको ढुङ्खर्क जोड्ने सडकहरु क्षतिग्रस्त बनेको छ । ‘सडक नभएपछि बाहिरका मान्छे आउने कुरा भएन । पालिकाभित्रै पनि उद्धारमा परिचालन सजिलो भएन, सेनालाई भनेर पुरिएका मान्छेहरु निकाल्यौं’, पालिका अध्यक्ष अधिकारीले भने । सेना लगेर उद्धार गर्दा पनि अझै बेथानचोकमा ७ जना बेपत्ता छन् । ‘बाढी पहिरोमा परेर १० जनाको ज्यान गयो, ७ जना भेट्न सकिएको छैन’, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले भने, ‘अलिअलि समस्या भए पो ! जता हेर्‍यो, उतै संकट छ ।’

सडकसँगै बेथानचोक विजुलीविहीन बन्यो । किनकि सलान्दु खहरे खोलामा बाढी आउँदा विजुलीको पोल र तार पनि बगेको छ । ‘सडक छैन, विजुली छैन । विजुली नभएपछि मोबाइल चलेन’, पालिका अध्यक्ष अधिकारीले भने, ‘हिजो मात्र (१७ असोज) जेनेरेटेरबाट एनसेल चलायौं ।’ एनसेलको टावरमा जेनेरेटेर चलाउन भरिया लगाएर डिजेल लगिएको थियो । सडक, विजुली, टेलिफोन, इन्टरनेट जस्ता यातायात र सञ्चारका माध्यम अवरुद्ध हुँदा उद्धार कार्यमै असाध्यै ठूलो समस्या आयो । कतिसम्म भने पहिरोमा घर पुरिँदा ज्यान गुमाएका सविता शंकर (४४) र उनका छोरा समीर (१२) को अन्त्येष्टि गर्नै पाँच कुर्नुपर्‍यो । यातायात समस्याले गर्दा पत्नी र छोरा गुमाएका भीमबहादुरलाई घर फर्कन समय लाग्दा अन्त्येष्टिमा ढिलाइ भएको थियो । ‘पैसा कमाउन उदयपुर गएको थिएँ, यहाँ घर पुरिएर श्रीमती र छोरा परेको खबर सुनेँ’, भीमबहादुरले दुःख सुनाए, ‘यस्तै बेला बाटो छैन, फोन लाग्दैन । २२ घण्टासम्म हिँडेर उदपुरको कटारी पुगेँ, अनि हटौंडासम्म गाडीमा र फेरि हिँड्दै घर आएँ । साभार : अखप   

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार