काठमाडौं – दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् । नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल आज बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्याइ फाइनल खेलको नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताए । उनले भने, ‘यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौं । तर यसपटक बङ्गलादेशलाई पराजित गर्दै उपाधि जित्ने गरी योजना बनाएका छौं ।’ प्रशिक्षक तामाङले बङ्गलादेश बलियो टोली भएको टिप्पणी गर्दै आफ्नो टोलिमा घरेलु समर्थकको साथ भएकाले उपाधि जित्नेमा विश्वास व्यक्त गरे । यसअघिका ६ मध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बंगलादेशसँग एकपटक पराजित भएको थियो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।
साम्बालाई कीर्तिमान बनाउने अवसर:
नेपाली टिमकी गोल मसिन साबित्रा भण्डारी (साम्बा)ले पनि यसपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै आम नेपालीलाई खुसी प्रदान गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । बङ्गलादेश बलियो टोली भएको उल्लेख गर्दै उनले नेपालले उपाधि जित्नेमा विश्वास व्यक्त गरिन् । घरेलु दर्शकको भरपुर साथ र समर्थन हुने भएकाले पनि आफूहरुलाई फाइदा हुने उनको भनाइ थियो । उनले भनिन्, ‘यसअघि पाँच पटक उपविजेतामा चित्त बुझाएका थियौं, विगतका हारबाट धेरै कुरा सिकेका छौं । विगतका गल्तीलाई नदोहोर्याइ उपाधि उचाल्ने सोचका साथ मैदानमा उत्रनेछौं । साम्बालाई फाइनलमा गोलको कीर्तिमान बनाउने अवसरसमेत छ । उनले सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै साफ च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक २१ गोल गर्ने नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाको कीर्तिमान बराबरी गरेकी थिइन् । अब त्यो कीर्तिमान तोड्ने अवसर साम्बालाई छ । त्यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बाले नेपाली टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । उनले भनिन्, ‘हामी गत संस्करणमा बंगलादेशसँग पराजित भएका थियौं । तर यसपटक भने हामी उपाधि जित्ने गरी तयारी गरेका छौं । साभार : अखप