काठमाडौं – आम सर्वसाधारण अन्यमनस्क स्थितिमा छन् । कसलाई पत्याउने ? कसलाई नपत्याउने ? कुन समाचार ठीक ? कुन बेठीक ? कुन नेता/पार्टी ठीक ? कुन बेठीक ? खुट्याउन सरल छैन आजको राजनीति । ढाँट, छलकपट र भ्रमै-भ्रमको बीचमा सही र गलत राजनीतिकर्मीलाई पर्गेल्नुपर्ने चुनौती सर्वसाधारणलाई छ आज । राजनीति जति व्यावहारिक भयो उति सरल पनि बन्छ । यसलाई जस्तो बनायो त्यस्तै बनिदिन्छ । सरल बनाउन खोजे सरल बन्छ जटिल बनाउन खोजे जटिल । इमान र निष्ठाको जनकेन्द्रित राजनीति गर्नेहरूले राजनीतिलाई सहज र सरल बनाउँछन् जस्तो तिनको जीवनशैली हुन्छ । तर अहिले राजनीति यति खराब र अव्यावहारिक बनेको छ कि यसको बयान गरी साध्यै छैन । हाम्रो राजनीति किन यति धेरै अव्यावहारिक बन्दैछ त ? यसका कारण छन् र सुल्झाउने तरिकाहरू पनि । तर हाम्रा राजनीतिज्ञहरूको ध्यान त्यसतर्फ गइरहेको छैन । राजनीतिमा लागेका नयाँ/पुराना सबैको ध्यान सिंहदरबारदेखि वडाका पद हत्याउन केन्द्रित भएका छन् । अर्थात् सिद्धान्त मरेको छ, पदमोहको जगजगी बढेको छ । हरेकलाई पद चाहिएको छ । पद विनाको राजनीति आजका नेपालीलाई राजनीति नै हो भन्ने लाग्दैन । हारोस् कि जितोस्, जनताको सेवा गरेको होस् कि जनतालाई छक्याउने र आफ्नै दुनो मात्र सोझ्याउने काम गरेको किन नहोस् सबैलाई जसरी नि टिकट चाहिएको छ, पदमा पुग्ने जिजीविषा पलाएको छ । यसले राजनीतिलाई अव्यावहारिक मात्र बनाउँदैन कलुषित र भ्रष्ट पनि बनाउँछ । जनसेवाको लागि कल्पना गरिएको र अभ्यास हुँदै आएको राजनीतिलाई वैश्य युगले खर्लप्पै पारेको छ । पैसाको बिटो नबोकी आज नेपालमा कुनै पनि दलका कुनै पनि नेता वा स्वतन्त्र भनी मतदातामाझ स्वाङ पारिरहेका कोही पनि चुनावी मैदानमा जान सक्ने स्थिति छैन । पैसा नै पदमा पुग्ने सहारा बनेको छ । पैसा भयो भने जस्ताले पनि पार्टीको टिकट पाउने र चुनाव उठ्न सक्ने परिस्थिति जुन बनेको छ यो लोकतन्त्रका लागि घातकसिद्ध हुँदैछ । हामीले चाहेको र अपनाएको लोकतान्त्रिक राजनीतिका केही मूलभूत विशेषताहरू छन् । पदमा रहेर राजनीति गर्नेले हुन् कि पदबाहिर रहेर यसप्रति शुभेच्छा राख्नेहरूले हुन् प्रथमतः राजनीतिक संस्कार भुल्नुहुँदैन । अहिले राजनीतिक संस्कार शून्यतर्फ ओरालो लाग्दैछ । राजनीतिबाट सेवा र संस्कार भन्ने मूल तत्व हराएको छ । राजनीति पद, प्रतिष्ठा र पैसाको लागि विना लगानीको उर्वर उद्योगमा परिणत भएको छ ।
राजनीति किन अव्यावहारिक बन्छ ?
अपराध र राजनीतिको गठजोड : जब राजनीतिमा अपराधको छायाँ पर्छ तब राजनीति भयाक्रान्त बन्न पुग्छ । २०५२ सालयता हाम्रो मुलुकको राजनीतिमा हिंसाको छायाँ मडारिन थाल्यो । चाहे त्यो विद्रोही माओवादी पक्षबाट होस् या राज्य सिर्जित प्रतिरोधात्मक हिंसाका वारदातहरू किन नहोस् । संविधानसभा एक र दुई, संविधानसभाबाट संविधान घोषणा पश्चात् सम्पन्न संघीय र प्रादेशिक सभाको निर्वाचनमा अपराध कर्ममा जोडिएकाहरूको प्रवेश र विजयसँगै आज ‘राजनीति हो कि अपराध’ हो भन्ने छुट्याउन नसकी सर्वसाधारणले अन्योलमा पर्नु परेको अवस्था छ । विभिन्न पेशामा लागेर राज्यलाई ठगेका र प्रशस्त कालो धन आर्जन गरेकाहरू पनि नेताका वरिपरि पुग्नु, निर्वाचनमा सहभागी हुनु, टिकट खरिद–बिक्रीको दुष्चक्रमा निर्वाचन प्रणाली मनी, मसल र मुस्तण्डेहरूको कब्जामा पुग्नु लोकतान्त्रिक गणतन्त्रको विशेषता जस्तै बन्न पुगेको छ । यदि अपराधको छायाँबाट राजनीतिलाई अलग राख्न नसक्ने हो भने लोकतान्त्रिक गणतन्त्रमा ग्रहण लाग्ने निश्चित छ ।
व्यक्ति हिरो बन्ने होड : लोकतान्त्रिक राजनीतिमा व्यक्तिहरू आउने जाने भइरहन्छ । राजनीतिक नेताहरूले एक आवधिक निर्वाचनपछि अर्को आवधिक निर्वाचनमा जनताबाट अनुमोदित हुनुपर्छ । त्यसो हुन नसके उनीहरूको राजनीतिक यात्र त्यहीं विराम लाग्न पुग्छ । त्यो ठाउँमा अर्कै व्यक्ति निर्वाचित भएर आउँछ र जनताको सेवा गर्छ । तर राज्यमा गठित संस्थाहरूले भने निरन्तर पारदर्शी बनेर जनताको सेवा गरिरहेका हुन्छन् । यदि त्यस्ता संस्थाहरूले निष्पक्ष काम गर्न सकेनन् भने बेथिति र भ्रष्टाचारले पूरै समाजलाई आहत बनाउँछ । लोकतान्त्रिक व्यवस्थाभित्रै विभिन्न चण्डमुण्डहरू जन्मिन्छन् । र, तिनले आफूलाई जनताका यावत् समस्याको रामवाण बताउँदै दोष जति अरूका थाप्लामा थोपरेर आफू हिरो बन्ने होडबाजी चल्छ । अहिले हाम्रो अवस्था यस्तै छ ।