पक्राउ पुर्जी जारी भएका बराल गाउँपालिका उपाध्यक्षको कुर्सीमै…..

काठमाडौं –     सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल तीन वटा सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनीमाथि सुप्रिम, नाता र स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । उनी सार्वजनिक कार्यक्रममा सक्रिय छन् तर प्रहरीले कारबाही अघि बढाएको छैन । स्वर्णलक्ष्मी सहकारी ठगीको फाइल प्रहरी वृत्त कालिमाटीबाट ल्याएर जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंले अनुसन्धान अघि बढाउने क्रममा २४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारी ठगी प्रकरणमा तीन चरणमा पक्राउ पुर्जी जारी भएको छ । पहिलो चरणमा प्रहरी वृत्त कालिमाटीकै अनुरोधमा सञ्चालक समितिका व्यक्तिहरुविरुद्ध २१ वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो । दोस्रो चरणमा फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालसहितका व्यक्तिविरुद्ध २ भदौमा पक्राउ पुर्जी जारी भयो । र, अहिले तेस्रो चरणमा २ मंसिरमा रवि लामिछाने र छविलाल जोशीसहित गरी २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । पुर्जी जारी भएका मध्ये सुनिता नेवारलाई २० कात्तिकमा र कमल लामालाई २४ कात्तिकमा परिसरको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर पक्राउ पुर्जी जारी भएका उपाध्यक्ष बराल भने अहिले पनि सार्वजनिक कार्यक्रममा सक्रिय छन् । विभिन्न कार्यक्रममा सहभागी भएको तस्वीर उनी आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तर उनीविरुद्ध प्रहरीले कारबाही अघि बढाएको छैन । नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित बराल जोडिएको स्वर्णलक्ष्मी सहकारीले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी परेको ९ महिनापछि बल्ल प्रहरीले अनुसन्धान अघि बढाएको छ । यता जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारी भने स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानले तीव्रता पाएकाले कोही कसैले पनि उन्मुक्ति नपाउने बताउँछन् । उनी भन्छन्, ‘पक्राउ पुर्जी जारी भएकाहरुमध्ये अन्य सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा छन् । केही अहिले पक्राउ परेर हाम्रो हिरासतमा छन् । अनुसन्धानलाई तीव्रता दिएका छौं । साभार : अखप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार